नेताको संरक्षणमा ठेकेदारको मनपरी, प्रचण्डका घरबेटीदेखि, विक्रम पाण्डेसम्मको बदमासी




काठमाडौं । सार्वजनिक खरिद ऐनमा रहेको कमजोरीको कारण निर्माण व्यवसायीले देशभरका विकास निर्माणको कार्य अलपत्र पार्ने गरेको पाइएको छ ।

ठेक्का पाउने बित्तिकै २० प्रतिशत रकम दिने व्यवस्था ऐनले गरेको छ । यही ब्यवस्थाको प्रयोग गर्दै ठेकेदारहरुले सुरुमा पैसा लिइहाल्ने र काम सुरु गरेको जस्तो देखाउने तथा सम्पन्न गर्न बर्षौ लगाउने गरेका छन् ।

निर्मांण व्यवसायमा पछिल्लो पटक बदनाम सावित भएको पप्पू कन्स्ट्रक्सनले मात्रै देशभर करिब ५ अर्ब रुपैयाँ बराबरको ठेक्का लिएको छ । ती ठेक्कामा हालसम्म कुनै पनि निर्माण सम्पन्न भएको अवस्था छैन ।

एउटा काम नभएपछि सोही ठेकेदारलाई बर्सेनि किन थपी थपी ठेक्का दिइन्छ भन्ने बारेमा समेत सरकारी अधिकारी केही बताउन चाहँदैनन् ।

देशभर निर्माण भइरहेका अधिकांश आयोजना अलपत्र छन् । कतिपय निर्माण व्यवसायीले जानजान काम अवरुद्ध पारेर राखेका छन् भने कतिपय आयोजनाका ठेकेदार नै बेपत्ता छन् ।

सडक विभागका अनुसार देशभर हाल १ हजार ७ सय पूल निर्माण भइरहेका छन् । ती पुल कहिले निर्माण सकिन्छ भन्ने बारेमा सडक विभाग आफैलाई नै जानकारी छैन । सरकारी निकायको बेवास्था, निर्माण व्यवसायमा रहेको चर्को राजनीतिककरणका कारण पनि देशव्यापी रुपमा निर्माण व्यवसाय अवरुद्ध अवस्थामा रहेको छ ।

प्रचण्डका घरबेटीदेखि विक्रम पाण्डेसम्म बदनाम
रमाइलो त के छ भने दुई तिहाई मत प्राप्त नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले राजधानीको निर्माणको कामलाई अलपत्र पारेका छन् ।

उनले नागढुंगा–कलंकी सडक, चाबहिल–जोरपाटी सडकखण्डको पनि संयुक्त रुपमा ठेक्का लिएका छन् । यस्तै भक्तपुरको नगरकोट जोड्ने सडक पनि उनै अधिकारीले लिएका छन् । तर निर्माण कार्य बर्षौदेखि अलपत्र छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकाता प्रक्रियाका क्रममा दर्जनौ पटक बैठक उनै अधिकारीको निवासमा सम्पन्न भयो । सोही बैठक आयोजना गरेको भन्दै अधिकारीले सरकारी अधिकारीलाई समेत अटेर गर्दै आएका छन् ।

अधिकारीको शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको कुनै पनि निर्माण कार्य समयमै सम्पन्न हुन सकेको छैन । असाध्यै थोरै कामदार परिचालन गर्ने र कोही कसैलाई पनि नटर्ने प्रवृत्तिका कारण उनले हात हालेका कुनै पनि आयोजना समयमै सकिएको रेकर्ड छैन ।

अधिकारीले पछिल्लो समयमा सडक विभागका अधिकारीलाई समेत शक्तिको प्रभाव देखाएर आयोजना हत्याइरहेका छन् । तर विगतमा जिम्मा लिएका काम सम्पन्न नगर्ने प्रवृत्ति उनमा राम्रै गरी देखिएको छ ।

अधिकारीले अलपत्र पारेको नागढुंगा कलंकी सडकमा धूलो र हिलोका कारण यातायात सञ्चालनमा समस्या पर्दै आएको छ ।

यस्तै राप्रपाका नेता समेत रहेका विक्रम पाण्डेको निर्माण कम्पनी कालिकाले पनि करिब दुई दर्जन बढी आयोजना अलपत्र पारेको छ । ती आयोजना कहिले सकिन्छन् भन्ने कुनै ठेगान छैन । पछिल्लो पटक बदनाम सावित भएको सिक्टा सिँचाइ आयोजनामा कालिकाले गरेको बदमासी एक पछि अर्को गर्दै खुल्दै गएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहमसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा गठित छानबिन समितिले आयोजनामा बदमासी भएको निष्कर्ष निकालेको छ ।

करिब ५० क्यूमेक पानी पठाउन सकिने गरी निर्माण गरिएको भनिएको आयोजनाको मुख्य नहरमा ५ क्यूमेक पानी पठाउँदा मात्रै पनि भत्किएको थियो । घुलनशिल माटोको उचित व्यवस्थापन नगरी नहर निर्माण भएको, डिजाइनमा नै समस्या रहेको जस्ता कमजोरी छानबिन टोलीले पत्ता लगाएको छ ।

ठेकेदार कम्पनीलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन सिफारिश गर्न लागिएको सरकारी छानबनि टोलीले जनाएको छ । सो आयोजनामा भएको बदमासीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अर्को छानबिन टोली बनाएर छानबनि गरीरहेको छ ।

सो टोलीपनि आयोजनाको खरिद प्रक्रियादेखि नै बदमासी भएको निष्कर्ष निकालेको छ ।

काँगेस सांसद आचार्यको निर्माण कम्पनी पनि उस्तै
यस्तै निर्माण कार्य समयमै सम्पन्न नगर्नेमा रसुवाका नेपाली काँग्रेसका सांसद मोहन आचार्यको रसुवा कन्स्ट्रक्सन पनि देखिएको छ । राजधानीका सडकदेखि उनकै जिल्लाको सडक निर्माणमा समेत बदमासी देखिएको छ । आयोजना लिने र काम नगर्ने पं्रव्ृत्ति बढ्दै गएपछि सडक विभागले करिब दुई महिना पहिले सार्वजनिक सूचना निकालेर तपाई र तपाईको कम्पनीलाई किन कारवाही नगर्ने भन्ने प्रश्न सोधेको थियो । तर कारवाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने बारेमा सडक विभागले हालसम्म कुनै पनि सार्वजनिक जानकारी दिएको छैन ।

राजधानीको सडक विस्तारका केही आयोजनामा समेत सो निर्माण कम्पनीले जिम्मा लिएको छ । तर काम भने कछुवाको गतिमा मात्रै अगाडि बढेको छ ।

फोरमका सांसद रौनियार पनि उस्तै
हरिनारायण रौनियार संघीय समाजवादी फोरमका तर्फबाट निर्वाचित सांसद हुन् । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारको उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्रीका रुपमा कार्यरत छन् । पैसाको बलमा निर्वाचन जित्न सकिन्छ भन्ने मनसायका साथ यादवले रौनियारलाई टिकट दिए ।

अन्ततः उनले निर्वाचन पनि जिते । तर उनको निर्माण कम्पनी पप्पूले देशभर ३१ वटा पूलको ठेक्का लिएको छ । ती मध्ये १५ वटा पस्लको त निर्माण अवधि समेत सकिइसकेको छ । करिब ५ अर्ब बढीको बजेट उनको कम्पनीले प्रयोग गर्न पाएको छ । तर कुनै पनि स्थानको पूल समयमा सकिएको छैन । सकिएको पूल समेत गुणस्तरीय नभएको पाइएको छ ।

देशभरका ठूला भनिएका पूल उनकै निर्माण कम्पनीले जिम्मा लिएको भएपनि काम सम्पन्न नहुँदा केही दिन पहिले रौतहटका दर्जन नागरिक बेपत्ता भए ।

प्रचण्ड भन्छन्ः ठेकेदार र कर्मचारीको सेटिङ छ
देशव्यापी रुपमा नै निर्माण व्यवसायमा लापरवाही देखिएका कारण नागरिकको अकालमा ज्यान जान थालेपछि नेकपाका अध्यक्ष प्रचण्डले निर्माण व्यवसायमा कर्मचारी र ठेकेदारको सेटिङ रहेको बताएका छन् ।

निर्माण व्यवसायी संघ चितवनको २५ औँ साधारणसभालाई यही भदौ १३ गते चितवनको भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्माण व्यवसायमा समेत एकाधिार रहेका कारण नागरिकले दुःख पाएको बताएका थिए ।

यातायात क्षेत्रको सिण्डिकेटपछि अब निर्माण क्षेत्रको सिण्डिकेट पनि तोडिने उनको भनाई थियो । एउटै ठूलो ठेकेदारलाई ठेक्का दिँदा भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने देखियो । यो सेटिङ तोडेर निर्माण क्षेत्रको सिण्डिकेट तोडिने उनको भनाइ थियो ।

आधा दर्जन पुल एउटै ठेकेदारलाई ठेक्कामा दिँदा समयमा काम पूरा नहुने समस्या आएको उनको भनाइ थियो ।

एउटैले चारैतिर ओगटेको छ, काम पनि हुँदैन,’ प्रचण्डले भनेका थिए, ‘साना निर्माण व्यवसायी रोएर हिँडेका छन् । ठूलाले एकाधिकार जमाएका छन् । यो एकाधिकार तोड्ने काम अब सुरु हुनेछ ।’

भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले हर्जाना नलगाइकन एक वर्ष समय थपिए पनि काम नभएको उनको भनाइ थियो ।

उनले व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा पनि उनको जोड दिए ।

‘निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति देखिएको उनको गुनासो थियो । पुराना नराम्रा कुरालाई क्षमादान दिएर बिर्सनु पर्छ । अब हामी नयाँ युगतिर जाँदैछौँ,’ प्रचण्डले भनेका थिए ‘त्यसैले भएका गल्तीहरु नदोहोरिऊन् भनी सुधार गर्नुपर्छ ।’

उनले निजी क्षेत्रलाई खुशी र सुरक्षित गर्ने तर्फ सरकार लागेको भएपनि बदमासी गर्नेलाई छुट दिइनु पर्छ, कारवाही गर्नुहुँदैन भन्ने कुरा भने जायज नभएको बताए ।

उनले आफूसँग जोडिएका भनिएकालाई पनि कारवाहीको दायरामा ल्याउने उल्लेख गरेका थिए ।

निर्माण क्षेत्रमा बदमासी गर्नेमा आफूलाई गुण्डा नाइके बताउने गणेश लामा समेत संलग्न रहेका छन् । लामा हाल प्रहरी हिरासतमा छन् ।


क्लिकमान्डु