ओटीसीमा कम्पनीहरुको आकर्षण, सरकारलाई १ करोड लाभकर,नेप्सेलाई १८ लाख र धितोपत्र बोर्डलाई १ लाख आम्दानी



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संचालन गरेको ओभर दि काउन्टर(ओटिसी) मार्फत कारोबार गर्न कम्पनीहरु आकर्षित देखिएका छन् ।

गत आर्थिक वर्षमा ५१ कम्पनीको स्वामित्व परिवर्तन ओटिसी मार्फत भएको छ ।
ओटिसीमा ५१ कम्पनीले कारोबार गर्दा नेप्सेले १८ लाख रुपैयाँ कमिशन प्राप्त गरेको छ भने धितोपत्र बोर्डले १ लाख ८७ हजार रुपैयाँ शुल्क लगेको छ ।

ओटिसी मार्फत भएको कारोबारबाट सरकारले १ करोड १० लाख ९९ हजार रुपैयाँ पुँजीगत लाभकरबाट संकलन गरेको नेप्सेको तथ्यांकमा देखिन्छ ।

नेप्सेमा ५१ कम्पनीले ओटिसी मार्फत कारोबार गरेपनि १६ कम्पनीको कारोबारमा मात्र सरकारले पुँजीगत लाभकर प्राप्त गरेको छ । अन्य कम्पनीको सेयर कारोबार प्रतिकित्ता एक सय रुपैयाँ भएको हुँदा सरकारले पुँजीगत लाभकर प्राप्त गर्न सकेको छैन ।

जसमा सबैभन्दा बढी लाभकर स्मार्ट च्वाइस टेक्नोलोजीको कारोबारबाट ९५ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारले प्राप्त गरेको छ । स्मार्ट च्वाइसको सेयर प्रतिकित्ता ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । स्मार्ट स्वाइसको कारोबारमा नेप्सेले १ लाख ४७ हजार रुपैयाँको कमिसन प्राप्त गरेको छ भने धितोपत्र बोर्डले १४ हजार रुपैयाँ प्राप्त गरेको छ ।

ओटिसी कारोबारबाट सबैभन्दा बढी नेप्सेलाई कमिसन दिने कम्पनीमा माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेको छ । प्रतिकित्ता एक सय रुपैयाँको दरले भएको कारोबारबाट नेप्सेले ५ लाख २५ हजार रुपैयाँ कमिसन पाएको छ ।

ओटिसीमा अहिले ८१ वटा कम्पनी दर्ता भएको नेप्सेले जानकारी दिएको छ ।
ओटिसीमा हुने कारोबारमा भने नपत्यादो रुपमा परिवर्तन आउँने विज्ञहरु बताउँन् । ओटिसि कारोबारमा अनुभव कमाएकाहरु विशेष गरेर यसको नतिजामा अधिकतम हेरफेर हुन्छ भन्न रुचाउँछन् ।

यसरी नै केही अनुभवी भन्छन् – ओटिसिबाट गरिने कारोबार भनेको घर जग्गा किनेको जस्तै हो । मालपोतमा यो महिना जति घरजग्गा बिक्री भयो त्यसलाई नै आधार मानेर अर्को महिनाको नतिजा आकलन गर्दा धेरै नै हेरफेर हुन्छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेका पब्लिक कम्पनी जसले सार्वजनिक सेयर निष्कासन गरेका छैनन् त्यसलाई ओटिसीमा दर्ता बढाउने तयारी धितोपत्र बोर्ड र नेप्सेको छ । अघिल्लो वर्ष ओटिसी कारोबारलाई आकर्षित गर्नको लागि कमिसन शुल्क समेत घटाइएको थियो ।

के हो ओटिसी

सेयर बजारमा ब्रोक्ररको सहयोग बिना सिधै स्टक एक्सचेन्ज मार्फत कारोबार गर्न सकिने प्रणालीलाई ओटिसी भनिन्छ ।

नेप्सेले सूचिकरणबाट हटाएका पब्लिक सेयर जारी नगरेका कम्पनीको कारोबार ओटिसीमा हुने गरेको छ । विदेशमा यस्तो बजार निकै लोकप्रिय हुन्छ । खासगरी पब्लिक सेयर जारी नगरेका कम्पनीले स्वामित्व परिवर्तनको लागि ओटिसीलाई रोज्ने गर्छन् ।


क्लिकमान्डु