नेपाल मखमली फूलमा आत्मनिर्भर, निर्यात हुन्छ २ लाख माला




काठमाडौं । तिहार पर्व घरदैलोमा आइसकेको छ । भक्तपुरका बारीहरु झपक्कै मखमली फूलले भरिएका छन् । त्यहाँका मानिसहरु यतिबेला धमाधम मखमली फूल टिप्न र उन्नमा व्यस्त छन् ।

विशेष गरी तिहारका लागि निकै महत्वपूर्ण मानिने मखमली फूलले नेपालीहरुको सांस्कृतिक महत्व बोकेको छ । सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फूल्ने मखमली तिहारको भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

मखमली फूल कहिल्यै नओइलिने भएकोले यसलाई दीर्घायु र स्वास्थ जीवनको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाईलाई लामो आयुको कामना गर्दै लगाइदिने गर्छन् । सस्कृतिमा मखमली फूललाई रक्त मल्लिका भन्ने गरिन्छ ।

सबैभन्दा भिन्न र सुन्दर भएकोले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहारमा पनि मखमली फूल परेको थियो ।

तिहारमा पूर्ण हक जमाउने मखमली फूल आजको समयमापनि आयात नहुने फ्लोरीकल्चर एशोसिएसनका महासचिव मिनबहादुर तामाङ दाबी गर्छन् ।
मखमली फूलमा नेपाल पूर्ण आत्मनिर्भर भएको र यसलाई निर्यातसम्म गरिने गरेको उनी बताउँछन् ।

‘मखमली फूल आयात हुँदैन, यसमा हामी पूर्ण आत्मनिर्भर छौँ, अझ हामीले पछिल्लो समय केही देशमा निर्यात समेत गर्न थालेका छौँ,’ तामाङले भने ।

नेपालमा ३ करोडको हाराहारीमा मखमली फूल उत्पादन हुने गर्छ । मखमली फूलको ७ लाख माला उत्पादन हुने गरेको छ । उत्पादन भएको माला ५ लाख हाराहारीमा नेपालमा नै खपत हुने र अन्य २ लाख निर्यात हुने उनले जानकारी दिए । तामाङका अनुसार यो वर्ष मौसम अनुकुल भएकाले फूलको उत्पादन बढेको छ ।

उनले यो वर्ष मखमली फूलको मालाको मूल्य होलसेलमा २५ रुपैयाँ हुने अनुमान रहेको बताए । खुद्रा मूल्य ३० देखि ५० रुपैयाँ पर्न जाने उनको अनुमान रहेको छ ।


क्लिकमान्डु