माथिल्लो तामाकोशी आइपीओ बिक्री सुरु, न्यूनतम दश कित्ता पर्ने




काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि आजदेखि साधारण सेयर (आइपीओ) बिक्री सुरु गरेको छ ।

कम्पनीले कात्तिक १५ गतेदेखि १ अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण आइपीओ बिक्री सुरु गरेको छ । आयोजना प्रभावित दोलखाबासीलाई साधारण सेयर बिक्री र बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि सेयर बिक्री सुरु भएको हो ।

तामाकोशीको सेयरमा के कति लगानी गर्ने भन्ने आम मानिसको जिज्ञासा पनि हुन सक्छ । आयोजनाले आम नेपालीलाई बिक्री गर्ने सेयर सबैलाई न्यूनतम १० कित्ता दिने लक्ष्य राखेको छ । सबै नेपाली नागरिक सहभागी होऊन् भन्ने कम्पनीको इच्छा रहेको आयोजना प्रमुख बिज्ञान श्रेष्ठले बुधबार आयोजित एक कार्यक्रम नै बताएका थिए ।

‘माथिल्लो तामाकोशी आयोजना नेपाली लगानीमा निर्माण भएको आयोजना भएकाले पनि सबै नेपाली यसमा सहभागी होऊन् भन्ने हाम्रो इच्छा,’ आयोजना प्रमुख श्रेष्ठले भने ।

आयोजनाले सबै नेपालीलाई सेयर दिने र आवेदन दिन पाइने न्यूनतम सेयर संख्या ५० कित्ता रहेको छ । कम्पनीले बढीमा १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । त्यो भनेको १ लाख रुपैयाँको लगानी हो । ५० कित्ता भनेको ५ हजार रुपैयाँ बराबरको लगानी हो ।

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि ऋणदात संस्थाहरु कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, नेपाल टेलिकमका कर्मचारी, आयोजनाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई सेयर बिक्री गरिसकेको छ ।

यस्तै, आयोजना प्रभावित दोलखाबासीका लागि गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा सेयर बिक्री गरिसकेको छ ।

तेस्रो चरणमा आयोजनाले आम सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री सुरु भएको हो ।

उक्त सेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । धितोपत्र निश्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुनेछ ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

माथिल्लो तामाकोशी आयोजनाको विजुली ब्यवसायिक उत्पादनको लागि भने अझै एक बर्षजति कुर्नुपर्ने भएको छ । आयोजनाले बनाएको कार्यतालिका अनुसार नै काम भएपनि विजुलीको ब्यवसायिक उत्पादन सुरु हुन अझै एक बर्ष जति लाग्ने आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

‘असार मसान्तसम्ममा परीक्षण उत्पादन गर्ने भनेर लागेका हौं, ब्यवसायिक उत्पादनको लागि ‘टेष्ट रन’ गर्नुपर्ने हुन्छ, आयोजनामा ६ वटा युनिट छन, प्रत्येक युनिटको टेष्ट रन गर्न १५ दिन मात्रै समय लाग्यो भने पनि थप ३ महिना लाग्छ, त्यसैले अर्काे दशैं वा तिहारतिरबाट ब्यवसायिक रुपमा विद्युत उत्पादन गर्न सकिन्छ होला,’ श्रेष्ठले भने ।

चालु आवका सो आयोजनाको सेयरमा कुनै पनि नाफा छैन । गत आवमा सो आयोजनाको सेयरमा प्रतिकित्ता २ रुपैयाँ घाटा रहेको थियो । सो आयोजनाको सेयरमा लगानी गर्नेले नाफा कमाउन केही बर्ष लाग्न सक्छ । किनकि ३५ अर्बको आयोजनाको लागत बढेर ७० अर्ब रुपैयाँ जति पुगेको छ । लागत बढेपछि प्रतिफल पाउन पनि थप अवधि लाग्न सक्छ ।

आयोजना प्रभावित दोलखाबासीको लागि सार्बजनिक गरिएको सेयरमा दोलखालीले उत्साहजनक सहभागिता देखाएका थिए । माथिल्लो तामाकोशी आयोजनाको सेयर किन्न योग्य दोलखालीमध्ये जम्मा १० हजार मात्रै शेयर खरिद प्रक्रियामा नपरेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।

‘२०६८ सालनको जनगणना अनुसार २ लाख ८५ हजार दोलखाबासी आयोजनाको शेयर भर्नको लागि योग्य देखिएका थिए, त्यसमध्ये २ लाख ७५ हजार दोलखावासीको सहभागिता रह्यो, यो सहभागिता वास्तबमै उत्साहप्रद हो,’ श्रेष्ठले भने ।


क्लिकमान्डु