बजार घटेपछि सेयर धितोमा ऋण लिने क्रम घट्यो




काठमाडौं । सेयर धितोमा राखेर लिइने ऋणमा लगानीकर्ताको आकर्षण कम भएको छ ।

२ बर्ष अगाडिको तथ्यांकले एक बर्षमा करिब ३ अर्ब रुपैयाँ बढेको सेयर धितो कर्जा गत आर्थिक बर्षमा करिब ४५ करोड रुपैयाँ मात्रै बढेको छ । यो तथ्यांकले सेयर धितो कर्जाको बृद्धिदर कम भएको देखाएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२/७३ असार मसान्तमा ३७ अर्ब ६५ करोड रुपैंया कर्जा प्रवाह भएको सेयर धितो कर्जा अर्थिक बर्ष २०७३/७४ असार मसान्तमा ४० अर्ब ४७ करोड रुपैंया मात्रै प्रवाह भयो । यस्तै गत आर्थिक बर्ष ०७४/७५ मा ४१ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह भयो ।

१ करोड रुपैयाँभन्दा माथि आर्थिक बर्ष २०७२/७३ मा सेयर धितोमा राखेर २० अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । आर्थिक बर्ष २०७३/७४ मा २४ अर्ब ७२ करोड रुपैयाँ र २०७४/७५ मा २४ अर्ब १८ करोड रुपैंया कर्जा प्रवाह भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै ५० लाख रुपैयाँभन्दा माथि १ करोड सम्मको कर्जा आर्थिक वर्ष ०७२/७३ मा ७ अर्ब ४० करोड रुपैयाँ, २०७३/७४ मा ६ अर्ब २३ करोड रुपैयाँ र ०७४/७५ मा ७ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

साथै, २५ लाखदेखि ५० लाखसम्मको कर्जामा आर्थिक बर्ष ०७२/०७३ मा ४ अर्ब ३२ करोड रुपैयाँ, ०७३/०७४ मा ४ अर्ब ४१ करोड रुपैयाँ तथा ०७४/०७५ मा ४ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यसरी नै २५ लाख भन्दा कमको कर्जामा आर्थिक बर्ष ०७२/०७३ र ०७३/०७४ मा ५ अर्ब १० करोड रुपैयाँ र०७४/७५ मा ५ अर्ब ४९ करोड रुपैयाँ मात्र प्रवाह भएको छ ।

यी तथ्याङ्कलाई विश्लेषण गर्दा सेयर धितोमा राखेर लिइने ऋणमा लगानीकर्ताको आकर्षण कम भएको देखिन्छ । यसरी आकर्षण किन कमी भयो त ? लगानीकर्ताहरु भन्छन्– सेयरको मूल्यमा नै कमी आएका कारणले यस्तो भएको हो ।

शंकरदेव कलेजको नजिकै रहेको अनलाइन सेक्यूरिटिजमा भेटिएका लगानीकर्ता कृष्ण रेग्मी भन्छन्–‘यो साल बजारमा बैंकको व्याज बढ्यो, तरलताको पनि अभाव भयो, सोही कारणले सेयर धितोमा राखेर लिइने कर्जामा लगानीकर्ताको आकर्षण कम भएको हो ।’

रेग्मीले अनलाइनको हल्ला राम्रैसँग चल्नु, तर सोही किसिमले बजारमा प्रभाव नदेखिएकाले समेत कर्जामा यसको असर परेको बताए । उनले बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरापनि प्रक्रियामा अल्झिरहने प्रवृत्तिले लगानीकर्तामा नयाँ जोस थप्न नसक्ने बताए ।

यसरी एनआरएनएको लगानी ल्याउने कुरामा समेत कानुनी जटिलताका कारण सम्भव नभएकाले लगानीकर्ताको ध्यान सेयर धितोमा राखेर कर्जा लिने तर्फ नगएको उनको भनाइ छ ।

यो साल बजारमा सेयरको आपूर्ति बढेको तथा उच्च पदमा आसिन व्यक्तित्वबाट बोलीको हेक्का नराखी नचाहिदो बोलेका कारण आज यस्तो परिणाम आएको उनले बताए ।

उनी भन्छन्–अहिले हामी आइपिओ, एफपिओ समेत नबिक्ने अवस्थामा पुगिसकेका छौं, आईपिओ, एफपिओ अब केही दिनमा साधारण सेयरमा परिणत हुन्छ ।

बैंकको चुक्तापूँजी २ बाट ८ मा पुर्याएको सन्दर्भ जोड्दै उनले फोर्स मर्जरले समेत धितोराख्ने कुरामा भूमिका खेलेको जानकारी दिए ।

यस्तै, अनलाइन सेक्यूरिटिजमै अर्का लगानीकर्ता शम्भूजित बलायर भेटिए । डोटी घर भई हाल काठमाडौंको जावलाखेलमा बस्दै आएका बलायर भन्छन्– ‘बजारको अवस्था भन्न सकिने खालको छैन, बजार नै धरासयी अवस्थामा रहेका कारणले किन्ने, बेच्ने, ऋण लिने भन्ने कुरामा लगानीकर्ताले ठोस निर्णय लिन सकेका छैनन् ।’

अहिले सेयरको मूल्य नै कम भएकाले यस्तो बेलामा कारोबार गर्दा लगानीकर्ता घाटामा जाने भएकाले धितो राखेर लिइने कर्जामा कमी भएको उनले बताए ।

क्रिष्टल कञ्चन्जंगामा भेटिएका लगानीकर्ता मदनश्याम अर्याल भन्छन्– ‘हामी किन्न ठिक्क परेर बस्या छौं, तर बजारको माहोल अलि स्थीर बनिसकेको छैन, बजार बढेर लगानीकर्ताको आत्मविश्वासमा वृद्धि हुने बित्तिकै सेयर धितोमा राखेर कर्जा लिनेको लाइन लाग्ने कुरामा कुनै शंका नै छ्रैन ।’

अर्यालले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए । सेयरको मूल्यमा वृद्धि भएमा लगानीकर्ता सेयर धितो राख्न आकर्षित हुने उनको धारणा छ ।

क्रिष्टल कञ्चन्जंगा मै भेटिएका लगानीकर्ता नवराज उप्रेती भन्छन्– ‘बैंकको ब्याजदर बढेकाले लगानीकर्ताको सेयर कर्जामा आकर्षण घटेको हो ।’

उप्रेतीले ११ प्रतिशतबाट १६ प्रतिशतसम्म बैंकको व्यजदर आकाशिनुले नै सेयर धितो राख्ने लगानीकर्तामा एक्कासी कमी आएको उनले बताए । चालु आर्थिक बर्षको मौद्रिक नीतिका कुरा उठाउँदै उनले सेयर बजारमा नीतिगत भन्दापनि सेयर किन्ने लगानीकर्ता कै अभाव भएकाले बजारमा आकर्षण घटेको बताए ।

आवश्यक पूर्वाधारको तयारी नगरी बजारमा हल्ला फैलिने गरेका भन्दै उनले यस्तो प्रवृत्तिको विरोध समेत गरे । बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा आफैंमा राम्रो भएपनि यो अहिलेको अवस्थामा हावादारी कुरा भएको बताए । उनले यसरी हावा कुरा गरेर भन्दापनि लगानीकर्ताको मनोबल बढ्ने वास्तविक कार्य गर्न सकेमा सेयर बजार बुलिस ट्रेनमा जाने बताए ।


क्लिकमान्डु