यसरी आफैं भरे पनि पर्न सक्छ अमेरिका जाने ‘डिभी चिठ्ठा’



काठमाडौं । संयुक्त अधिराज्य अमेरिकाले प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको चिठ्ठामा आधारित अमेरिकाको विविधता भिषा (डाईभर्सिटी अर्थात् डिभी भिषा)को लागि आगामी १७ गते (अक्टोवर ३) देखि आवेदन संकलन सुरु गर्ने भएको छ ।

नेपालस्थित अमेरिकी दुतावासले बुधबार एक विज्ञप्ती जारी गर्दै चिठ्ठामा छनौंट भएकाहरुले सन् २०२० मा अमेरिका जान पाउने गरी अक्टोवर ३ असोज १७ देखि नोभेम्बर ६ (कात्तिक २०) गतेसम्म आवेदन खुल्ला गरिने जनाएको छ ।

ग्रीनकार्ड पाउने सबैभन्दा सजिलो तरिकाको रुपमा रहेको यो भिषा कार्यक्रमको लागि आवेदन दर्ता अवधि असोज १७ गते नेपालको स्थानीय समय अनुसार रातको ९ः४५ बजेबाट सुरु हुने छ भने कार्तिक २० गते रातको १०ः४५ बजे बन्द हुनेछ । साथै दुताबासले डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न र अन्तिम समय कुरेर नबस्न अनुरोध गरेको छ ।

डिभी कार्याक्रममा अमेरिकी सरकारले अनलाईनमार्फत संकलन र छनौट गर्ने चिठ्ठा कार्यक्रम हो । यसमा सहभागि हुन कुनै पनि शुल्क नलाग्ने अमेरिकी दुतावासले जनाएको छ ।

दुतावासले कुनै पनि कन्सल्टेन्टको आवश्यकता नपर्ने भएकोले पैसा तिरेर आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन पनि सल्लाह दिएको छ । सहयोग चाहिएको खण्डमा दुतावासमा सम्पर्क गर्न तथा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन भन्दै दुतावासले कुनै पनि सहयोगको लागि दुतावासले रकम नलिने स्पष्ट पारेको छ । उत्त अवधीमा भरिएको डिभीको नतिजा आगामी मे महिनामा सार्वजनिक गरिने छ ।

लेखक खतिवडा

आफैंले कसरी भर्ने ?

चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा https://www.dvlottery.state.gov/ नयखर मा गई एक सामान्य आवेदन फारम भर्नु पर्नेछ । जो सामान्य रुपमा आवेदकको व्यक्तिगत र शैक्षिक विवरण मात्र सोधिएको हुन्छ । आवेदन भर्दा तपाईँले आफ्ना पति पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानहरुको विवरण भर्नु पर्ने हुन्छ । यदि यसो गर्नुभएन भने तपाईलाई चिठ्ठामा छनौंट भएपनि दुतावासले भिषा नदिन सक्छ ।

तर, परिवारका अयोग्य सदस्यको विवरण समावेश नगर्न दुतावासले अनुरोध गरेको छ ।  २०२० को डाइभर्सिटी भिसा कार्यक्रमकाको लागि नयाँ नीतिगत परिवर्तन गरिएको छ । जसअनुसार मुख्य आवेदकले अयोग्य पति तथा पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि स्वतः अयोग्य हुने पनि दुतावासले स्पष्ट पारेको छ ।

अयोग्यको हुने कारणहरुमा तपाई वा तपाईको आवेदनमा समावेस हुने कोही पनि आतंककारी गतिविधिमा संलग्न हुन नहुनेलगायतका छन् । त्यस्तै एउटा मात्र आवेदन भर्न पनि दुतावासले अनुरोध गरेको छ । यदि एक अवधीमा एक जनाका लागि एउटा भन्दा धेरै आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

त्यस्तै दुतावासले पुरानो फोटो प्रयोग गरेर डिभी नभर्न पनि अनुरोध गरेको छ । यदि यो वर्ष र गत वर्षको फोटो एउटै भए आवोदन अयोग्य हुने छ । फोटोसम्बन्धी नियमहरू गत वर्षको भन्दा कडाइ गरिएको दुतावासले जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउनु हुँदैन । आवेदन भरी सकेपछि प्राप्त आफ्नो कन्फर्मेसन नम्बरलाई सुरक्षित साथ राख्नुपर्ने हुन्छ पछि डिभी परे नपरेको जान्नको लागि यही नम्बर आवश्यक पर्ने छ ।

डिभी पर्दैमा भिषा मिल्दैन

तपाईँ डिभी विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने हुदैन । डिभी पर्नु भनेको दोस्रो प्रक्रियाको लागि छनौंट हुनु हो । दोस्रो प्रक्रियादेखि अरु प्रक्रिया पुरा भएपछि मात्रै दुतावासले भिषा दिनेछ ।

तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभी का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने ग्यारेन्टी गरेपछि मात्रै भिषा दिने छ । यसको साथै आर्थिक वर्ष सन् २०२० का लागि संसारभरबाट ५० हजार डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ । जसमा कोटा पुरा भए छनौट भएपनि दुतावासले भिषा दिँदैन ।

कस्ता योग्यता चाहिन्छ ?

हरेक डिभी आवेदकले डिभी कार्यक्रमका लागि माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको हुनुपर्छ ।

यदि औपचारिक शिक्षा छैन भने विगत पाँच वर्षमा दुई वर्षको कामको अनुभव हुनुपर्दछ । जसको लागि कम्तीमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्दछ ।

तपाईँको कामको अनुभव योग्य भए नभएको निर्धारण युएस डिपार्टमेन्ट अफ लेबर (अमेरिकी श्रम मन्त्रालय) को मान्यता अनुसार गरिने छ । जसअनुसार माध्यमिक स्तरको शिक्षा नभएपनि डिभी लोटरी भरेर अमेरिका जानका लागि योग्य हुनसक्ने छ । दुईबर्षको अनुभव वा तालिम भएको भए सेक्युरिटी मेनेजर, होलसेल सेल्स रेप्रेजेन्टेटिभ, सेल्स मेनेजरको रुपमा काम गर्नेहरु अमेरिका जान सक्छन् ।

कला, डिजाइन, मनोरञ्जन, खेलकुदको क्षेत्रमा काम गर्ने अनुभवी व्यक्तिहरुलाई पनि शैक्षिक योग्यताको आधारमा अमेरिकाले रोक्दैन । तर कलाकार, नाटककार, पत्रकार भएकै आधारमा भने अमेरिकाले भिषा दिंदैन । जुनसुकै पेसा भएपनि दुईवर्षको अनुभव र तालिमको प्रमाण हुनु जरुरी छ । अमेरिकाले कस्ता कस्ता काम जानेकोलाई भिषा दिन्छ भन्ने जान्न यो लिंकमा क्लिक गर्नुहोस् ।मा जानुहोस । यद्यपी भिषा दिने र नदिने भन्ने अधिकार अमेरिकाको कन्सुलर अधिकारी मै निहित हुने छ ।

फोटोकै कारण रोकिएला डिभी

डिभी आवेदनको लागि आफ्नो, आफ्नो पति/पत्नी तथा आवेदनमा उल्लिखित सबै सन्तानको पछिल्लो छ महिनामा खिचिएको फोटो हुनुपर्ने छ । सामूहिक फोटो स्वीकार हुने छैन । प्रत्येक व्यक्तिको छुट्टै फोटो राखिनुपर्दछ । यदि फोटो पछिल्लो छ महिनामा नखिचिएको, मिलाइएको वा आवश्यकताहरू पूरा नभएको खण्डमा तपाईँको आवदेन रद्द हुनसक्छ वा तपाईँलाई भिसा जारी नहुन सक्छ । उदाहरणको लागि तलको फोटो हेर्नुहोस् ।

तपाईँको फोटो ठीक छ कि छैन भनी थाहा पाउन ई–डिभी वेबसाइटमै उदाहरण पनि दिईएको हुन्छ । पहिला त्यसलाई राम्ररी हेर्नुहोला । उक्त पेजमा कस्तो फोटो स्वीकार हुन्छ भनेर उदाहरण पनि देखाईएको हुन्छ ।

विदेशमा बस्नेले के गर्ने ?

सामान्यतया धेरै नेपालीहरुमा प्रश्न हुन्छ विदेशमा हुनेहरुले नेपालको डिभी भर्न मिल्छ कि मिल्दैन भन्ने । तर, दुतावासको अनुसार नेपाली नागरिकलाई प्रदान गरेको उत्त सुविधाको नेपालमा मा विदेशमा जहाँ भएपनि प्रयोग गर्न मिल्छ ।

यद्यपि तपाई नेपाली नागरिक भएको प्रमाणित भने हुनुपर्छ । यदि विदेशमा हुनुहुन्छ भने डिभीको नजिता आएपछि छनौट हुनुभयो भने नेपालकै अमेरिकी दुतावासमार्फत अरु प्रक्रिया अगाडि बढाउनुपर्ने पनि हुनसक्छ । यसको लागि तपाई बसेको देशमा तपाईको चारित्रिक गतिविधि राम्रो छ भन्ने प्रमाणित गर्ने प्रहरी रिपोर्ट तपाईले बुझाउनुपर्ने पनि हुनसक्छ । यस बाहेक विभिन्न भिषामा अमेरिकामै बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउनेछन् ।

अमेरिकामा बस्ने व्यक्तिले पनि डिभी लोटरीका लागि अन्य नागरिक जस्तै फाराम भर्न सक्नेछन् । तर उनीहरुको अरु प्रक्रियाको लागि भने नेपाल गईरहनु पर्दैन । त्यस्ता व्यक्तिले अमेरिकमै आफ्नो भौतिक रुपस्थिती देखाएर स्ट्याटस अपडेट गराउन सक्नेछन् भने नेपालबाट आफूमा निर्भर आफन्तहरु बोलाउन सक्नेछन् । तर यो काम एक वर्षको अवधीमा गरिसक्नुपर्ने छ ।

नेपाल बाहेक तपाई बंगालादेश, ब्राजिल, क्यानडा, मुख्यभूमि चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरु, फिलिपिन्स, साउथ कोरिया, नर्दन आयरल्याण्ड बाहेक बेलायत तथा आश्रित भुभागहरु र भियतनामको नागरिक बनिसक्नु भएको छ भने डिभीको लागि योग्य हुनुहुन्न । –लेखक खतिवडा अमेरिकाको मेरिल्याण्डमा बस्छन् ।


पुष्प दुलाल