सेयर बजारमा उत्साहित हुँदै युवापुस्ता, विद्यार्थी जीवनबाटै लगानी



काठमाडौं । २४ वर्षे संरचना चौधरीले सेयर बजारमा लगानी गर्न थालेको ३ बर्ष भयो । रिलायबल डेभलपमेन्ट बैंकको ८५ कित्ता सेयर खरिद गरेर उनले सेयर बजारमा प्रवेश गरेकी हुन् ।

कलेजमा पढ्दै गर्दा उनले सेयर बजारमा प्रवेश गरेर निकै कुरा जान्ने मौका समेत प्राप्त गरिन् ।

विभिन्न कम्पनीको सेयर थोरै थारै कित्ता किनेर सेयर बजारमा प्रवेश गर्दा घाटा व्यहोर्नु पर्ने अवस्था नआउने उनको बुझाई छ ।

मोरङ झोराहटकी चौधरी हाल कलंकी बस्छिन् । उनी पढाईसँगै काठमाण्डौ कंलकी मै एक कम्पनीमा लेखापालको कामपनि गर्छिन् । सोही कार्यालयका प्रमुखको सल्लाहमा उनले यसरी सेयर बजारमा प्रवेश गरेको बताउँछिन् । पछिल्लो समय भने संरचना कै सल्लाहमा उनको बुबा समेत सेयर बजारमा सक्रिय रहँदै आएका छन् ।

यतिखेर उनले लक्ष्मी बैंक, कन्काई विकास बैंक, गरिमा, भार्गव, बरुण हाइड्रो लगायतका कम्पनीको सेयर खरिद गरेकी छिन् । पहिल्लो समय भने उनले एनएमवीको एफपिओ १० कित्ता प्राप्त गरेकी छिन् ।

सेयर बजारबाट आफू सन्तुष्ट रहेको तर्क गर्छिन् उनी । आफूले कम्पनी हेरेर कारोबार गर्ने गरेको तथा अरुलाई समेत त्यस्तै गर्न सल्लाह दिन्छिन् । सेयर कारोबार गर्दा तीन–चार दिन भित्र रकम नै पाउन सकिने पक्ष उनलाई साह्रै चित्त बुझ्दो लाग्ने गर्छ ।

डाईनामिक सेक्यूरिटिजबाट आफ्नो कारोबार गरिरहेकी चौधरीले सेयर बजारमा गृहिणी तथा महिला सहभागिता कम रहेको जनाइन् ।

त्यस्तै, अर्का युवा लगानीकर्ता हुन् सागर पोखरेल । उनी २४ बर्षको उमेरदेखि सेयर बजारमा प्रवेश गरेका हुन् । उनी पनि बिधार्थी जीवनबाटै यो क्षेत्रमा प्रवेश गरे । एनएलआईसी इन्स्योरेन्स, गुराँस इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीमा एकसाथ प्रवेश गरेको हुन् ।

लालबन्दी सर्लाही घर भएका सागर हाल भक्तपुर ठिमीमा बसोबास गर्दै आएका छन् । सेयर बजार हल्लाको भरमा खेती गर्ने ठाउँ होइन–उनले भने ।

बजार घट्दो अवस्थामा रहँदा नयाँ लगानीकर्ताको लागि यो अवसर रहने पोखरेल बताउँछन् । सेयर बजारमा आफ्नै किसिमको विज्ञान रहेको जनाउँदै कागले कान लग्यो भन्दा कागको पछाडि दौडेर होईन आफ्नो कान छाम्ने लगानीकर्ता सेयर बजारमा लाग्न आवश्यक रहेको जानकारी दिए । अहिले उनी २७ वर्ष पुगे, उनले बरुण हाईड्रो र नबिल बैंकको समेत सेयर खरिद गरेका छन् ।

प्रभु बैंकको धार्के शाखामा कार्यरत रहेका उनले नयाँ लगानीकर्तालाई आजको भोलि नतिजा हेर्ने भन्दापनि दीर्घकालीन सोच राखेर सेयर बजारमा प्रवेश गर्न सल्लाह दिए ।

बजार बन्द भएको दिन सेयर खरिद गर्न गएको अनुभव सुनाउँदै उनले पर्याप्त ज्ञान लिएरमात्र बजारमा प्रवेश गर्नु उचित हुने बताए ।

पहिलो पटक आफ्नो बुबा मार्फत उनी सेयर बजारमा प्रवेश गरेका हुन् । यसपछि भने उनी आफैं सक्रिय रहे । इन्स्योरेन्स कम्पनीको सेयर सप्लाई बजारमा थोरै रहेको उनलाई महसुस छ । त्यसैले थोरै मात्रामा नेप्से परिसूचकमा आउने परिवर्तनलेपनि यसमा असर गर्ने उनको बुझाई छ । बिस्तृत अध्ययन गरेर यसरी असर पार्ने कम्पनीमा नै सेयर हाल्दा राम्रो हुने उनले तर्क गरे ।

सेयर उठाउन मौका चिन्नु पर्ने भन्दै अहिले जतिको सुवर्ण अवसर विरलै प्राप्त हुने उनले मत जाहेर गरे । साथै पैसा कमाउने भन्दा पहिले बजार बुझ्न लाग्नु पर्ने बताए ।

यसरी नै, बाजुराका अमरजंग शाही २४ वर्षको उमेरमा जलविद्युत कम्पनीको आईपीओबाट सेयर बजारमा प्रवेश गरेका हुन् । हाल ग्वार्कोमा बस्दै आएका उनले अहिले २८ वर्ष लाग्दा सेयर खरिद बिक्रीको कामलाई निरन्तरता दिएका छन् । उनले तत्काल नेपाल लाईफ, इन्भेष्टमेन्ट बैंक, आरबीसीएल जस्ता कम्पनीका सेयर खरिद गरेका छन् ।

कक्षा ११, १२ पढ्दादेखि नै सेयरको बारेमा अध्ययन गरेको र त्यसमा चाख बढ्दै गएको उनले बताए । आफ्ना सानो मामाबाट प्रभावित भएर सेयरमा छिरेका उनी हाल निकै खुशी छन् । सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई उनले थोरै रकम लगानी गर्न सल्लाह दिए । यो क्षेत्रको बारेमा बुझेपछि थप पैसा खर्चिदा लगानीकर्ताको मनोबल वृद्धी हुने उनको बुझाई रहेको छ ।

आफैंले धेरै कुरा जानेपछि अरुलाई दोष दिन नपर्ने भन्दै उनले यसलाई साइड बिजनेस बनाउनु पर्ने बताए । अब बजार चौपट भएपनि आफू बजारबाट अलग हुन नसक्ने शाहीको मत छ ।

साथै, काठमाडौंको शान्तीनगरमा रहेका २७ वर्षीय लगानीकर्ता नृगेश श्रेष्ठ आफ्नो बुबाममीको कारण सेयर बजारमा छिरेको बताउँछन् । श्रेष्ठ केही वर्ष अघिदेखि नै सेयर बजारमा सक्रिय रहेका छन् । उनको अहिले नेपाल बंगलादेश बैंक , सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लगायतका १८ वटा कम्पनीमा सेयर रहेको छ ।

सेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताले केही कुरा जाने बुझेर आउँदा राम्रो हुने उनको सल्लाह छ । बजार घटबढ हुँदा नै लगानीकर्ता आत्तिने प्रवृत्ति अब हट्नु पर्नेमा उनले जोड दिए । राम्रो ज्ञान भएमा लगानीहरुले सेयर बजारमा सफलता हासिल गर्ने उनको राय छ ।


क्लिकमान्डु