एकवर्षमा सेयर बजारमा लगानीकर्ताले गुमाए ४ खर्ब २१ अर्बको सम्पत्ति



काठमाडौं । एकवर्षमा सेयर लगानीकर्ताले ४ खर्ब २१ अर्ब रुपैयाँ बराबरको सम्पत्ती गुमाएका छन् ।

२०७४ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कुल बजार पूँजीकरण १८ खर्ब ५६ अर्ब रुपैयाँ थियो । २०७५ साल असारमा भने बजार पूँजीकरण १४ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार एकवर्षको अवधीमा लगानीकर्ताले ४ खर्बभन्दा बढी रकम गुमाएको बताए ।

‘बजारपूँजीकरण विभिन्न कारणले घट्न सक्छ तर जसरी घटेपनि ४ खर्ब बजारपूँजीकरण घटनु वास्तवमै राम्रो कुरा होइन,’रौनियारले भने ।

रौनियारले बजार पूँजीकरण घटनुमा केही भित्रि तथा केही बाहिरी कारण समेत हुने बताए । उनले बजारमा प्रत्यक्ष प्रभाव पार्ने नीगिगत कुराहरु भित्रि कारणमा पर्ने भएपनि लगानीकर्ताको त्रास र बजारको नकारात्मक हल्ला बाहिरी कारणमा पर्ने बताए ।

एकवर्षको अवधीमा बजार पूँजीकरण २२ प्रतिशतले घटेको छ । पछिल्ला दुईवर्षमा नेपालको कुल ग्राहस्र्थ उत्पादन(जिडिपी)को आकार बढ्यो । २०७३ असार मसान्तमा जिडिपीको आकारको अनुपातमा बजार पूँजीकरण ८३.९ प्रतिशत थियो ।

२०७४ असार मसान्तमा ७० तथा यो वर्ष ४७ प्रतिशतमा घटेको छ । पछिल्ला दुईवर्ष जिडिपीको आकार बढ्यो तर,त्यसको विपरित सेयर बजार भने ओरालो लाग्यो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजीबृद्धिको नीति लियो । लगानीकर्ता हकप्रद सेयरमा हौसिएर दोस्रो बजारमा सेयर मूल्यलाई उच्च बनाए । जसको कारण राम्रा नभएका कम्पनीले पनि हकप्रद जारी गरे । बोसन र हकप्रदको बाढी आएपछि सेयर बजारमा मागभन्दा आपूर्ति बढ्दा सेयर बजार ओरालो लाग्यो ।

घट्ने टे«ण्डलाई बैंकको ब्याजदरले मद्दत पुग्यो । सेयर बजारमा नियामकले लिएका नीतिले पनि बजारमा लगानीकर्ताको मनोबल खस्केको छ ।

बजार घटेको अवस्थामा सरकारको प्यान लगाउने,भ्याट लगाउने तथा बोनस र हकप्रदमा नै पूँजिगत लाभकर लगाउने जस्ता निर्णयले सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानलाई कमजोर बनाएको रौनियार बताउँछन् ।

नेप्से परिसूचकलाई हेर्ने हो भने २०७३ असार मसान्तमा १७१८ बिन्दु थियो । यस्तै २०७४ असार मसान्तमा १५८२ बिन्दुमा आयो भने २०७५ असार मसान्तमा १२१२ बिन्दुमा सेयर बजार झर्यो ।

नेप्से परिसूचक र बजार पूँजीकरण घटेपनि नेप्सेमा सूचिकृत भएको कित्ता भने पछिल्लो तीनवर्षमा बढ्दो क्रममा छ । २०७३ असार मसान्तमा २ करोड १० लाख कित्ता सेयर सूचिकृत थियो । २०७४ असार मसान्तमा आइपुग्दा सूचिकृत कित्ता २ करोड ८६ लाख पुग्यो । २०७५ असार मसान्तमा आउदा ३ करोड ५९ लाख कित्ता सूचिकृत भएको छ ।

बैंक तथा वित्तीय संस्था मर्जरमा गएको कारण नेप्सेमा सूचिकृत भएका कम्पनीको संख्या भने घटेको छ । २०७३ असार मसान्तसम्ममा २३० वटा कम्पनी सूचिकृत थिए । २०७४ मा २०८ मा झर्यो भने गत असार मसान्तमा आइपुग्दा सूचिकृत हुने कम्पनीको संख्या १९६ मा झरेको छ ।


क्लिकमान्डु