यो पेट्रोल पम्पले कसरी पायो १ रुपैयाँ बढीमा पेट्रोल बेच्न ?
काठमाडौं । नेपाल आयाल निगमले अहिले पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तोकेको छ । यो मूल्य निगमको थानकोट डिपोबाट १५ किलोमिटर टाढासम्मका पेट्रोल पम्पको लागि हो ।
तर, काठमाडौंको जडिबुटीमा एउटा यस्तो पेट्रोल पम्प छ, जसले निगमले तोकेकोभन्दा प्रतिलिटर १ रुपैयाँ बढीमा पेट्रोल बेचिरहेको छ ।
यसरी बढी मूल्य लिएर पेट्रोल बेच्ने पेट्रोल पम्प काठमाडौंकै जडिबुटीको कामाख्य आयाल स्टोर हो । जुन, प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कार्यालय सिंहदरबार वा प्रधानमन्त्री निवास वालुवाटारबाट निजी निवास बालकोट जादा बाटैमा पर्छ ।
तर, यो पेट्रोल पम्पले १ रुपैयाँ सोझै बढी लिदैन । उसले पम्पमा सुचना नै टासेको छ । सो सुचनामा पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ २० पैसा भनिएको छ ।
आयाल निगमले अहिले तोकेको पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ हो । यदि तपाइले सो पम्पमा एक लिटर पेट्रोल किन्नुभयो भने ११४ रुपैयाँ २० पैसा दिन सक्नुहुन्न । किनभने अहिले १ रुपैयाँभन्दा सानो दरको मुद्रा चलनचल्तीमा छैन । र, यदि तपाइले ११५ रुपैयाँ दिनुभयो भने पम्पले ८० पैसा फिर्ता गर्न पनि सक्दैन ।
राज्यले तोकेको खुद्रा विक्री मूल्यको न्यूनतम इकाइ तोकिएकै मूल्यमा किन्न पाउनु उपभोक्ताको नैसर्गिक अधिकार हो । पेट्रोलमा राज्यले तोकेको न्यूनतम इकाइ एक लिटर हो । तर, कामाख्य आयाल स्टोरले एक लिटर पेट्रोलको मूल्य ११४ रुपैयाँ २० पैसा तोकेको छ । उसले घुमाउरो ढंगबाट उपभोक्तासँग ११५ रुपैयाँ अर्थात प्रतिलिटर १ रुपैयाँ बढी लिन यसरी मूल्य कायम गरेको छ ।
यो पेट्रोल पम्पको अर्काे पनि विशेषता छ । त्यो के हो भने पेट्रोलियम पदार्थको सहज आपूर्ति भएको बेलामा यो पम्प प्रायः बन्द हुन्छ । जव पेट्रोलियम पदार्थको हाहाकार हुन्छ तब यो पम्पमा पेट्रोल पाइन्छ । जव पेट्रोल पाइन्छ तब यस्तै गरी बढी मूल्य तिर्नुपर्छ ।
खनाल नेतृत्वको टोलीले अन्य केही पम्प सहित कामाख्य आयाल स्टोरले पनि तोकिएभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको, लुकाएको र तोकिएभन्दा कम परिमाणमा पेट्रोलियम दिएको भन्दै सिल गरेर कारबाही गरेको थियो । तर, पछि सफाइ पाएपछि कामाख्यले फेरि पेट्रोलियम पदार्थ बेच्न थालेको छ ।
यसरी बढी मूल्यमा पेट्रोल बेच्न कामाख्या आयाल स्टोरले कानुनी छिद्र भने पाएको छ । निगमले तोकेको पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ११४ रुपैयाँ निगमको थानकोट डिपोबाट १५ किलोमिटर टाढासम्मका पेट्रोल पम्पको लागि हो । थानकोट डिपोबाट कामाख्या आयाल स्टोर १५ किलोमिटरभन्दा ३/४ सय मिटर बढी दुरीमा पर्छ । १५ किलोमिटरभन्दा बढी दुरीका पम्पले ढुवानी लागत जोडेर उपभोक्ता मूल्य कायम गर्न पाउने सुविधा निगमले दिएको छ ।
निगमको थानकोट डिपोबाट जडिबुटीभन्दा टाढा दुरीमा भक्तपूरको गठ्ठागर र ठिमीबीचमा साझाको पेट्रोल पम्प छ । साझाले अहिले पनि प्रतिलिटर ११४ रुपैयाँमा नै पेट्रोल बेचिरहेको छ ।
साझाको पम्पभन्दा पनि टाढाको दुरीमा भक्तपूरकै ठिमी र राधराधेको बीचमा सशस्त्रको गुहेश्वरी पेट्रोल पम्प थियो । सो पम्पले पनि निगमले तोकेकै मूल्यमा पेट्रोल बेच्थ्यो । अहिले सशस्त्रको सो पम्प भने बन्द छ ।
कामाख्या आयाल स्टोर विगतमा पनि विवादमा आएको पम्प हो । २०७२ सालमा भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि अन्य अत्यावश्यक बस्तु झै पेट्रोलियम पदार्थको पनि हाहाकार भयो । सो समयमा अहिले नेपाल प्रहरीका महानिरीक्षक रहेका सर्बेन्द्र खनाल प्रहरी अपराध महाशाखा हनुमानढोकाका प्रमुख थिए ।
खनाल नेतृत्वको टोलीले अन्य केही पम्प सहित कामाख्य आयाल स्टोरले पनि तोकिएभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको, लुकाएको र तोकिएभन्दा कम परिमाणमा पेट्रोलियम दिएको भन्दै सिल गरेर कारबाही गरेको थियो । तर, पछि सफाइ पाएपछि कामाख्यले फेरि पेट्रोलियम पदार्थ बेच्न थालेको छ ।
कामाख्य सहित भक्तपूरका अरु केही पेट्रोल पम्पले पनि यसरी नै बढी मूल्यमा पेट्रोलियम पदार्थ विक्री गर्ने गरेको बताइएको छ । तर, यसको पुष्टी भने हुन सकेन ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले तत्काल अनुगमन गरेर नियमविपरित सो पेट्रोल पम्पले पैसा लिएको भए कारबाही गरिहाल्ने प्रतिक्रिया दिए ।
‘निगमको थानकोट डिपोबाट सो पेट्रोल पम्प कति दुरीमा रहेछ त्यो पनि हेर्छौं, उसले लिएको मूल्य निगमको मापदण्डभन्दा बाहिर रहेछ भने हामी तत्कालै कारबाही गर्छाैं,’ निमित्त कार्यकारी निर्देशक भट्टराईले क्लिकमाण्डूसँग भने ।
१५ किलोमिटरको सीमाले बद्मासी भयोः निगम
आयाल निगमले पनि १५ किलोमिटर दुरीसम्मको लागि कायम हुने खुद्रा मूल्यको ब्यवस्थाले बद्मासी भएको स्वीकार गरेको छ ।
१५ किलोमिटरसम्मको दुरी ज्यादै कम भएको भन्दै यसलाई बढाउने गृहकार्य भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
‘निगमले आफ्नो डिपोबाट १५ किलोमिटरसम्मको दुरीको लागि कामय हुने भनेर पेट्रोलियम पदार्थको खुद्रा मूल्य तोक्ने गरेको छ, यो दुरी निकै कम भयो, अब यसलाई बढाएर कम्तिमा पनि ३० किलोमिटर गर्ने गरी गृहकार्य गरिरहेका छौं,’ निमित्त कार्यकारी निर्देशक भट्टराईले क्लिकमाण्डूसँग भने ।