कम्पनीका संचालकले एउटै बैठकको १ लाखसम्म भत्ता लिएपछि अर्थमन्त्रालयले लगायो अंकुश




काठमाडौं । कम्पनीका संचालकहरुले संचालक समिति बैठकको भत्ता स्वरुप मोटो रकम लिन थालेपछि अर्थमन्त्रालयले अंकुश लगाएको छ ।

केही कम्पनीका संचालकहरुले एउटै बैठकको भत्ता १ लाख रुपैयाँसम्म लिएको पाएपछि अर्थमन्त्रालयले आयकर ऐनमा नै संसोधन गरेर यस्तो भत्तालाई आयकरको दरसँग समायोजन गरेको छ ।

गत आर्थिक बर्षसम्म बोर्ड अफ डाइरेक्टरको बैठक भत्तामा जति भत्ता लिएपनि त्यस्तो रकम आयकरसँग समायोजना गर्ने ब्यवस्था थिएन । कानुनको यही कमजोरीबाट फाइदा लिएको भन्दै अर्थमन्त्रालयले प्रतिबैठक २० हजार रुपैयाँभन्दा बढी लिनेहरुले कर कार्यालयमा कर विवरण बुझाउनु पर्ने र सोही विवरण अनुसार बार्षिक आयको अनुपातमा कर तिर्नुपर्ने ब्यवस्था गरिएको हो ।

यसअघि जति रकम बैठक भत्ता लिएपनि १५ प्रतिशत स्रोतकट्टी (टीडीएस) गर्ने र सो १५ प्रतिशतलाई नै अन्तिम कर मान्ने कानुनी ब्यवस्था थियो ।

आयकर ऐनको दफा ९२ मा अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी सम्बन्धि ब्यवस्था छ ।

पूरानो ब्यवस्था

सो ब्यवस्थाको उपदफा (ज) मा गत आर्थिक बर्षसम्म ‘बैठक भत्ता, पटके रुपमा अध्यापन गराए वापतको भुक्तानी’ भनिएको छ । यो भनेको बैठक भत्ता जति लिए पनि त्यसलाई आयकरको सीमासँग समायोजन गर्नुपर्दैन भन्ने हो ।

नयाँ ब्यवस्था

नयाँ आर्थिक ऐनमा आयकरको सो उपदफा संसोधन गरिएको छ । नयाँ ब्यवस्था अनुसार ‘प्रतिबैठक बीस हजार रुपैयाँसम्मको बैठक भत्ता, पटके रूपमा अध्यापन गराए वापत, प्रश्नपत्र तयार गरे वा उत्तर पुस्तिका जाँच गरे वापतको भुक्तानी’ भनिएको छ । यसको अर्थ प्रतिबैठक २० हजार रुपैयाँभन्दा बढी बैठक भत्ता लिनेले त्यस्तो आम्दानीलाई आयकरको सीमासँग समायोजन गरेर सोही अनुसार कर तिर्नुपर्छ भन्ने हो ।

कति आम्दानी हुनेले कति तिर्नुपर्छ कर ?
सरकारले यो बर्षदेखि करयोग्य आयको सीमा परिवर्तन गरेको छ । गत आर्थिक बर्षसम्म १५ र २५ प्रतिशतको दर भएपनि यो बर्षदेखि १०, २० र ३० प्रतिशत करको दर छ ।

नयाँ ब्यवस्था अनुसार अविवाहित ब्यक्तिको बार्षिक ३ लाख ५० हजार रुपैयाँसम्मको आम्दानीमा बार्षिक १ प्रतिशत आयकर तिर्नुपर्छ ।

विबाहित ब्यक्तिको हकमा बार्षिक ४ लाख रुपैयाँसम्मको आम्दानीमा बार्षिक १ प्रतिशत आयकर तिर्नुपर्छ ।

अविवाहितले बार्षिक तलब ३ लाख ५० हजार रुपैयाँभन्दा बढी तर ४ लाख ५० हजार रुपैयाँसम्म आम्दानी भए ३ लाख ५० हजार रुपैयाँसम्मको ३ हजार ५ सय रुपैयाँ र ३ लाख ५० हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयक तिर्नुपर्छ ।

विवाहित ब्यक्तिले भने बार्षिक ४ लाख रुपैयाँभन्दा बढी र ५ लाख रुपैयाँसम्मको करयोग्य आयमा ४ लाख रुपैयाँसम्मको ४ हजार रुपैयाँ र ४ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर तिर्नुपर्छ ।

अविवाहित ब्यक्तिले बार्षिक ४ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी भए ४ लाख ५० हजार रुपैयाँसम्मको १३ हजार ५ सय रुपैयाँ र ४ लाख ५० हजार रुपैयाँभन्दा बढी करयोग्य आयको थप २० प्रतिशत आयकर तिर्नुपर्छ ।

विवाहितको हकमा बार्षिक ५ लाख रुपैयाँभन्दा बढी भए ५ लाख रुपैयाँसम्मको १४ हजार रुपैयाँ र ५ लाख रुपैयाँभन्दा बढी तलबको थप २० प्रतिशत आयकर तिर्नुपर्छ ।

तपाइ अविवाहित हो र बार्षिक तलब ६ लाख ५० हजार रुपैयाँभन्दा बढी र २० लाख रुपैयाँसम्म आम्दानी छ भने ६ लाख ५० हजार रुपैयाँसम्मको ५३ हजार रुपैयाँ र ६५० हजार रुपैयाँभन्दा बढी आम्दानीको ३० प्रतिशतले हुन आउने रकम थप आयकर तिनुपर्छ ।

विवाहित हो र बार्षिक आम्दानी ७ लाख रुपैयाँभन्दा बढी तर २० लाख रुपैयाँसम्म छ भने ७ लाख रुपैयाँसम्मको ५४ हजार रुपैयाँ र ७ लाख रुपैयाँभन्दा बढी आम्दानीको ३० प्रतिशत रकम थप गरेर आयकर तिर्नुपर्छ ।

अविवाहित हो भने र बार्षिक आम्दानी २० लाख रुपैयाँभन्दा बढी छ भने बढी भएजति करयोग्य आयको ३० प्रतिशत र त्यसको थप २० प्रतिशत अतिरिक्त आयकर तिर्नुपर्ने भएको छ ।

विवाहित हो भने र बार्षिक आय २० लाख रुपैयाँभन्दा बढी छ भने आयक रकमको ३० प्रतिशत र त्यसको थप २० प्रतिशत अतिरिक्त कर तिर्नुपर्छ ।


क्लिकमान्डु