अमेरिकामा दशैंः कम छैन नेपालीको पीडा



बाल्टिमोर । धादिङ महादेवेसीका हर्क लामा (नाम परिवर्तन) लाई २०६५ सालमा अमेरिकाको लागि नेपाल छोड्दै गर्दा लागेकै थिएन अबको १० वर्ष र बाँकी कतिवर्ष (अन्यौल) परिवारबिना एक्लै परदेशमा दशैं मनाउनुपर्ला भन्ने । यो वर्ष त नेपाल जान पाईएला कि भन्दै आशैआशमा उनले १० वर्ष बिनापरिवार खाली निधार दशैं मनाए ।

तर, न त उनको परिवार अमेरिका आउने टुंगो भयो न त उनी अमेरिका छोडेर नेपाल फर्कनै सके ।

लामा नेपालमा श्रीमती र परिवार उनको बाटो हेर्दा हेर्दै थाकिसके । तर उनको न त कानूनी रुपमा अमेरिका बस्ने पाउने कागज बनेको छ, न आफुले भनेकै जस्तो भएको छ । गैरकानूनी रुपमा अमेरिका बसेकोमा पछुताउने उनी आफ्नो मुद्दा अदालतमा भएकोले छोडेर हिडिहाल्न पनि सक्दैनन् ।

‘ट्राभल डकुमेन्ट बनाउँदै छु तर अरुले छोडेको रातीको काम गरेर कमाएको पैसाले वकिल पाल्न र आफू बस्न मात्रै ठिक छ, कसरी खर्च जुटाएर जानु ?’ निरास अनुहारमा देखाउँदै उनी भन्छन् ।

आफ्नो जिन्दगीको सबैभन्दा ठूलो गल्ती नेपाल छोड्नु भएको सुनाउँछन् उनी । खाडी गएको भए दुई वर्ष वा तीन चार वर्षमा नेपाल फर्किन पाईन्थ्यो तर यहाँ खाडी भन्दा खत्तम भएको उनको भनाइ छ ।

लामाको एउटै गल्ती थियो गैरकानूनी रुपमा अमेरिका बस्नु । २०६५ सालमा एक कार्यक्रमको लागि आएका उनी नेपाल फर्किएनन् । त्यो बेला लागेको थियो दुई/चार वर्षमा कागज बन्छ र परिवार पनि अमेरिका आएर बसौंला ।

लेखक खतिवडा

तर उनको सपना न त समयमा पुरा भयो न त परिवारसंगको मिलन नै । कानुनी रुपमा मान्यता पाउनकै लागि उनले वकिललाई करिब ३६ लाख नेपाली रुपैयाँ बराबर खर्च गरिसके तर उनको पैसा मात्रै खर्च भयो अदालतले उनको मुद्दा नै खारेज गरिदियो ।

‘अब भएन भने एक दुई वर्षमा नेपाल नै फर्किनु पर्ला’ निरास हुँदै भविष्यको योजना बताउँदा उनको अनुहारमा खासै खुसी देखिएको थिएन ।
गैरकानूनी रुपमा अमेरिका बस्नु भनेको फलामको चिउरा चपाउनु सरह भएको उनको अनुभव छ ।

आफूभन्दा कम योग्यता भएकाहरुले समेत उच्च कमाई हुने काम गर्दा उनले अरुले नगर्ने र काम मात्रै त्यो पनि लुकीलुकी गर्नुपर्दा सबैभन्दा चिन्तित हुन्छन् ।

‘पुलिसको फेला परे त मारी हाल्दैनन् तर चोर र गुण्डाहरु विगविधि छ,’ मेरिल्याण्डको ग्लीन बर्नीमा एक स्थानीय रेष्टुरेन्टमा काम गर्दै गरेका लामाले त्रसित मुद्रामा भन्छन् –‘तर दिन नआएसम्म केही हुँदैन दुई/तीन पटक लुटेरा आईसक्यो अहिलेसम्म केही गरेको छैन ।’

दशैं तिहार जस्ता चाडपर्वमा सबैभन्दा धेरै नेपाल र आफ्नो परिवारको याद गर्ने लामा दिनकै फोनमा र भिडियोमा परिवारसँग कुरा त गर्छन् । तर उनको याद मेटिँदैन ।

‘एक/दुई वर्ष मात्र भए पो अब त १० वर्ष भईसक्यो’ उनले भने ।

बाग्लुङका अशोक परियार पनि अमेरिकाको बाल्टिमोरमा बसेको ८ वर्ष भयो । उनको पनि अवस्था त्यस्तै छ । आजभोली भन्दा भन्दै उनको कागज बन्ने संकेत नै देखिँदैन । लुकी लुकी गर्नुपर्ने कामले उनलाई मर्नु न बाँच्नु बनाएको छ ।

‘कस्ले लुकाएर काम दिन्छ भनेर हिड्नु परेको छ । कहिले भर्जिनिया त कहिले यहीको ग्यास स्टेशनमा रातीको काम गर्छु अब त मेरो जिन्दगी नै यसैगरी वित्ला कि भन्ने भईसक्यो,’ उनी पिडा सुनाउँछन् । उनले पनि दशैंतिहार त नेपाल छोडेदेखि मनाएका छैनन् । पुरा रात काम गर्दा दिन सुतेरै वित्छ ।

‘परिवारलाई धेरै थोर पैसा त पठाईरहेको छु तर पैसाले मात्र सबैथोक हुँदैन । श्रीमतीले कहिले आउनु हुन्छ भन्दा अब छिट्टै काम बन्छ भन्ने गरेको छु तर यो भनेको पनि तिन वर्षदेखि भईसक्यो’ उनको दुखेसो छ ।

अमेरिकामा हाल ४ देखि ५ लाख नेपाली रहेको अनुमान छ । कानूनी रुपमा र विद्यार्थीबाहेक गैरकानूनी रुपमा आएका तथा कानूनी रुपमा आएर पनि गैरकानूनी रुपमा लुकेर बसेकाहरुको संख्या यकिन छैन । कानूनी रुपमा आएकाहरु परिवार यतै भए र नभएपनि नेपाल गएर दशैं तिहार मनाएर फर्किने गरेका छन् ।

कतिपयले आफ्ना नजिकका आफन्तहरुलाई दशैं तिहारमा अमेरिका नै बोलाउने पनि गरेका छन् । तर सबैभन्दा खल्लो दशैं गैरकानूनी रुपमा बसेकाहरुको हुने गरेको उनीहरुको अनुभवबाट प्रष्ट हुँछ ।

प्राय विद्यार्थी र गैरकानूनी रुपमा आएकाहरुको दशैं परिवारविनै वित्ने गर्दछ । विद्यार्थीहरु साथीभाईको जमघटमा हुने भएपनि अरु नेपालीहरु साथीभाईको जमघटमा पनि नजाने भेटिन्छन् ।

पछिल्लो समय गैर कानूनी रुपमा अमेरिका आउने वा आएको भएपनि यतै लुकेर बस्ने गरेकाहरु माथि सरकारले धरपकड बढाएको छ ।

जसको निसानामा लुकेर बस्ने वा दलाल मार्फत ज्यानकै बाजी मारेर अमेरिका आउनेहरु तथा विद्यार्थीको रुपमा आएर पनि पढाई छोडेर डलर कमाउने ध्यानमा लाग्नेहरु पर्ने गरेका छन् । यहाँको प्रहरीले धेरै गैरकानूनी व्यक्तिहरुले काम गर्ने स्थानहरुमा धमाधम छापा मार्न थालेपछि यस्ता व्यक्तिहरुमाथी अरु समस्या थपिएको छ ।

‘अमेरिका भनेर मात्रै के गर्नु मिनेट मिनेटमा केही होला कि,पुलिसले पक्रिएला कि भन्ने डरमा बस्नुपरेको छ,’ २०१२ देखि गैरकानूनी रुपमा बसिरहेका परियारले भने ‘२०१५ मा भुकम्पको बेला नेपालीलाई दिएको टिपिएस सुविधाले केही आसा पलाएको थिया,े त्यसले पनि काम गरेन ।’

अमेरिकामा विभिन्न ५० राज्यमा सबै राज्यमा नेपाली पुगेका छन् । धेरै नेपालीको बसोबास रहेको राज्यहरुमा दशैं धुमधामसंग मनाईदैछ ।
विषेशगरेर टेक्सास, न्युओर्क, कोलोराडो, बाल्टिमोर, भर्जिनिया,बासिंटन डिसी लगायतका क्षेत्रहरुमा दशैं विशेष विभिन्न कार्यक्रमहरु समेत सञ्चालन भइरहेका छन् ।

यस्ता कार्यक्रमहरुले नेपाली नेपालीको जमघट तथा सास्कृतिक सम्बन्ध बढाउने भएपनि परिवारसंग धेरै वर्षदेखि टाढिएकाहरुको दशैं भनेर संधै पिडा लिएर आउने गरेको छ ।


पुष्प दुलाल