ट्रम्पलाई काउन्टर दिन पुटिनले पेट्रोलियम पदार्थको उत्पादन बढाउन दिएनन्, नेपालीको भान्छा महंगो हुने



हरेक दिन जसो अहिले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपालमा पेट्रोलियम पदार्थको बिक्री गर्ने जिम्मा पाएको नेपाल आयल निगमले हरेक १५ दिनमा यसको मूल्य बढाउदै लगेको छ ।

कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलरबाट पनि माथि लागेको छ ।
अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धले अन्तराष्ट्रिय बजारमा इरानबाट आउने तेलको आपूर्ति कम छ । तेल उत्पादक देशहरुको संगठन(ओपेक)ले तेलको उत्पादन बढाउनको अस्विकार गरेको छ । जसले गर्दा अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुग्ने देखिएको छ ।

भारतको तुलनामा नेपालमा पेट्रोल सस्तो छ । मंगलबार मुम्बई सहरमा प्रतिलिटर पेट्रोलको मूल्य ९० रुपैयाँ २२ पैसा भारु छ । यो भनेको नेपाली १४५ रुपैयाँ बराबर हो । नेपालमा भने प्रतिलिटर पेट्रोलको ११४ रुपैयाँ मूल्य छ । स्थान अनुसार मूल्य फरक छ । अबको एकसातापछि आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाउने निश्चित जस्तो नै छ ।

रुसको नेतृत्वमा ओपेक देशहरुले इरानलाई लगाइएको आपूर्ति कम गर्ने गरी कुनै पनि हालतमा उत्पादन नबढाउने निर्णय गरेका थिए ।

जसको कारण कच्चा तेलको मूल्य प्रतिडलर २ ले बढेर ८१ अमेरिकी डलरमा पुगेको छ । साउदी अरबले तेल आपूर्तिको विषयमा समस्या नभएको र सबै देशले मागे अनुसारको पेट्रोलियम पदार्थ पाएको जनाएको छ ।

ओपेक देशहरुको निर्णय अमेरिकी राष्ट्रपतिलाई झड्काको रुपमा लिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बढ्दो पेट्रोलियम मूल्यमा नियन्त्रण कायम गर्नको लागि उत्पादन बढाउन माग गरेका थिए । पेट्रोलियम सम्बन्धी प्रतिबन्धको कारण इरानको निर्यात घटिरहेको छ ।

ओपेक र त्यसका सदस्य देशहरुले उत्पादन बढाउन अस्विकार गरेपछि अर्को वर्ष कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । ब्लूगबर्गका अनुसार ट्रेफिगुराका हेड बेन लुकाकले एउटा पत्रकार सम्मेलनमा आउने क्रिसमससम्म तेलको मूल्य प्रति ब्यारेल ९० डलर पुग्ने र २०१९ को सुरुवातमा १०० अमेरिकी डलर पुग्ने बताएका थिए ।

लगातार बढेको पेट्रोलियम पदार्थको मूल्यले नेपालको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गर्ने देखिन्छ । नेपालले भारतीय आयल निगमसँग पेट्रोलियम पदार्थ किन्ने गर्छ । जबकी भारत आफैले पेट्रोलियम पदार्थ खाडी र रुसबाट आयात गरेर नेपाललाई बेच्ने हो ।

नेपालले भारतीय रुपैयाँसँग स्थिर विनिमयदर प्रणाली अपनाएको छ । अहिले भारतीय रुपैयाँ हरेक दिनजसो कमजोर बन्दै नयाँ रेकर्ड कायम गरेको छ । जसको कारण नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा निकै नै कमजोर अवस्था पुगेको छ ।

आयातमा आधारित अर्थतन्त्र निर्भर नेपाललाई डलरको बढ्दो मूल्य र कच्चा तेलको मूल्य बढ्दा आर्थिक रुपमा भार बढ्दै जान्छ । उपभोक्ताले लागत बढ्ने हुँदा महंगी बढ्ने छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बृद्धि गरिसकेको छ । ढुवानी लागत बढ्ने हुँदा पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोग्य वस्तुको मूल्य पनि बढ्छ ।

यसैपनि नेपालको चालु खाता घाटा अत्याधिक बढी छ । शोधानान्तर अघिल्लो आर्थिक वर्षको अन्तिम महिनामा आएपछि बचतमा गएको थियो । नेपालले वर्षमा करिब डेढ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गर्छ ।

तेलको मूल्य बढ्दा नेपाली बैदेशिक रोजगारीमा गएको खाडी अर्थतन्त्रमा सुधार आउने हुन्छ । जसले नेपालीले कमाउने पैसा बढ्दा रेमिटेन्सको रुपमा भने नेपाललाई फाइदापनि हुने हुन्छ ।


क्लिकमान्डु