एभरेष्ट चिनी मिलले २ मेगावाट बिजुली प्राधिकरणलाई बेच्ने, प्रति युनिट ८ रुपैयाँ ४० पैसामा सम्झौता



काठमाडौं । एभरेष्ट चिनी मिल प्राधिकरणलाई विद्युत बेच्ने तयारीमा रहेको छ । एभरेष्ट मिलले उखुको खोस्टाबाट विद्युत उत्पादन गरी पहिलो चरणमा प्राधिकरणलाई २ मेगावाट विद्युत परीक्षणका लागि दिन लागेको हो ।

चिनी उत्पादक संघका अध्यक्ष तथा एभरेष्ट मिलका अध्यक्ष शसिकान्त अग्रवालले जाडोको ४ महिना चिनी मिलबाट नै प्राधिकरणलाई १३ मेगावाटसम्मको विद्युत दिन सक्ने क्षमता भएको बताए ।

उनले चिनी उद्योगहरुले उखुको खोस्टाबाट विद्युत उत्पादन गरी आफ्नो मिल चलाउने भएकाले त्यसबाट नै विद्युत उत्पादन गरी प्राधिकरणलाईपनि दिने तयारीमा रहेको बताए ।

‘हामीले आफै खोस्टोबाट बोइलरमा बालेर विद्युत उत्पादन गर्छौं, ९ मेगावाट हामीले बिजुली उत्पादन गर्दै आएका छौँ, त्यसबाट २ मेगावाट प्राधिकरणलाई परीक्षणका लागि दिने तयारीमा छौँ, त्यो सफल भयो भने हामीले त्यसबाट १३ मेगावाटसम्म विद्युत दिन सक्छौँ,’ अग्रवालले भने ।

उनले जाडोको ४ महिना मात्र प्राधिकरणलाई विद्युत बेच्ने बताए । यसकालागि प्राधिकरणसँग सम्झौता भएको उनले जानकारी दिए । ‘प्रति युनिट ८ रुपैयाँ ४० पैसामा सम्झौता भएको छ,’ अग्रवालले भने ।

हाल नेपालमा १३ चिनी उद्योग छन् । भन्सारमा चिनी आयात रोक लगाइएन भने अर्को वर्ष ३÷४ वटा उद्योग बन्द हुन सक्ने उनले बताए ।

नेपालमा गत आर्थिक वर्ष १ लाख ८० हजार मेट्रिकटन उत्पादन भएको छ । नेपालको राष्ट्रिय डिमान्ड २ लाख ५० हजार मेट्रिकटन चिनी रहेको छ ।

सरदर २०\३० हजार मेट्रिकटन चिनी दशैतिहारको ताकामा सटेज हुन्छ । त्यसबेला भारतबाट आयात भएका चिनी महंगो मूल्यमा बिक्री हुने गरेका छन् ।
यो वर्ष चिनीको अन्तराष्ट्रिय मूल्य घटेको छ, तर नेपालमा चिनीको मूल्य बढेको उनले बताए ।

उनले उखुको मूल्य सरकारले तोक्ने गरेको, तर चिनीको मूल्य नतोक्दा चिनीमा उद्योगहरुले घाटा बेहोर्नु पर्ने अवस्था आएको बताए ।

अग्रवालले सरकारसँग चिनीको भन्सार मूल्य बढाउन माग गर्दा २५ प्रतिशतबाट ३० प्रतिशत पुर्याएपनि चिनी आयात नरोकिएको बताए । भारतले भन्सार मूल्य १ सय प्रतिशत नै पुर्याउँदा समेत नेपालमा भन्सार मूल्य जम्मा ३० प्रतिशत बढाएकोमा उनले आलोचना गरे ।

भन्सार मूल्य कम भएकै कारण भारत र पाकिस्तानले चिनी आयात भएको उनले बताए । हाल नेपालमा सरकारले उखुको न्यूनतम मूल्य ५ सय ३६ रुपैयाँ तोकेपनि किसानले ५ सय ३१ रुपैयाँ मात्र पाएका छन् ।


क्लिकमान्डु