बैंकको ब्याजदर: राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा सस्तो, कृषि विकास बैंक निजी भन्दा पनि महंगो



काठमाडौं । लगानीकर्ता एउटै । व्यवसायको प्रकृति र वयवसाय गर्ने ठाउँ पनि एउटै । सेवा र सुविधा पनि उस्तै । तर, मूल्य भने फरक फरक ।

यो कुनै होट रेस्टुराँको मेन्यू होइन । यो त सरकारी लगानीका बैंकहरुको ब्याजदर हो ।

सरकारी लगानीका बैंकहरुबीचको ब्याजदर १०० प्रतिशतसम्मले फरक परेको छ । एउटाले सबैभन्दा सस्तो ब्याजमै ऋण दिन्छ भने अर्कोले सबैभन्दा महंगो ब्याजमा मात्रै ऋण दिन्छ ।

देशमा सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुमध्ये पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा सस्तो ब्याजमा ऋण दिन्छ । किनभने यो बैंकको आधार दर (बेस रेट) नै सबैभन्दा कम छ ।

गत असार मसान्तमा ६.२० प्रतिशत आधार दर भएको यो बैंकले असोज मसान्तको वित्तीय विवरण सार्वजानिक गरिसकेको त छैन ।

तर, बैंकका डेपुटी सीइओ कबिराज अधिकारीका अनुसार असोज मसान्तमा वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशतको हाराहारीमा हुन्छ ।

बैंकले आइतबारसम्ममा चालू आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजानिक गर्ने अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंकले गरेको ब्यवस्थाअनुसार बैंकहरुले प्रकाशित गरेको ब्याजदरमा १/२ प्रतिशत तलमाथि गरेर ऋणको ब्याज लिन पाउँछन् । यसरी ब्याज निर्धारण गर्दा कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेड दर) साढे ४ प्रतिशत भन्दा बढी गर्न पाइने छैन । वाणिज्य बैंकको स्प्रेड दर ४.९५ प्रतिशत छ ।

सबैभन्दा सस्तो बेस रेट भएका कारण राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिँदा ऋणीलाई सबैभन्दा सस्तो पर्छ । ऋणीले ७÷८ प्रतिशत ब्याजदरमै यो बैंकबाट ऋण पाउँछन् ।

तर, सरकारी लगानीकै अर्को वाणिज्य बैंक कृषि विकास बैंकको अवस्था भने ठीक उल्टो छ । यो बैंकको ब्याजदर निजी बैंकको भन्दा महंगो छ । निजी बैंकहरुले समेत बेस रेट घटाएर वित्तीय विवरण सार्वजानिक गरिरहेका बेलासरकारी लगानीको कृषि विकास बैंकले भने बेस रेट बढाएर वित्तीय विवरण सार्वजानिक गरेको छ ।

बैंकको बेस रेट बढ्ने वित्तिकै ऋणको ब्याज बढी हुन्छ । बैंकले बेस रेटमा बढाएर मात्रै ऋण दिनुपर्ने हुन्छ । जसअनुसार अब कृषि विकास बैंकबाट साढे १२ प्रतिशतभन्दा बढी ब्याजदरमा मात्रै ऋण पाइन्छ ।

गत वर्षको असोज मसान्तको भन्दा चालू आर्थिक वर्षको असोज मसान्तमा बैंकको बेर सेट १ प्रतिशत भन्दा धेरैले बढेर १२.३२ प्रतिशत पुगेको छ । गत वर्षको असोजमा बैंकको बेस रेट ११.२७ प्रतिशत थियो भने गत असार मसान्तमा ११.७३ प्रतिशत थियो । गत असारको भन्दा पनि बैंकको बेस रेट ०.५९ प्रतिशतले बढेको हो।

बढी ब्याज तिरेर निक्षेप उठाउनु परेकाले र अधिक कर्मचारीका कारण सञ्चालन खर्च महंगो भएकाले बैंकको लागत बढेको हो । त्यसको मार भने बैंकबाट ऋण लिने ऋणीलाई पर्ने देखिएको छ ।

गत असारको भन्दा यो असोज मसान्तमा बैंकको निक्षेप पनि घटेको छ । यो असोजमा बैंकले १ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जबकी गत असार मसान्तमा बैंकले १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी १ खर्ब कर्जा लगानी गरेको थियो ।

यो ३ महिनामा बैंकको निक्षेप २ अर्बले घटेको छ भने कर्जा ३ अर्ब रुपैयाँले बढेको छ । गत वर्षको असोज मसान्तमा भने बैंकले ९९ अर्ब ३० करोड, कर्जा ८८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

संस्थापक निक्षेपकर्ताले बढी ब्याजदर मागेकाले निक्षेप बढाउन नसकिएको बैंकले जनाएको छ ।

‘संस्थागत निक्षेपकर्ताले बढी ब्याजदर माग गरि मुद्दति निक्षेप नवीकरण गर्न अनुरोध गरेकोमा आधार दरमा चाप पर्नसक्ने दृष्टिगत गर्दा नविकरण नगरेका कारण निक्षेप दायित्वमा कमी आएको छ,’ बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ ।

बैंकले राष्ट्र बैंकले तोकेको स्प्रेड दर भने मेन्टेन गरेको छैन । राष्ट्र बैंकले साढे ४ प्रतिशतसम्म मात्रै स्प्रेड राख्न पाइने ब्यवस्था गरेको भएपनि यो बैंकको स्प्रेड दर ५.१५ प्रतिशत छ ।

सरकारी स्वामित्वकै अर्को वाणिज्य बैंक नेपाल बैंकले पनि सस्तो ब्याजदरमै ऋण दिन्छ । किनभने नेपाल बैंकको पनि बेस रेट कम छ ।

०७५ असोज मसान्तमा बैंकको बेस रेट ७.५ प्रतिशत छ । यो गत आर्थिक वर्षको यही अवधिको र गत असार मसान्तको भन्दा केही बढी हो ।
गत वर्षको असोज मसान्तमा बैंकको बेस रेट ६.९० र गत असार मसान्तमा ७.०३ प्रतिशत थियो । यो बैंकले पनि ८ देखि ९ प्रतिशत ब्याजदरमा ऋण दिन्छ ।

अधिकांस निजी बैंकहरुको बेस रेट ९ देखि ११ प्रतिशतको बीचमा छ । तर, सरकारी स्वामित्वकै भएपनि कृषि विकास बैंकको बेस रेट भने नेपालको बैंकिङ क्षेत्रमै सबैभन्दा महंगो छ ।

सरकारले किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले कृषि विकास बैंकको स्थापना गरेको भए पनि अचेल यो बैंकले अरु वाणिज्य बैंककोजस्तै कारोबार गर्दै आएको छ ।


पुष्प दुलाल