बैंकको बेस रेट घट्दापनि ऋणीलाई फाइदा छैन, ऋण दिने पैसा सकियो



काठमाडौं । प्रभु बैंकले असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा नाफा तथा व्यवसायमा अत्याधिक सुधार गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

तीन महिनामा ६४ करोडको नाफा कमाएको प्रभुले आफ्नो बेसरेटपनि घटाएको छ ।

असार मसान्तमा १०.६२ प्रतिशत बेस रेट रहेको प्रभुको असोज मसान्तमा बेसरेट ९.४९ प्रतिशतमा घटेको छ । यसले बैंकबाट ऋण लिन चाहनेले थप सस्तो ब्याजदरमा ऋण पाउने कुरा देखाउँछ ।
तर,अन्य बैंकजस्तै प्रभुले पनि ऋण प्रवाह भने कम गरिसकेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन ऋण दिनको लागि चाहिने रकम कम भएपछि अहिले ऋण प्रवाह नभएको बताउँछन् ।

‘बैंकहरुले निक्षेपमा ब्याजदर नदिने नीतिको कारणपनि बेस रेट घटेको हो,अहिले ऋण दिनको लागि केही कठिन भएपनि केही समयमा सहज हुन्छ’शेरचनले भने ।

बेसरेट घट्दा पुराना ऋणीलाई फाइदा पुगेको छ । तर,बैंकसँग ऋण दिने पैसा नभएको हु्रँदा नयाँ ऋणीलाई भने फाइदा नभएको हो ।

अहिलेसम्म प्रकाशित विवरण अनुसार बेस रेट घट्दो क्रममा रहेको छ ।

बेसरेट बढी हुने बैंकमा पर्ने सिभिल बैंकको बेस रेट घटेको छ । सिभिलको बेस रेट ११.८४ प्रतिशतबाट ११.०६ प्रतिशतमा छ ।

यस्तै सानिमा बैंकको १०.६६ प्रतिशतबाट १०.५५ मा घटेको छ । जनता बैंकको पनि बेस रेट ११.६० बाट ११.२२ प्रतिशतमा घटेको छ । सनराइजको ११.०९ बाट १०.९७ प्रतिशतमा बेस रेट घटेको छ ।
मेगा बैंकको बेस रेट भने १०।५५ प्रतिशतमै स्थिर छ ।

तर,केही बैंकको भने बेस रेट बढेको छ । माछापुच्छ्रे बैंकको बेस रेट ११.२१ प्रतिशत रहेको छ । यस्तै सबैभन्दा बढी नाफा कमाउने नबिल बैंकको बेसरेट ८.०६ प्रतिशत छ । यसअघि नबिलको बेस रेट ७.७६ प्रतिशत रहेको थियो ।

यस्तै नेपाल इन्भेष्टमेन्ट,एसबिआई,एभरेष्टको पनि बेसरेट बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ९.०३ प्रतिशत बेस रेट छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकको ९.०२ प्रतिशत रहेको थियो । नेपाल एसबिआईको १०.१२ बाट १०.४३ प्रतिशत बेस रेट पुगेको छ । एभरेष्टको ८.४५ बाट ८.८० प्रतिशत बेस रेट पुगेको छ ।


क्लिकमान्डु