यस्तो गाउँपालिका, जहाँ बसाइँ सरेर जानेले ५ लाखसम्म अनुदान पाउँछन्



‘मान्छेका न्यूनतम आवश्यकता पुरा भएर स्तरीय जीवन जिउनु नै विकास हो,’ तेह्रथुमको छथर गाउँपालिका प्रमुख शन्तबीर लिम्बू (सन्तोष तिगेला) को विकास परिभाषा हो यो ।

आफ्नो गाउँपालिकाका जनताको आवश्यकता पूरा गरेर स्तरीय जिबन जिउने बनाउनका लागि अध्यक्ष लिम्बूले कृषि उत्पादन बढाउन आकर्षक योजनाको घोषणा गरिसकेका छन् ।

त्यो हो- छथर गाउँपालिकामा बसाइँ सरेर आउने जो कोहीले आफूसँग भएको व्यावसायिक योजनाका आधारमा गाउँपालिकाबाट १ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान लिन सक्नेछन् ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा छथर गाउँपालिकाले यस्तो घोषणा गरेको छ । गाउँपालिकाको यो घोषणासँगै बसाइँ सरेर गइसकेकाहरु फर्किन थालेका छन् भने देशका विभिन्न जिल्लाहरुबाट बसाइँ सरेर आउने प्रस्ताबहरु आइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।

देशभरका साढे ७ सय स्थानीय तहमध्ये अधिकांशले कर बढाएको भन्दै आलोचना भइरहेका बेला यो गाउँपालिकाले भने आफ्नो क्षेत्रभित्र व्यवसाय गर्न आउनेलाई उल्टै अनुदान दिने कार्यक्रम ल्याएको हो ।

आर्थिक वर्ष २०७५/७६ का लागि ३३ करोड ७१ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले पहाडलाई फेरि हराभरा बनाउने आफ्नो अठोट सुनाए अध्यक्ष लिम्बूले ।

‘हामीले अनुदान दिने घोषणा गरेपछि छथर छाडेर गइसकेकाहरु पनि फर्किन थालिसकेका छन्, अन्य जिल्लाबाट पनि बसाइँ सरेर आउँछु भन्ने प्रस्ताबहरु आइरहेका छन्,’ लिम्बूले क्लिकमाण्डूसँग भने, ‘यहीँ बसोबास गरिरहेका जनताले देख्न नसकिरहेका अबसरहरु बाहिरबाट बसाइँ सरेर आउनेहरुले देख्नेछन् भन्ने मेरो विश्वास हो ।’

छथर गाउँपालिकाले देशभरका अन्य स्थानीय तहको भन्दा फरक नीति अपनाएको छ । विकास तथा समृद्धिका लागि छथर गाउँपालिकाले आप्रवासनको नीति अपनाउँदै उद्यम तथा व्यवसायीक वातावरण र लगानी बढाउन अग्रसर देखिएको हो ।

लगातार जनसंख्या घटेपछि जनप्रतिनिधिको चिन्ता

पहाडबाट तराईझर्ने क्रम रोक्न नसक्दा पहाडका बस्तीहरु खाली भएका छन् । पहाडका उर्बर भूमि बाँझो भएका छन् । जनसंख्या घट्दै गएर १६ हजार ७ सय १५ मा झरेको छ ।

लिम्बूका अनुसार छथरका युवाहरु विदेश गए । विदेशबाट फर्केर तराई बसाई सरे । विदेशबाट कमाएको पैसा पनि तराईमा घर किन्न र जग्गा किन्न मात्रै लगानी गरे । यसो गर्दा पहाड शून्य भयो, दुःख गरेर कमाएको पैसा अनुत्पादक क्षेत्रमा लगानी भयो ।

यसरी जनसंख्या लगातार घट्न थालेपछि लिम्बूको पिरोल्यो । अनि कसरी बसाइँ सराइ रोक्न र जनसंख्या बढाउन सकिन्छ भनेर चिन्तन गरे उनले ।

र, यस्तो आइडिया निस्कियो- बसाइँ सरेर अउनेलाई व्यावसायिक योजनाका आधारमा अनुदान दियो भने जनसंख्या पनि बढ्छ र गाउँपालिकाको उत्पादन पनि बढ्छ ।

लगानीको सुरक्षा र ग्यारेन्टी

अध्यक्ष लिम्बूका अनुसार गाउँपालिकाले लागानीकर्ताको लगानीको पनि सुरक्षाको ग्यारेन्टी पनि गर्नेछ । त्यतिमात्रै होइन, व्यवसायीक वातावरण बनाउने र बजार निर्माणमा समेत गाउँपालिका सहयोग गर्छ ।

योजना सफल पार्नको लागि गाउँपालिकाले विभिन्न काम गरिरहेको छ । स्थानीय तहमा अव्यस्थित तवरमा सडक बनाउँदा भूःक्षयको समस्या देखिएपछि अहिले गाउँपालिकाले सडक मापदण्ड पनि बनाएको छ । मापदण्ड अनुसार नै सडक बनाउने काम भईरहेको लिम्बुले सुनाए । सडक बनाउँदा खेतियोग्य जमिन नमिचेको पनि उनले सुनाए ।

ब्यवस्थित शहरीकरण र पार्क निर्माण

आप्रवासनको नीति लिएपछि जनसंख्या बढ्छ । जनसंख्या बढेपछि सेवा सुविधा पनि चाहिन्छ । तसर्थ गाउँपालिकाले अहिले नै व्यस्थित शहरीकरणको योजना बनाएको छ । मानिसलाई घुमफिर गर्न, टहलिनको लागि पार्क पनि निर्माण गर्दै छ ।

प्रधानमन्त्री पार्कको नाम दिईएको छथर गाउँपालिकाको पार्कलाई देशभरको पर्यटकीय केन्द्र बनाउने लक्ष्य रहेको लिम्बुले सुनाए । यो पार्कको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर)को काम भईरहेको लिम्बुले बताए ।

सुरक्षित खानेपानी

छथर जिल्लाकै सबैभन्दा कम पानी भएको क्षेत्र हो । भविष्यमा बढ्ने जनसंख्याका लागि भनेर गाउँपालिकाले सुरक्षित खानेपानीको योजना लागु गरेको छ । प्रत्येक घरमा पानीको धारा पुर्याउने लक्ष्य रहेको यो योजना अन्र्तगत अहिले गाउँपालिकाका ३० प्रतिशत घरमा धारा पुगिसकेको छ ।

दुई प्रकृतिको कर, बैज्ञानिक प्रणाली

करको विषयमा पनि गाउँपालिका उदार देखिएको छ । गाउँपालिकाले दुई आधारमा कर तय गरेको छ । पहिलो श्रमसँग जोडिएको कर दोस्रो प्रत्यक्ष रुपमा श्रमसँग नजोडिएको कर ।

श्रमसँग प्रत्यक्ष जोडिएको विषयमा गाउँपालिकाले केही मात्रामा कर लगाएको छ भने प्रत्यक्ष श्रमसँग नजोडिएको विषयमा गाउँपालिकाले थोरै कर लगाएको छ । यस बाहेक सुख्खाग्रस्त क्षेत्रमा मालपोत कर मिनाह गरिएको जानकारी पनि लिम्बुले दिए ।

गाउँ फर्काउने प्रयास

छथर गाउँपालिकाबाट मात्रै १ सय ५० परिवार मोरङ, सुनसरी र झापातर्फ बसाई सरेर गएका छन् । लिम्बुलाई यी सबै परिवारलाई गाउँ फिर्ता बोलाउनु छ । पहाडमा केही छैन भन्नेहरुलाई पहाडसंग लोभ्याउनु छ । त्यही भएर उनी गाउँमा मान्छे फर्काउन मात्रै होइन गाउँको विकासमा पनि लागेका छन् ।

कृषिमै भविष्य

व्यवसायिक पशुपालन र दुग्ध उत्पादनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको छ । दुध संकलन केन्द्र स्थापना भईसकेको छ भने स्थानीय स्तरमै प्रशोधन गर्ने प्रविधि भित्र्याउन पनि गाउँपालिका लागिरहेको लिम्बुले सुनाए ।

बाख्रा पालन र अलैँची खेतीका लागि नगरपालिकाले विशेष नीति अपनाएको छ । त्यसैगरी, अकबारे खुर्सानी, तरकार, अदुवा, कुखुरापालनमा ठूलो संभावना रहेको अध्यक्ष लिम्बू बताउँछन् ।

‘हाम्रो मुख्य उद्देश्य भनेको कृषि उत्पादन बढाउनु नै हो,’ उनले भने, ‘उत्पादन नबढाइ सम्मृद्धि सम्भव छैन ।’

पर्यटनमा विशेष सुविधा

ट्रेकिङ, कोयोकिङ, क्यानोईग, बञ्जी जम्पीगजस्ता पर्यटकीय अभ्यासमा लगानी गर्नेहरुका लगि पनि गाउँपालिकाले विशेष सुविधा दिने गरेको लिम्बुले बताए ।


पुष्प दुलाल