अर्थ समिति बैठकमा गभर्नर नेपालले यसो भने




काठमाण्डौ । प्रतिनिधिसभाकोे अर्थ समितिले अहिले बैंकिङ क्षेत्रको नियामक निकायसंग छलफल गरिरहेको छ । मंगलबारको छलफलमा अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई बोलाएको थियो ।

समितिमा राष्ट्र बैंकले गरेका काम कारबाहीको जानकारी गराउन तथा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल आफ्नो टोली सहित पुगेका थिए ।

छलफलको सुरुवातमा गर्भनर नेपालले राष्ट्र बैंकले गरेका काम काराबाही र देशको आर्थिक अवस्थाको विषयमा जानकारी गराए ।

दुई वर्षदेखि ६ प्रतिशत भन्दा बढी लगातार आर्थिक बृद्धि भईरहेकोले अर्थतन्त्र सकारात्मक रहेको बताए । राष्ट्र बैंकले संघीयता अनुरुप वित्तीय संघसंस्थालाई सबै तहमा पुर्याउन राष्ट्र बैंक लागि परेको बताएका थिए ।

वाणिज्य बैंकहरु अब १ सय ६३ स्थानीय तहमा मात्रै पुग्न बाँकी रहेको उनले जानकारी दिए । बाँकी रहेका स्थानमापनि छिटै वाणिज्य बैंक पुर्याउने तयारीमा राष्ट्र बैंक रहेको जानकारी उनले अर्थ समितिलाई दिएका थिए ।

यसबाहेक उनले हालैमात्र बजारमा ४८ अर्ब रुपैयाँ तरलता प्रवाह भएको समेत जानकारी गराएका थिए । प्राथमिक क्षेत्रमा लगानी र कर्जा जारी गर्न पुनः कर्जा कोषको क्षमता ३५ अर्ब पुर्याइएको जानकारी उनले अर्थ समितिलाई गराएका थिए ।

कृषि क्षेत्रमा १ सय ५२ अर्ब रुपैयाँ लगानी भएको बताउँदै उत्पादनमूलक क्षेत्रमा ४ सय ८८ अर्ब लगानी भएको जानकारी उनले अर्थ समितिलाई गराए ।

समितिका सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले हाल बैंकमा छोटो समयका लागि निक्षेप जम्मा हुने गरेको बताए । तर, नेपालाई दीर्घकालीन लगानी आवश्यक रहेको बताउँदै दीर्घकालीन लगानीका लागि दीर्घकालीन निक्षेप बढाउने तर्फ राष्ट्र बैंक लाग्नुपर्ने सुझाव पाण्डेको थियो ।

समितिका सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले हजार र ५ सयका नोट बन्द गर्नुपर्ने आवाज उठाएपछि गर्भनर नेपालले डिमनिटाईजेशन निकै सेन्सेटिभ र गम्भीर मुद्दा भएकोले यसले अर्थतन्त्रमा दीर्घकालसम्म नकारात्मक असर पर्ने जवाफ दिएका थिए ।

गर्भनर नेपालले भने ‘डिमनिटाईजेशन गम्भीर विषय हो, यसले विश्व समुदायमा नेपाली पैसाको विश्वास घटाउँछ ।’

उनले हालको लागि डिमनिटाईजेशनतर्फ नसोच्नु नै उत्तम हुने जवाफ समितिलाई दिएका थिए । बस्नेत कै प्रश्नको जवाफ दिदै उनले राष्ट्र बैंकसंग २८ अर्ब रुपैयाँ बराबरको सुनचाँदी रहेको बताए ।

यसबाहेक समिति सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले गाउँलाई आर्थिक क्रियाकलापका केन्द्र बनाउन राष्ट्र बैंकले काम गर्नुपर्ने औँल्याएका थिए । उनले हाल बढिरहेको व्याजदरले व्यापारमा संकुचन आउँदा आर्थिक विकासमा बाधा पुग्नेतर्फ संकेत गर्दै राष्ट्र बैंकले व्याजदर घटाउन पहल गर्नुपर्ने बताए ।

निक्षेपकर्ता र लगानीकर्ताले पाउने तथा लिने व्याजदर मिलाउन संसारभरका केन्द्रीय बैंकको चुनौति रहेको बताउँदै गर्भनर नेपालले भने–‘राष्ट्र बैंकले व्याजदर सन्तुलित बनाउन काम गरिहरहेको छ, अर्को कुरा हामीले गएको दुई वर्षयता लगातार ६ प्रतिशत भन्दा बढी आर्थिक बृद्धि हासिल गरेका छौ, जसले हाम्रो अर्थतन्त्र सकारात्मक दिशातर्फ रहेको संकेत गर्छ ।’

सबै स्थानीय तहमा वाणिज्य बैंक नपुगेको प्रश्न समितिमा बारम्बार दोहोरिएपछि उनले पूर्वाधार, सुरक्षा र प्रविधि सबै स्थानीय तहमा नपुगेका कारण सबै तहमा वाणिज्य बैंक पठाउन नसकिएको जवाफ दिएका थिए ।

यतिमात्रै होइन कतिपय स्थानीय तहमा पुगेका वाणिज्य बैंक त्यहाँका राजनीतिक दलले आफ्ना मान्छे भर्ना गर्न दबाव दिएपछि डराएको समेत बताएका थिए । यस्तै कारणले कतिपय स्थानबाट बैंकले शाखा सारेको समेत उनले बताए ।

लगानीकर्तालाई आकर्षित गर्नको लागि राष्ट्र बैंकले सहज वातावरण बनाईरहेको उनले बताएका थिए । यस बाहेक अन्तराष्ट्रिय लगानी नेपाल भित्र्याउनका लागि अन्तराष्ट्रिय मान्यतापनि पच्छ्याउनु पर्ने बताएका थिए । ठूला लगानीकर्ताको लागि हेजिङको प्रक्रियापनि राष्ट्र बैंकले थालेको समितिलाई जानकारी दिएका थिए ।

अहिले देशको ढुकुटीमा १ सय ७८ अर्ब रुपैयाँ रहेको समेत गभर्नर नेपालले जानकारी गराएका थिए । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको रिस्क प्रोफाईल तयार गरेकाले उनीहरुले गरेका लगानी तथा अन्य विषय पारदर्शी बताए ।


क्लिकमान्डु