६ बर्षमै बैंक खाता हुने नेपाली महिलाको संख्या दोब्बरले बढ्यो




काठमाडौं । महिलाको वित्तीय पहुचमा नेपालले उल्लेख्य प्रगति गरेको पाइएको छ । नेपालले ६ बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा खाता होल्ने तथा मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने नेपाली महिलाको संख्या दोब्बर भएको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो ।

सन् २०११ मा बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्ने र मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने नेपाली महिलाको संख्या कुल संख्याको २१.२ प्रतिशत थियो । सन् २०१४ मा बढेर यो संख्या ३१.३ प्रतिशत भयो भने सन् २०१७ मा ४१.६ प्रतिशत पुगेको छ ।

सार्कको अबस्था
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरुमा भारतले उल्लेख्य प्रगति गरेको छ । सन् २०११ मा कूल २६.५ प्रतिशत भारतीय महिलाको मात्रै बैंक तथा वित्तीय संस्थाहरुमा बैंक खाता र मोबाइल बैंकिङको सुविधा थियो ।

सन् २०१४ मा यो संख्या बढेर ४३.१ प्रतिशत पुग्यो भने सन् २०१७ मा यो संख्या ७६.६ प्रतिशत पुग्यो ।

सार्क सदस्य राष्ट्रहरुमा पाकिस्तानको अबस्था कमजोर छ । पाकिस्तानलाई अफगानिस्थानले पनि जितेको छ । पाकिस्तानमा ७ प्रतिशत महिलासँग मात्रै बैंक खाता छ भने अफगानिस्थानमा ७.२ प्रतिशत महिलाको बैंक खाता छ ।

यस्तै श्रीलंकामा ७३.४ प्रतिशत महिलासँग बैंक खाता छ । यो संख्या सन् २०१४ को भन्दा निकै कम हो । सन् २०१४ मा ८३.१ प्रतिशत श्रीलंकन महिलासँग बैंक खाता थियो ।

यस्तै वंगलादेशमा ३५.८ प्रतिशत, र भुटानमा २७.७ प्रतिशत महिलासँग बैंक तथा वित्तीय संस्थाको खाता तथा मोबाइल बैंकिङमा पहुच छ ।

महिलाको बैंकिङ पहुच कम भएका अन्य देशहरु
युएनडीपीका अनुसार बुरुन्डीमा ६.७ प्रतिशत महिलासँग मात्रै बैंक खाता छ । यस्तै म्यानम्यारमा २६ प्रतिशत, नाइजरमा १०.९ प्रतिशत, सुडानमा १० प्रतिशत र यमनमा १.७ प्रतिशत महिलासँग मात्रै बैंक खाता छ ।

सबै महिलाको बैंक खाता भएका देशहरु
डेनमार्क, नर्बे र स्वीडेनका शतप्रतिशत महिलाको बैंक खाता वा मोबाइल बैंकिङमा पहुच छ । यस्तै अष्ट्रेलियाका ९९.२ प्रतिशत, अष्ट्रियाका ९८.४ प्रतिशत, बेल्जिमयका ९८.९ प्रतिशत र फिनल्याण्डका ९९.६ प्रतिशत महिलासँग बैंक वित्तीय संस्थाको खाता वा मोबाइल बैंकिङमा पहुच रहेको युएनडीपीको भनाइ छ ।


क्लिकमान्डु