सुचिकृत कम्पनीको नगद लाभांशः सेयर बजारलाई राहत, बैंकिङ क्षेत्रलाई ‘कागलाई बेल पाक्यो’ जस्तै




काठमाडौं । यो बर्ष सेयरधनीहरुले ऐतिहासिक रुपमा सबैभन्दा बढी नगद पाउने भएका छन् । सुचिकृत कम्पनीहरुले नगद लाभांश नै दिने संकेत प्रष्ट गरिसकेकोले सेयरधनीले ऐतिहासिक रुपमा सबैभन्दा बढी नगद हात पार्ने अबस्था देखिएको हो ।

नेपाल राष्ट्र बैंकले गत असोज मसान्तमा सार्बजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरुको २ खर्ब ३३ अर्ब २७ करोड, विकास बैंकहरुको ३८ अर्ब ७ करोड, फाइनान्स कम्पनीहरुको १२ अर्ब ७४ करोड र लघुवित्त वित्तीय संस्थाहरुको ११ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी छ ।

बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु समेतको गरी बैंकिङ क्षेत्रको चुक्ता पुँजी २ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी छ । यी बैंक तथा वित्तीय संस्थाहरुले औषतमा १० प्रतिशतका दरले नगद लाभांश दिए भने बैंकिङ क्षेत्रले मात्रै आफ्ना सेयरधनीलाई २९ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी नगद बाँड्ने छन् ।

यसरी वितरण गरिएको नगद सेयरधनीको हातमा पर्नेछ । यो रकम फेरि बैंकिङ क्षेत्रमै रहन सक्छ । तर, यो साढे २९ अर्ब रुपैयाँले बैंकहरुको ऋण दिन सक्ने क्षमता (तरलताको अबस्था) मा फरक पार्छ कि पार्दैन ?

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा यस्तो पैसाले कुनै फरक नपार्ने बताउँछन् ।

‘बैंकहरुले बाड्ने नगद लाभांशको पैसा पहिला बैंकमा नै हुन्छ, यस्तो रकमलाई ‘कोर क्यापिटल’को रुपमा निक्षेप-पुँजी-कर्जा अनुपात (सीसीडी रेसियो) मा गणना गरिएको हुन्छ, यो पैसा सेयरधनीले नगद लाभांशको रुपमा लिने र फेरि त्यही बैंकमा निक्षेपको रुपमा राख्ने हो भने शिर्षक मात्रै परिवर्तन भयो, नयाँ पैसा आएन, त्यसैले तरलता अबस्थामा यसले कुनै भूमिका खेल्दैन,’ प्रमुख कार्यकारी अधिकृत राणाले क्लिकमाण्डूसँग भने ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल यस्तो रकमले तरलता अबस्थामा सहयोग पुर्याए पनि त्यस्तो अंश ज्यादै नगन्य हुने बताउँछन् ।

‘कोर क्यापिटलको रुपमा पहिला नै गणना भएको रकम निक्षेपको रुपमा फेरि आउँदा यसले शिर्षक मात्रै परिवर्तन गर्ने भयो, तर कुनै ब्यक्तिले बैंकबाट ऋण लिएको रहेछ र नगद लाभांश प्राप्त भएपछि उसले आफ्नो ऋण तिर्यो भने त्यसले केही सहयोग पुग्ला, अन्यथा बैंकहरुले दिने नगद लाभांशले तरलताको अबस्थामा कुनै योगदान पुर्याउने देखिदैन,’ प्रमुख कार्यकारी अधिकृत दाहालले क्लिकमाण्डूसँग भने ।

सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतम भने बैंकहरुले वितरण गर्ने नगद लाभांशले सकारात्मकभन्दा नकारात्मक भूमिका बढी खेल्न सक्ने खतरा रहेको बताउँछन् ।

‘कुनै बैंकले १ अर्ब रुपैयाँ नाफा कमायो भने उसले २० करोड रुपैयाँ त रिजर्भमा राख्नै पर्यो, बाँकी रहेको ८० करोड रुपैयाँ बैंकले एकैचोटी वितरण गर्दा उसको क्यापिटल एडुकेसीमा नकारात्मक असर पर्ने सक्ने भयो, यता बैंकले वितरण गरेको नगद लाभांश निक्षेपको रुपमा फेरि बैंकमा नै आउँछ भन्ने ग्यारेन्टी पनि हुदैन, त्यसैले नकारात्मक असर पुर्याउन सक्ने खतरा बढी हुन्छ,’ प्रमुख कार्यकारी अधिकृत गौतमले क्लिकमाण्डूसँग भने ।

सेयरधनीले बैंकबाट पाएको नगद लाभांशले आफ्ना सन्ततिको स्कूलको शुल्क, लत्ता कपडा खरिद, सवारी साधनको मर्मत सम्भार, घरभाडा, सहकारीको ऋण भुक्तानी जस्ता कार्यमा खर्च गरे त्यस्तो पैसा फेरि बैंकमा फर्केर आउन समय लाग्ने र त्यसले बैंकलाई सहयोग नपुग्ने गौतमको भनाइ छ ।

बैकर्सको यस्तो धारणाले सुचिकृत कम्पनीहरुले प्रदान गर्ने नगद लाभांशको कारण सेयरधनीको हातमा पैसा परे पनि त्यसले बैंकिङ क्षेत्रको तरलताको अबस्था सहज पार्न सहयोगी भूमिका निर्वाह गर्ने सम्भावना कम देखिन्छ । त्यसैले यो बर्ष बैंकहरुले साढे २९ अर्ब रुपैयाँ नगद लाभांश बाढे भने पनि तरलता सहजताको लागि बैंकहरुलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ भन्ने सन्दर्भसँग मिल्दोजुल्दो हुने देखिएको छ ।

सेयर बजारलाई राहत
सुचिकृत कम्पनीहरुले सेयरधनीलाई प्रदान गर्ने नगद लाभांशले सेयर बजारलाई भने राहत दिने देखिएको छ ।

कम्पनीहरुले प्रदान गर्ने नगद लाभांश सेयरधनीको लागि पहिला नै गरिएको लगानीको प्रतिफल हो । यसरी प्राप्त गरिएको रकम सेयरधनीले फेरि लगानी गर्न चाह्यो भने उसले लगानी गर्न सक्छ । र, ऋण लिएर गर्ने लगानीकर्ताको तुलनामा नगद लाभांशबाट प्राप्त भएको रकम लगानी गर्ने लगानीकर्ताको पुँजीको लागत तुलनात्क रुपमा कम हुन्छ नै । त्यसकारण यस्तो रकमले सेयर बजारमा लगानी बढाउने सम्भावना अधिक रहन्छ ।

कम्पनीहरुले नगद लाभांश दिदा सेयर बजारमा अर्काे सकारात्मक असर पनि पर्छ । जस्तो कि यसबर्ष नै बैंक तथा वित्तीय संस्थाहरुले साढे २९ अर्ब रुपैयाँ जति नगद लाभांश बाढ्न सक्ने देखिएको छ ।

तर, यी कम्पनीहरुले नगद लाभांशको साटो बोनस सेयर दिएका भए यो बर्ष नै साढे २९ करोड कित्ता सेयर थपिन्थ्यो । यसले बजारमा सेयरको आपूर्ति बढाउँथ्यो । आपूर्ति कम भएपछि सेयरको माग बढी हुन्छ, र त्यसले प्रकारान्तमा सेयर भाउ नै बढाउँछ । त्यसकारण पनि बैंक तथा वित्तीय संस्थाहरुले यसबर्ष नगद बाड्न गरेको प्रयासले सेयर बजारलाई सकारात्मक असर पर्ने देखिएको छ ।


क्लिकमान्डु