उधारोमा टिकेको सेयर किनबेच, ब्रोकरले लगानीकर्तासँग २ अर्ब उठाउन बाँकी




काठमाडौं । तपाइलाई कुनै कम्पनीको सेयर किन्न मन लाग्यो भने पहिला ब्रोकरलाई यो कम्पनीको यति कित्ता सेयर किनिदेउ भन्नुहुन्छ ।

यसरी ब्रोकरलाई सेयर खरिदको आदेश दिने विभिन्न माध्यम र तरिका छन् । तपाइले त्यो तरिका वा माध्यम भने अपनाउनै पर्छ ।

त्यसपछि ब्रोकरले तपाइलाई सेयर किनिदिन्छ । र, नियम अनुसार त्यसको भोलिपल्ट ब्रोकरकोमा गएर तपाइले किनेको मूल्य बराबरको चेक दिनुपर्छ ।

तपाइले सेयर किन्न ब्रोकरलाई आदेश दिएको ४ दिनभित्रमा तपाइको डिम्याट खातामा सेयर आइपुग्छ ।

अब सेयर बेच्दाको तरिका हेरौं ।

तपाइलाई कुनै कम्पनीको सेयर बेच्न मन लाग्यो भने ब्रोकरलाई यति कित्ता सेयर बेच्देउ भन्नुहुन्छ । सेयर बिक्रीको आदेश दिने पनि विभिन्न माध्यम र तरिका छन् । त्यही माध्यम र तरिका अनुसार आदेश दिएपछि ब्रोकरले सेयर बेच्दिन्छ ।

सेयर विक्री भएको ३ दिनभित्रमा तपाइले पैसा पाउँनुहुन्छ ।

सेयर बेचेको छ भने भोलिपल्ट नै पैसा लिन आइपुग्ने ब्यक्ति नै सेयर किन्दा महिनौंसम्म पनि हाम्रो सम्पर्कमा नआउने गरेका उदाहरण छन्, यस्तै कारणले हामी ब्रोकरले सेयर किन्ने ब्यक्तिसँग उठाउनु पर्ने रकम साढे २ अर्ब रुपैयाँ जति छ

अब यहाँ प्रष्ट भइसक्यो । सेयर किन्नेले खरिद गर्ने बेलामा पैसा तिरेको हुदैन । र, विक्री गर्नेले पनि आफ्नो स्वामित्वको सेयर अर्काको नाममा नामसारी हुने बेलासम्म पैसा पाएको हुदैन ।

यही हो सेयरको उधारो कारोबार । सेयर खरिद विक्रीको यति लामो अभ्यास भइसकेपनि नेपाली पुँजी बजार उधारोमा नै सेयर कारोबार गरिरहेको छ ।

किन्नेले पैसा तिरेन भने के हुन्छ ?
यो प्रश्नको जवाफ सजिलो छ । सेयर किन्नेले पैसा दिएन भने पनि बिक्री गर्नेले पैसा पाउँछ । त्यो पैसा ब्रोकरले तिर्छ ।

यहाँनेर अर्काे रमाइलो पक्ष पनि छ । त्यो के हो भने सेयर किन्नेले पैसा तिरेन भने पनि बेच्नेले पैसा पाउँछ । किन्नेले सेयरको पैसा तिरेन भने पनि सेयर भने पाउँछ ।

त्यो कसरी भने किन्नेले पैसा तिरेन भनेपनि बेच्नेलाई ब्रोकरले पैसा दिन्छ । किन्ने ब्यक्तिले पैसा नदिदा पनि उसको नाममा सेयर आइसकेको हुन्छ । र, रमाइले पक्ष के हो भने एउटाले सेयर बेच्छ, पैसा लिन्छ, अर्काेले सेयर पाइसक्छ, पैसा तिरेको हुदैन, पैसा ब्रोकरले तिर्छ । अहिलेसम्मको नेपाली बजारमा चलेको सेयर कारोबारको अभ्यास यही हो ।

यसरी पनि चल्छ त बजार ?

‘चलेको छ, विश्वासमा चलेको छ,’ एक ब्रोकरले भने ।

ती ब्रोकरले भनेको ‘विश्वास’ले कानुनी बैधता पाएको हुन्न । सेयर किन्नेले पैसा तिरेन भने त्यस्ता ब्यक्तिसँग ब्रोकरले पैसा उठाउने गतिलो ब्यवस्था नियामकले गरिदिएको छैन ।

कति पुग्यो ‘विश्वास’को मूल्य ?
‘सेयर किन्नेले पैसा दिएन भने पनि बेच्नेलाई हामीले पैसा दिनै पर्छ, नदिए हामीलाई कारोबारमा प्रतिबन्ध लाग्छ, यसैले ऋण खोजेर भएपनि पैसा दिने गरेका छौं,’ अर्का एक ब्रोकरले भने ।

उनले पनि विश्वासकै आधारमा सेयर खरिद अर्डर हालिदिने गरेको बताए ।

‘सेयर बेचेको छ भने भोलिपल्ट नै पैसा लिन आइपुग्ने ब्यक्ति नै सेयर किन्दा महिनौंसम्म पनि हाम्रो सम्पर्कमा नआउने गरेका उदाहरण छन्, यस्तै कारणले हामी ब्रोकरले सेयर किन्ने ब्यक्तिसँग उठाउनु पर्ने रकम साढे २ अर्ब रुपैयाँ जति छ,’ ती ब्रोकरले ‘विश्वास’को आजको मूल्य सुनाए ।

यसरी नै चल्ने हो त सेयर बजार ?
अहिले हाम्रो बजारमा जुन प्रकारका सेयरको जे जसरी कारोबार भइरहेको छ, यस्तो प्रकृतिको सेयरको खरिद विक्रीमा भारतमा अर्कै ब्यवस्था छ ।

भारतको सेयर बजार पूर्ण स्वचालित छ । त्यहाँ सेयर किन्न अर्डर हाल्ने वित्तीकै आफ्नो बैंक खातामा रहेको पैसा पर्याप्त छ छैन भन्ने परीक्षण हुन्छ । खातामा भएको पैसाले सेयर किन्न पुग्ने अबस्था रह्यो भने मात्रै सेयर खरिद अर्डर स्वीकृत हुन्छ । र, त्यो बराबरको रकम बैंकले एयरमार्क गरेर राख्छ । पछि राफसाफमा त्यही पैसा प्रयोग हुन्छ ।

श्रीलंकामा फरक ब्यवस्था छ । त्यहाँ पनि सेयर किनेको ३ दिनभित्रमा पैसा दिए हुन्छ । त्यो अवधिसम्ममा पैसा तिर्न सकिएन भने ब्रोकरसँग यतिसमय भित्रमा तिरिसक्छु भनेर सयम माग्नुपर्छ । तर, त्यसरी मागिएको समयसम्मको ३६ प्रतिशत ब्याज तिर्नुपर्छ ।

यसरी मागिएको सयमभित्रमा पनि पैसा तिर्न सकिएन भने ब्रोकरले सो सेयर बेचेर ३६ प्रतिशत ब्याजसहित आफ्नो पैसा लिन पाउँछ । त्यसरी पैसा लिन सो सेयरले पुगेन भने सो ब्यक्तिको नाममा भएको अर्काे कम्पनीको वा अरु सेयर बेचेर पनि ब्रोकरले पैसा उठाउँछ ।

स्वचालित प्रणालीमा गएका प्राय सबै देशमा भारतको जस्तै ब्यवस्था छ ।

हाम्रो देशमा पनि सेयर किनेर पैसा नतिर्ने लगानीकर्तालाई कालोसुचीमा राखेर सेयर खरिद विक्री गर्नै नपाउने ब्यवस्था गर्नुपर्ने माग केही ब्रोकरले गर्दै आएका छन् । अधिकांश ब्रोकरको माग भने पैसा नतिर्ने सेयरधनीबाट पैसा उठाउन सक्ने बलियो कानुनी आधार बनाउनु पर्ने भन्ने छ ।

ब्रोकरको पनि कमजोरी
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यो बर्ष मात्रै धितोपत्र कारोबार संचालन नियमावली कार्यान्वयनमा ल्याएको छ । सो नियमावलीले ब्रोकरलाई केही संरक्षण र सेयर किनेर पैसा नै नतिर्ने प्रवृत्ति रोक्न केही कदम चालेको भने छ ।

सो नियमावलीको दफा ८ मा सेयर किन्न आदेश दिने ग्राहकसँग सेयर किनिदिनुभन्दा अगाडी नै २५ प्रतिशत रकम लिनु पर्ने भन्ने ब्यवस्था छ । तर, बाँकी रहेको ७५ प्रतिशत रकम सेयर किन्ने ब्यक्तिले तिरेन भने के गर्ने भन्ने ब्यवस्था सो नियमावलीमा छैन ।

तर, ब्रोकरले यस्तो २५ प्रतिशत रकम पनि अग्रिम रुपमा लिने गरेका छैनन् ।


यस्तै सो नियमावलीको दफा १० ले सेयर किन्ने ब्यक्ति र ब्रोकरबीच सेयर कारोबार सम्झौता गर्ने ब्यवस्था गरेको छ । सो ब्यवस्था कार्यान्वयन गर्ने हो भने पनि सेयरको उधारो कारोबार गर्ने प्रबृत्ति केही कम हुन सक्छ ।

उधारो कारोबारले प्रणालीमा के समस्या ल्यायो ?
पहिलो कुरा त लगानीकर्ता वा सेयर ब्रोकर यही प्रणालीका अंग भएकोले यस्ता पक्षबीच हुन सक्ने विवाद समाधानको लागि नियामक निकाय (धितोपत्र बोर्ड) ले आवश्यक कानुनी ब्यवस्था गर्नु गराउनु पर्छ ।

दोस्रो कुरा के हो भने यस्तो उधारो कारोबारले हाम्रो सेयर बजारको वास्तविक कारोबार अंक कति हो भन्ने नै तय भएन ।

‘हाताहाती पैसा दिएर मात्रै सेयर किन्न पाइने ब्यवस्था गर्ने हो भने अहिलेसम्म हामीले दैनिक, साप्ताहिक वा मासिक जति रकम बराबरको सेयर किनबेच भयो भन्छौं, त्यसको ५० प्रतिशत मात्रै हुन्छ, यो उधारो कारोबार प्रणालीले जति अनावश्यक रुपमा बढी कारोबार भएको तथ्यांक देखाएर हाम्रो बजारको वास्तविक अंक थाहा पाउनै दिएन,’ सेयर विश्लेषकहरुको भनाइ छ ।


क्लिकमान्डु