अनलाइन सेयर कारोबारमा समस्या: नेप्सेले लगानीकर्तासँग माफी माग्नुपर्छ



पुग–नपुग १५ खर्ब बराबरको पूँजीकरण भएको नेपालको पूँजीबजार देशको आर्थिक हैसियत जनसंख्या र १५ लाख लगानीकर्ताहरुको लागि सानो हैन । विश्व बजारले सयौं वर्षहरु लगाएर भित्र्याएका प्रबिधिहरु ज्ञान र औजारहरुको अनुसरण व्यवहारिक रुपमा गर्न नसक्नु निकै दुःखद् पक्ष हो ।

नेपाल जस्तो देशको पूँजीबजारको लागि प्रबिधिमा फड्को मार्न त्यति सजिलो छैन, आम लगानीकर्ताहरुलाई ज्ञान छ । उनीहरुको आक्रोश प्रबृतिसँग हो । जसरी हिँजो तामझामसहित भित्र्याइएको प्रबिधिले काम गरेन, यो आक्रोश आउनु स्वभाविक थियो ।

तर, यसको जानकारी लगानीकर्ताहरुलाई कारण सहित गराउनु नसक्नु वा क्षमा माग्न नसक्नु नेप्से व्यवस्थापनको अकर्मन्यता हो । साथै धितोपत्र बोर्डको लाचारीपन हो ।

पूँजीबजार सम्बन्धी सफ्टवेयरमा कहिलेकाँही प्राबिधिक त्रुटी आउनु विश्व परिवेशमा नौलो कुरा होइन । जसकारण पूँजी बजारमा ट्रेडिङ हल्ट र टेक्निकल ग्लिच यी दुबै शब्दले निकै व्यापकता पाएको छ । अल्पकालीन रुपमा कारोबार रोकिनु वा कारोबारमा बाधा आउनु ट्रेडिङ हल्ट हो । र, यो टेक्निकल ग्लिचको कारण आउँछ । जसकारण एउटा धितोपत्र वा सबै धितोपत्र बजारमा तत् शेयर वा कुनै कमोडिटीको कारोबार रोक्का हुन्छ ।

यस्ता कुराहरु स्वभाविक हुँदा–हुँदै पनि हामीले यसलाई त्यस रुपमा लिन सकेनौं । किनभने सो अनुरुप हामीलाई हाम्रा नियामकले कहिल्यै प्रशिक्षित गरेनन् । टेक्निकल ग्लिचको कारण धेरै पटक बजार घटेका वा घटाइएका उदाहरणहरु विश्व पूँजीबजारसँग छ । त्यसकारण हाम्रा लगानीकर्ताहरुलाई शंका गर्ने सुबिधा छ ।

अगस्ट २०१४ मा सीएमई ग्रुपको सफ्टवेयरमा प्राबिधिक समस्या आएका कारण उक्त दिन सीएमईको स्टक फ्यूचर तथा कमोडिटी कारोबार करीब ४ घण्टाका लागि रोकियो । जसको असर संसारभरीको एक्सचेञ्जहरुमा पर्यो ।

एसियाली सीएफडी एक्सचेञ्जहरु, जसले सीएमआईको मूल्यको आधारमा कारोबार गराउँछन्, त्यहाँ निकै खैलाबैला भयो । र, धेरै ओपन अर्डरहरु रद्द गरियो । त्यसैगरी सीएमईको कच्चा तेलको कारोबार हुने सफ्टवेयरमा करीब १ घण्टा कारोबार रोक्का गर्नु परेको थियो । तर, उक्त प्राबिधिक त्रुटीलाई सीएमईले बेलैमा समाधान गर्यो । र, आम लगानीकर्ताहरु माझ क्षमा माग्यो ।

यस्तै मानवीय त्रुटिका कारण २०१० मा ३० हजार भन्दा धेरै धातु तथा कच्चा तेलको परीक्षण वा डेमो कारोबारको खरिद बिक्री आदेश प्रत्यक्ष कारोबारको रियल टाइम अर्डरमा आएको कारण धेरै ठूलो हङ्गामा भएको थियो । करीब ५ वर्षअघि न्यास्ड्याकको कनेक्टिभिटी त्र ुटीका कारण बजार ३ घण्टा बन्द भयो । संसार भरीको न्यास्ड्याक आबद्ध स्टक एक्सचेञ्जहरुमा कारोबार अबरुद्ध भयो ।

हालैमात्र सामान्य भन्दा धेरै मात्रामा ब्रोकरबाट खरिदबिक्री आदेश आएका कारण जापानको एक्सचेञ्जमा केही समय समस्या आएको थियो । यसको असर सम्बन्धित ठूला ब्रोकरहरु नमुरा सेक्युरिटी र डाइवा सेक्युरिटीलाई धेरै परेको थियो । उनीहरुले आफ्ना ग्राहकका खरिद बिक्री आदेश रोक्न बाध्य भएका थिए ।

त्यस्तै करीब ६ महिना पहिला मात्र भारतको एनएससीले आफ्ना सबै ब्रोकर र सव ब्रोकरका कारोबार रोक्का गरेको थियो, यही टेक्निकल ग्लिचका कारण । त्यो भन्दा अघि जुलाई २०१७ मा पनि ३ घण्टाका लागि कारोबार रोक्का गरिएको थियो ।

धितापत्रको मूल्य अध्यावधिक नभएका कारण जनाउँदै ट्रेडिङ हल्ट गरिएको थियो । सफ्टवेयरमा प्राबिधिक समस्या आएका कारण भारतको अर्को एक्सचञ्ज एमसीएक्सले २०१७ को सेप्टेम्बरमा करीब ४५ मिनेटका लागि सबै कारोबार रोक्का गरेको थियो ।

त्यस्तै २०११ मा पनि ४ घण्टा कारोबार बन्द भएको थियो । यस्ता प्राबिधिक समस्याहरु धितोपत्र बजारको सफ्टवेयरमा आउनु सामान्य विषय हो । तर एक्सचेञ्ज र नियामकले आफ्नो सफ्टवेयरेको मासिक, पाक्षिक र वार्षिक रुपमा सफ्टवेयर अडिट गरिरहेको हुनुपर्छ । साथै यसको जानकारी आम लगानीकर्ताहरुलाई गराउँनु पर्छ । र, यसको पूर्ण जिम्मेवारी स्वयम् स्टक एक्सचेञ्जले लिनुपर्छ ।

तर, हिजो नेप्सेको सफ्टवेयरमा के समस्या आएको हो, त्यसको समाधान कसरी गरियो र कति समय लाग्यो, यसको जानकारी आम रुपमा दिन नेप्सेले किन जरुरी ठानेन ? यो यक्ष प्रश्न हो । त्यसकारण पनि नेप्से सँधै शंकाको घेरामा रहिरहन्छ । नेप्सले लिएर आएको यो नयाँ सफ्टवेयर अझै अपूरो छ, यसमा न लगानीकर्ताहरुको बैंक एकाउन्ट लिंक छ, न ब्रोकर नै लिंक छ ।

जसकारण प्रत्येक पटकको कारोबारमा ब्रोकर अफिस धाउनु पर्ने बाध्यता जीवीतै छ । त्यसकारण भविश्यमा पनि यस्ता धेरै प्राबिधिक समस्याको सामना आम लगानीकर्ताले गरिरहनु पर्नेछ । तर, आशा गरौं भविश्यमा नेप्सेले आफुलाई जिम्मेवारीका साथ प्रस्तुत गर्नेछ ।

लेखक पुडासैनी पुँजी बजार तथा कमोडिटिज मार्केटसम्बन्धी जानकार हुन् ।


पुष्प दुलाल