एयर एशियाको बक्यौता २५ करोड माथि, जहाज रोक्ने विमानस्थलको तयारी



काठमाडौं । नेपालमा उडान गरिरहेको मलेसियाको विमान सेवा प्रदायक कम्पनी एयर एशियाले २५ करोड रुपैयाँ तिर्न आनाकानी मात्रै गरेको छैन, उडान नै बन्द गर्ने घोषणा गरेको छ ।

सो विमान कम्पनीले यही असोज २६ गतेदेखि काठमाडौँ उडान बन्द गर्ने घोषणा गरेको छ । नेपाली कामदारलाई लक्षित गरेर सो विमान कम्पनीले गत ६ वर्ष पहिलेदेखि काठमाडौं–क्वालालम्पुर उडान गर्दै आएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डले पटक पटक बक्यौता रकम तिर्न आग्रह गरेपनि एयर एशियाले अटेर गर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार सो विमान कम्पनीले विगतमा बक्यौता रहेको २२ करोड रुपैयाँ तिरेपनि अरु रकम तिर्न बाँकी रहेको छ ।

विसं २०६९ देखि २०७४ सम्मको सञ्चार तथा उड्डयन सहायक सेवा, विमानस्थल विकास शुल्क, अवतरण तथा पार्किङ शुल्क तिर्न बाँकी रहेको छ । विमानमा आउने प्रत्येक विदेशी नागरिकले नेपाल पर्यटन बोर्डलाई १ हजारका दरले रकम तिर्नु पर्दछ ।

पर्यटक शुल्क समेत तिर्न अटेर गर्दै आएको छ । बोर्डलाई विमान कम्पनीले ७ करोड ६६ लाख तिर्न बाँकी रहेको छ ।

पर्यटन व्यवसायी हरिमान लामाको जीएस इन्सेटिभ ग्रुंप अफ कम्पनीका कारण समस्या आएको बताइएको छ । सो कम्पनीका सञ्चालकहरुबीच विवाद बढेपछि समस्या आएको हो । सो कम्पनीका प्रमुख लामा विगत केही समयदेखि बेपत्ता छन् ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बक्यौता रकम नतिरे जहाज काठमडाौँमा नै रोकिदिने सन्देश समेत एयर एशिायाको मुख्यालय मलेसियामा पठाएका छन् ।

३७७ जना याुत्र बोक्ने जहाज उडाउँदै आएको एयर एशियाले कामदार कमी आएको भन्दै काठमाडौँ उडान तत्कालका लागि स्थगन गर्न लागेको दावी गरेको छ ।

विमानस्थलले भने शुत्रबारसम्म बक्यौता रकम तिर्न एयर एसियालाई भनेको छ । सो अवधि भित्र पनि ब्यौता रकम नतिरे जहाज काठमाडौँमा नै राखिदिने चेतावनी समेत दिइएको छ ।

काठमाडौं–क्वालालम्पुर रुटमा नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स, मालिन्दो एयरलगायतले नियमित उडान गरिरहेका छन् । गत जेठ ३ गतेदेखि कामदारमाथि ठगी भइरहेको भन्दै सरकारले मलेसियामा कामदार पठाउन रोक लगाएपछि सो रुटमा उडान गर्दै आएका वायु सेवा प्रदायक कम्पनीले उडान कटौति गर्दै आएका छन् ।

केही दिन पहिले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारी र मलेसियाको मानब संसाधन मन्त्रालयका अधिकारीबीच भएको सहमति पछि कामदार पठाउने प्रक्रिया भने शुरु भएको छ । निकट भविष्यमै नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने तयारी भइरहेको छ । श्रम सम्झौताका लागि मलेसियाका मानव संसाधन मन्त्री काठमाडौं आउँदैछन् ।

रोजगारदाता कम्पनीले नै भिसा, हवाइ टिकट लगायतका शुल्क तिर्ने र कामदारले सो शुल्क पहिलो महिनाको तलबको ५० प्रतिशत बुझाउने गरी दुई देशबीच सहमति भएको छ ।


पुष्प दुलाल