छिःछिः ललितपुरका बधशालामा कुहिएका मासु, अनुगमन टोलीद्वारा ४ वटामा शिलबन्दी



काठमाडौं । संयुक्त अनुगमन टोलीले ललितपुर महानगरपालिकामा सञ्चालित ४ वटा पशु बधशालामा शिलबन्दी गरेको छ । आज बिहानै ललितपुर क्षेत्रका ५ वटा बधशालाको स्थलगत अनुगमन गर्ने क्रममा ४ वटामा शिलबन्दी गरिएको हो ।

कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त अनुगमन टोलीले लक्ष्मी मिट सपलाई सचेत गराएको थियो भने अन्य ४ वटा मिट सपको बदशालामा विक्री वितरण गर्न रोक लगाएको हो ।

अनुगमन टोलीले मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिवन्ध लगाइएको पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले जानकारी दिए ।

देव र सुनिलको बधशाला दर्तापनि नभई सञ्चालन भएको पाइएको छ । उक्त बधशालाहरुले सरसफाइमा ध्यान नै नदिएको, राँगा भनेर भैँसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदापनि पालना नगरेको, तालिम दिएरपनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्री वितरणमा रोक लगाइएको महानिर्देशक निर्मलले जानकारी दिए ।

ती बधशालाहरुमा दैनिक ३० भन्दा बढी राँगा भैँसी काट्ने गरेको पाइएको छ । उनीहरुसँग थप छलफल गर्नका लागि आज नै विभागमा बोलाइएको छ ।

काटेको फोहोर र कुहिएका मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले मानव स्वास्थ्यका हिसावले उक्त मासु खान अयोग्य नभएकोले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिवन्ध लगाइएको बताए ।

ती बधशालाहरुमा शिलबन्दी लगाउदा झन दुर्गन्ध फैलिने भएकाले महानगरको जिम्मा लगाएर नष्ट गर्न भनिएको कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीले व्यवसायको नाममा आम मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने काम भएको भन्दै सुधार नहुँदासम्म अनुगमन र नियमनलाई निरन्तरता दिने बताइन् ।

यस्तै ए वान मिट सपका सञ्चालक सरोज खड्गीले भने सरकराले जहिले पनि सुधारको मात्र कुरा गरेको भन्दै पहिलेभन्दा सुधार गर्दै लगेको दावी गरे । उनले सरकारले जग्गा उपलब्ध गराइदिए आफूहरु जग्गा किनेर व्यवस्थित रुपमा बधशाला सञ्चालन गर्न तयार रहेको बताए ।

कृषिराज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा रहेको अनुगमन टोलीमा मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो ।


क्लिकमान्डु