चिनियाँ ठेकेदारको कारण हिमालयन र बिओकेले गुमाए डेढ अर्ब रुपैयाँ, सर्बोच्चले गर्यो रिट खारेज



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको चाइना रेल्वेको काउन्टर ग्यारेन्टी बस्दा नेपालका दुई वाणिज्य बैंक हिमालयन बैंक र बैंक अफ काठमाण्डू(बिओके)ले डेढ अर्ब रुपैयाँ गुमाउने भएका छन् ।

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले दायर गरेको रिट सर्बोच्च अदालतले खारेज गरेपछि दुई बैंकले मेलम्ची खानेपानी आयोजनालाई डेढ अर्ब रुपैयाँ दिनुपर्ने भएको हो ।

मेलम्चीको सुरुङ खन्ने जिम्मा पाएको चाइना रेल्वेले सम्झौता अनुसार काम नगरेपछि आयोजनाले उसको ठेक्का रद्ध गरेको थियो । चिनियाँ ठेकेदारको काउन्टर ग्यारेन्टी बसेका दुई बैंकसँग पैसा माग गरेको थियो ।

चाइना रेल्वेले चीनमा मेलम्ची आयोजना तथा नेपाली बैंकलाई मुद्दा दायर गरेको थियो । सो मुद्दा नेपाली बैंकहरुले हारेका थिए ।
चाइना रेल्वेले चीनको चाइना कन्स्ट्रसन बैंकलाई ग्यारेन्टी राखेका थिए । त्यसको काउन्टर ग्यारेन्टी हिमालयन र बिओके बसेका थिए ।
चाइना रेल्वेबाट ग्यारेन्टी वापतको पैसा नआएपछि त्यो तिर्नु नपर्ने भन्दै दुई बैंक अदालत गएका थिए ।

तत्कालिन पुनरावेदन अदालत पाटनले दुई बैंकको विपक्षको फैसला गरेको थियो । त्यो बेला दुई बैंकले मेलम्ची खानेपानी आयोजनालाई दिनुपर्ने रकम राष्ट्र बैंकमा जम्मा गर्न भनिएको थियो । दुई बैंकले १ अर्ब ५१ करोड रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् ।

सर्बोच्च अदालतका न्यायाधीशद्धय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको सयुक्त इजलासले दुबै बैंकले हालेको रिट खारेज हुने फैसला गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनालाई हिमालयन बैंकले ६६ करोड तथा बैंक अफ काठमाण्डूले ८५ करोड रुपैयाँ दिनुपर्छ । दुई बैंकले राष्ट्र बैंकमा सो वापतको पैसा भने जम्मा गरिसकेका छन् । बैंकलाई नोक्सान भएपछि ठूलो वित्तीय घाटा भने यसबाट हुने छैन ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले मेलम्ची आयोजनालाई दिनुपर्ने रकम छुट्याइसकेको र त्यो वापतको रकम प्रोभिजन पहिल्लै नै भएको हुँदा तत्काल भुक्तानी दिदा बैंकको वित्तीय अवस्थामा कुनै असर नगर्ने बताए ।

‘हामीले सो वापतको रकम प्रोभिजन पहिल्लै नै गरिसकेका छौ,अदालतले रिट खारेज गरेपछि भुक्तानी दिदापनि बैंकलाई कुनै असर गर्दैन,’राणाले क्लिकमाण्डूसँग भने ।

उनले पैसा तिर्ने विषयमा मेलम्ची आयोजनासँग विभिन्न मोडालिटीमा छलफल भएको जानकारी दिए । ‘आयोजनाको काम सकिएपछि मेलम्ची खानेपानी आयोजनाले चिनियाँ ठेकेदारलाईपनि तिनुपर्ने पैसा छ,त्यसमा पनि कटाउने भन्नेमा छलफल चलिरहेका छ,’उनले भने ।

असार मसान्तको अपरिस्कृत वित्तीय प्रतिवेदन अनुसार हिमालयन बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड छ । निक्षेप ९१ अर्ब ३० करोड छ भने कर्जा ८६ अर्ब ८४ करोड रहेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४७ करोड रुपैयाँ नाफा गरेको थियो ।

यस्तै बैंक अफ काठमाण्डूको चुक्ता पुँजी ७ अर्ब ७ करोड छ । निक्षेप ७६ अर्ब ६३ करोड रुपैयाँ छ । कर्जा ६९ अर्ब ४६ करोड रहेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको थियो ।


क्लिकमान्डु