४२ करोडको लागतमा यस्तो बन्दैछ महाराजगञ्ज चिकित्सा क्याम्पसको नयाँ भवन (भिडियोसहित)



प्रस्तावित भवनको स्केच

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगतको प्रमुख क्याम्पसका रुपमा रहेको महाराजगञ्ज चिकित्सा क्याम्पस अहिलेसम्म पुरानो भौतिक संरचनामा सञ्चालन गइरहेको छ ।

महाराजगञ्जमा रहेको टीयू टिचिङ हस्टिलको आडैमा एउटा पुरानो पहेंलो रंग लगाइएको ३ तले भवन छ । जसलाई यल्लो हाउस भनेर पनि चिनिन्छ ।

सो भवनमा क्याम्पसका ३२ वटा विभागका कार्यालय छन् भने चिकित्साशास्त्रको पढाई पनि त्यही नै हुन्छ । सो पहेंलो भवन नजिकै बनेको अर्को भवन पनि छ । त्यहाँ केही विभागको कार्यालय छ । शुरुमा एउटै भवनमा सबै विभाग थिए, तर, अर्काे बनेपछि अर्को भवनमा पनि केही विभागका कार्यालय र शैक्षिक क्रियाकलाप पनि हुने गरेको छ । यी दुई भवन महाराजगञ्ज चिकित्सा क्याम्पसका लागि पर्याप्त छैनन् ।

सो क्याम्पस लामो समयदेखि पर्याप्त भौतिक संरचनाको अभाव कारण विविधखाले समस्याबीच चलिरहेको छ । तर, अब ती तमामखाले समस्या समाधान हुने भएको छ । अबको ३० महिनामा एउटा भव्य, आधुनिक सुबिधा सम्पन्न महाराजगञ्ज चिकित्सा क्याम्पसको शैक्षिक भवन निर्माण सम्पन्न हुँदैछ ।

महाराजगञ्ज क्याम्पसले शैक्षिक तथा प्रशासनिक सुविधासम्पन्न अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । सो ७ तले भवनको गत भदौ २९ गते त्रिविका उपकुलपति प्रा.डा.तीर्थराज खनियाले शिलान्यास गरेका हुन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा जगदीशप्रसाद अग्रवाल र महाराजगञ्ज चिकित्सा क्याम्पसका प्रमुख प्राडा प्रतापनारायण प्रसादको उपस्थितिमा सो भवन शिलान्यास भएको हो ।

नयाँ भवन कस्तो हुन्छ ?
महाराजगञ्जमा सोही यल्लो हाउस नजिकै बन्न लागेको नयाँ आधुनिक र सुबिधासम्पन्न सो भवन १३ हजार ९ सय २४.५८ स्वायर फिटमा बन्दैछ । पेश इञ्जिनियरिङ कन्सलटेन्सीका अनुसार सो भवन भूकम्प प्रतिरोधी र डबल पिलर (कन्स्ट्रक्सन ज्वाइन) सिस्टममा बन्न लागेकाले निकै बलियो र सुरक्षित हुनेछ । भवनको ग्राउण्ड फ्लोरमा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ स्थल बनाइनेछ ।

त्यसैगरी माथिल्ला तलाहरुमा चिकित्साशास्त्र शिक्षणका लागि कक्षा कोठा, प्राध्यापकहरुको कार्यालय, मिटिङ रुम, स्टोर, प्रयोगशाला, शौचालय हुनेछन् । सो भवनमा २ तिरबाट लिफ्टस्टिम जडान हुनेछ । त्यसैगरी दुई तिरबाट भर्याङ पनि रहनेछ । कुनै प्रकोप र आगलागी जस्ता घटना हुँदाको बखतका लागि आपतकालीन भर्याङको व्यवस्था हुनेछ ।

भवनको चौथो तलामा पुस्तकाल रहनेछ । पाँचौ, तलमा प्रशासनिक, लेखा, क्याम्पस प्रमुख, प्राध्यापकको कार्यालय, मिटिङ रुम रहनेछ । छैठौं र सातौं तलामा २ सय ५० जना अट्ने बहुउद्देश्यीय कोठा बनाइनेछ ।

लागत कति ?
४२ करोड ३२ लाख ६९ हजार ७ सय ७९ रुपैयाँ ५६ पैसाको लागतमा बन्न लागेको सो भवनको कन्सलटेन्सी गर्ने जिम्मेवारी पेश इञ्जिनियरिङ कन्सलटेन्सीले पाएको छ ।

भवनको निर्माण भने श्री बिकोई/किराँतेश्वर/श्रृंखला जेभीले गर्नेछ । २०७५ साल भदौ ४ गते निर्माण सम्झौता भएको हो । यो मितिले ३० महिनामा निर्माण सम्पन्न गर्नु पर्ने संझौतामा उल्लेख गरिएको छ ।

लागत रकम कसरी जुटाइन्छ ?
महाराजगञ्ज चिकित्सा क्याम्पस सामान्य प्रशासन शाखाका उपप्रशासक निलमप्रसाद पोखरेलका अनुसार क्याम्पसको आन्तरित श्रोत, त्रिवि चिकित्साशास्त्र संकाय र त्रिभुवन विश्वविद्यालयको कोषबाट सो भवन निर्माणका लागि बजेट जुटाइने छ । सो नयाँ भवन निर्माण सम्पन्न भएपछि मूलतः शैक्षिक क्रियाकलाप सञ्चालन हुनेछ ।

अहिले भएको पुरानो यल्लो हाउस र अर्को एक भवनबाट प्रशासनिक र शैक्षिक क्रियाकलाप सञ्चालन गर्न भौतिक संरचनाको अभाव खड्किएको अवस्थामा नयाँ बन्ने संरचनाले त्यो समस्या दूर गर्ने उनको भनाई छ ।

‘अहिले यस क्याम्पसमा जेजति विधार्थीहरु अध्ययन गरिरहेका छन्, भौतिक संरचना सबल भएपछि त्यो संख्यापनि बढ्न सक्ला, अहिलेभन्दा धेरै जनाले चिकित्साशास्त्र पढ्ने अवसर पाउन सक्छन्, तर यो विषय भने यकिन भइसकेको छैन, यस बारेमा माथिल्लो निकायमा छलफल भएको हुन सक्छ,’ पोखरेलले भने ।

महाराजगञ्ज चिकित्सा क्याम्पसमा कति बिधार्थी पढ्छन् ?
शैक्षिक प्रशासन शाखाका सुरेन्द्र तण्डुकारका अनुसार पब्लिक हेल्थ र माइक्रो बायोलोजी गरी २ विभागमा ४ जनाले सो क्याम्पसमा पीएचडी गरिरहेका छन् । त्यसैगरी डीएम/एमसीएचका ११ विभागमा १५ जना बिधार्थी अध्ययनरत छन् ।

एमडी/एमएसका २७ विभागमा १ सय ४६ जना विधार्थी अध्ययनरत छन् । सोही विभागमा १७ जना विदेशी विद्यार्थी पनि पढिरहेका छन् ।

त्यसैगरी महाराजगञ्ज चिकित्सा क्याम्पसमा ७५ जनाले एमबीबीएस, ४० जनाले बीपीएच, ११ जनाले वीएस्सी/एमएलटी अध्ययन गरिरहेका छन् ।

यता, १० जनाले बीअप्टम, ६ जनाले बीएएसएलपी, २० जनाले बी फर्मा र १० जनाले बीएस्सी/एमएलटी अध्ययन गरिरहेका छन् ।


क्लिकमान्डु