१८ वर्षपछि असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन हुने



काठमाडौं । आगामी असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन हुने भएको छ ।

विकासशील राष्ट्रका बीमा र पुनर्बीमा कम्पनीहरुको छाता संगठन (एआईआरडीसी)ले १८ वर्षपछि दोस्रो पटक नेपालमा आफ्नो २२औं सम्मेलन गर्न लागेको हो । यसअघि सन् २००० मा पनि यस्तो सम्मेलन भएको थियो ।

सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुने बीमा समितिले जनाएको छ ।

सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको समितिले जनाएको छ ।

समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी बीमा सम्मेलनमा विदेशी मुलुकबाट करिब २ सय तथा स्वेदेशी गरी ५ सय बढीको सहभागीता रहने जानकारी दिएको हो ।

नेपालमा भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्ले बर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ । २०७२ सालको भूकम्प र वर्षेनी आउने बाढी तथा पहिरोले आम जनता प्रभावित बनेका छन् भने राष्ट्रले पनि ठूलो दायित्व व्यहोर्दै आउनु परेको छ । नेपालमा यस्ता सम्पत्तिको बीमा हुन सकेको छैन ।

सम्मेलनमा हुने आर्थिक खर्चको व्यवस्थापन बीमा समिति र बीमक संघले गर्ने बताइएको छ । सम्मेलन काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुने बताइएको छ ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले २० औं सम्मेलन बहराइनमा भएको जानकारी दिए । उनले नेपालको वित्तीय क्षेत्र सुधारका लागि यस्ता कार्यक्रमको अपरिहार्यता रहेको बताए ।

नेपाल बीमक संघका प्रमुख कार्यकारी अधिकृत दीपप्रसाद पाण्डेले रेगुलेटर र प्लेयर एकै ठाउँमा भेला हुने भएकालेपनि यो कार्यक्रमको आफ्नै किसिमको महत्व रहने बताए ।

यस्तै, नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहीले यस्ता कार्यक्रमले एक देशको अनुभव अर्को देशसंग साटासाट गर्न पाइने बताए ।

शाहीले नेपालमा भौगोलिक जोखिम रहेकाले नै बाढी, पहिरो जस्ता प्रकोपमा बीमा सहयोगी हुने बताए । साना जोखिम भन्दा ठूला जोखिमका लागि बीमा गराउन आवश्यक हुनेमा उनले प्रकाश पारेका थिए ।

शाहीले प्राकृतिक जोखिम जो कोहीलाई कुनै अवस्थामा आइपर्न सक्ने बताए । यस्ता जोखिमको बीमाको बारेमा आफ्नो अवस्था हेरेर सचेत रहनु पर्नेमा उनको जोड थियो ।

यसैगरी मानिस आफैंले पनि जोखिम निम्त्याउने शाहीको तर्क छ । उनले बैंक चोरी गर्नेदेखि साइबर क्राईमसम्मका कुरा हुन सक्छन् । यसरी जोखिमको प्रकृति अनुसार बीमाको आवश्यकता झल्कने उनको तर्क रहेको छ ।

सोही कार्यक्रममा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले हाल २८ देशका ५३ कम्पनीले पुनर्बीमाका काम गर्दै आएको जानकारी दिए । उनले भने–पुनर्बीमा कम्पनीका लागि पनि कार्यक्रम फलदायी हुनेछ ।


पुष्प दुलाल