गणतन्त्रपछिका १० वर्षः अर्थतन्त्र ३ गुणाले बढ्दा, ब्यापार घाटा ५ गुणाले बढ्यो



जिडीपीको तुलनामा व्यापारघाटाको अनुपात

काठमाडौं । आर्थिक वर्ष २०३१/३२ मा नेपाली अर्थतन्त्रको आकार १६ अर्ब ६० करोड रुपैयाँ बराबरको थियो । आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा नेपाली अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँको पुगेको छ ।

आर्थिक वर्ष २०३१/३२ मा नेपालको कूल व्यापार घाटा ९२ करोड ५० लाख रुपैयाँ थियो । त्यो बेलाको देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग तुलना गर्दा व्यपार घाटा ५.५७ प्रतिशत मात्रै थियो ।

आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा नेपालको व्यापारघाटा ११ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यो भनेको नेपालको अर्थतन्त्रको आकारको ३८ प्रतिशत हो । चालु आर्थिक वर्षको पहिलो महिनामा नै १ खर्ब रुपैयाँ व्यापार घाटा भइसकेको छ ।

अर्थतन्त्रको आकारसँग व्यापार घाटा तुलना गर्दा आर्थिक वर्ष २०४६/४७ देखि २०४९/५० सम्म अर्थतन्त्रको आकारभन्दा व्यापार घाटाको बृद्धिदर कम देखिन्छ । त्यसपछिका वर्षमा धेरैजसो अर्थतन्त्रको आकारभन्दा व्यापार घाटाको बृद्धिदर अत्याधिक बढेको देखिएको छ ।

पछिल्लो १० वर्षदेखि नै अर्थतन्त्रको आकारभन्दा व्यापा रघाटाको अनुपात अत्याधिक बढेको देखिन्छ । आर्थिक वर्ष २०६५/६६ मा नेपाली अर्थतन्त्रको आकार ९ खर्ब ८८ अर्ब रुपैयाँ थियो । सो वर्ष नेपालको व्यापार घाटा २ खर्ब १६ अर्ब थियो । अर्थात् अर्थतन्त्रको आकारको २१.९३ प्रतिशत व्यापार घाटा थियो ।

आर्थिक वर्ष २०७२/७३ मा भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दीको कारण अर्थतन्त्रको आकारको तुलनामा व्यापार घाटाको अनुपात नबढे पनि त्यसपछिको वर्षमा व्यापार घाटा अत्याधिक बढेको छ ।

व्यापार घाटाको बृद्धिदरले नेपाली अर्थतन्त्रको वास्तविक चित्र प्रस्तुत गर्छ । मन्त्री, प्रधानमन्त्री र नेताहरुले आर्थिक सम्मृद्धिका ठूल्ठूला भाषण गरिरहँदा राष्ट्र बैंक र केन्द्रिय तथ्यांक विभागले सार्वजानिक गर्ने ब्यापार घाटाको तथ्यले उनीहरुलाई गिज्याइरहेको हुन्छ ।

विश्व बैंकको सन् २०१६ प्रतिवेदन अनुसार अर्थतन्त्रको आकारमा व्यापार घाटा उच्च हुने देशमा नेपाल १३औं नम्बरमा पर्छ । दक्षिण एशियामा अफगानिस्तानको अर्थतन्त्रको आकारमा व्यापार घाटा बढी हुने देशमा पर्छ ।

जिडीपीको आकार र व्यापारघाटा रकम १० लाखमा

विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकमा अर्थतन्त्रको आकारमा व्यापारमा सबैभन्दा बढी नाफा हुने देशमा मकाउ (४१.५६) प्रतिशत छ भने सबैभन्दा बढी घाटा हुने देशमा किरिबट्टी (८४.५१) प्रतिशत छ ।

नेपालको अर्थतन्त्रलाई नजिकबाट हेरिरहेका अमेरिकाको युनिभर्सिटी अफ मिनिसोटाका अर्थशास्त्रका सहप्राध्यापक शतिष देवकोटा नेपाल दक्षिण एशियामा अर्थतन्त्रको आकारको तुलनामा व्यापार घाटा बढी भएको देशमा परेको बताउँछन् ।

‘अर्थतन्त्रको आकारको करिब ४० प्रतिशतको अनुपातमा पुगेको व्यापार घाटाले नेपाली अर्थतन्त्र जहिले पनि समस्यामा जानसक्ने खतरामा रहेको छ,’ देवकोटाले क्लिकमाण्डूसँग भने ।

ब्यापार घाटा कहालीलाग्दो तरिकाले बढिरहे पनि नेपालले निर्यात व्यापारमा कुनैपनि सुधार गर्न सकेको छैन । बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलिरहेको छ ।

‘हाम्रो लगानी उत्पादनमुलक क्षेत्रमा भएको छैन, हाम्रो निर्यात छैन, रेमिटेन्सले सिर्जना गरेको मागलाई धान्ने उत्पादन नभएपछि आयात बढेको छ, जसले अर्थतन्त्रको विस्तारभन्दा व्यापारघाटाको अनुपातलाई बढाउदै लगेको छ’ देवकोटाले थपे ।

गत आर्थिक वर्षमा नेपालले ८१ अर्ब १९ करोड रुपैयाँको निर्यात गरेको छ । आयात वर्षेनि बढ्दै गएपनि निर्यात भने कुनै वर्ष घट्ने गरेको छ । नेपालले आर्थिक वर्ष २०७०/७१ मा ९१ अर्ब रुपैयाँको निर्यात गरेको थियो ।

सरकारले एक खर्बको निर्यात गर्ने लक्ष्य लिएपनि त्यो लक्ष्य भने पुरा हुन सकेन । त्यसपछि अर्को वर्ष ८५ अर्ब रुपैयाँमा झरेको निर्यात अर्को वर्ष भूूकम्प र नाकाबन्दीपछि झनै खस्कियो ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नेपाली अर्थतन्त्र आयातमुखी बन्दै गएको भन्दै चिन्ता ब्यक्त गर्छन् ।
‘सरकारको नीति उत्पादन प्रवद्र्धन गर्नेमा छैन, आयात गर्न दिने राजस्व उठाउने नीति सरकारको छ,’ गोल्छाले भने ।

सरकारी नीति नै आयातमा आधारित भएर अर्थतन्त्र चलाउने भएपछि उद्योगीको फोकस उत्पादन बढाउनेभन्दा पनि विदेशबाट सामान ल्याएर बेच्नेमा भएको गोल्छाको विश्लेषण छ ।

‘सरकारको सफलता राजस्व उठाएर चलाउनेमा मात्र छ, लगानी बढाउने र निर्यात बढाउने तथा आयात घटाउनेमा छैन,’ गोल्छाले थपे ।

सरकारले व्यापार घाटाको डरलाग्दो चित्रलाई ध्यान दिएको देखिँदैन । सरकारका नीति तथा कार्यक्रम आयात घटाउनेमा केन्द्रीत नहुनुले सरकार ब्यापार घाटाप्रति संवेदनशील हुन नसकेको प्रष्टसँग बुझ्न सकिन्छ ।

‘यो वर्षको बजेट अर्थतन्त्रमा प्याराडाइम सिफ्ट हुने गरेर आउने अनुमान थियो, त्यो अनुसार आएन, विदेशमा जाने कामदारले पठाएको पैसाले विदेशी मुद्राको सन्चिती भएसम्म कसैको ध्यान पुगेको छैन,’ अर्थशास्त्री देवकोटाले भने ।


पुष्प दुलाल