‘खाडीका नेपाली पैसा पठाउने, सम्पन्न देशका गफ लगाउने !’



बाल्टिमोर,अमेरिका । नेपालबाट विदेशिने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । खाडी राष्ट्रहरुमा कामदारको रुपमा र सम्पन्न देशहरुमा विद्यार्थी तथा दक्ष जनशक्तिको हैसियतमा नेपाली बाहिरिने क्रम रोकिएको छैन । विदेशमा हुने नेपालीको संख्या बढेसँगै उनीहरुले नै पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्र थालेको छ भन्दा फरक नपर्ला ।

विश्व बैंकको तथ्याङ्क अनुसार सन् २०१७ मा मात्रै नेपालमा ६ खर्ब ९४ अर्ब ६० करोडको रेमिट्यान्स रकम विदेश गएका नेपालीले नेपाल पठाएका छन् । अन्तिम तथ्याङ्क बनाउने क्रममा रहेको विश्वबैंकले यो अंकमा फेरबदल हुनसक्ने संभावना देखाएको छ ।

तर, बाहिर सार्वजनिक भएको यो तथ्याङ्क अनुसार गत वर्षभरीमा करिब ७ खर्बको रेमिट्यान्स विभिन्न देशबाट नेपालीले नेपाल पठाएको देखिन्छ ।

करिब-करिब वार्षिक बजेट कै नजिकमा नेपालमा रेमिट्यान्स आएपनि त्यसमा खाडी मुलुकमा रहेका नेपालीको योगदान सबैभन्दा धेरै देखिन्छ । विषेश गरेर रोजगारी रहेका नेपालीहरुले वैधानिक च्यानलबाट पठाएको रकमलाई यसरी गणना गर्ने गरिन्छ । वैधानिक च्यालन बाहेकपनि रकम भित्रिने गरेकोले तथ्याङ्कमा फरक भने पार्न सक्छ ।

सन् २०१७ को तथ्याङ्क बनाउँदै गरेको विश्व बैंकले सार्वजनिक गरेको सन् २०१६ को तथ्याङ्कमा पनि यस्तै देखाईएको छ । सन् २०१६ मा ६ खर्ब ६० अर्ब ७० करोडको जम्मा रेमिट्यान्स नेपाल आएकोमा सबैभन्दा धेरै कतारमा बस्ने नेपालीले करिब १ खर्ब ८७ अर्ब २० करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल पठाए ।

दोस्रोमा साउदी अरेबियामा रहेका नेपालीले १ खर्ब ७५ अर्ब १० करोड बराबरको रेमिट्यान्स रकम पठाए भने तेस्रोमा भारतमा रहेकाहरुले ९७ अर्बको रकम नेपाल पठाएको देखिएको छ । अमेरिकामा रहेका नेपालीहरुले भने जम्मा करिब ३१ अर्बको रेमिट्यान्स नेपाल पठाएका छन् ।

तथ्याङ्कमा नेपालमा धेरै रेमिट्यान्स आउने मध्ये धेरै देशहरु नेपाली कामदार जाने देशहरु हुन् । जसमा उनीहरुकै योगदान सबैभन्दा धेरै देखिएको छ । तुलनात्मक रुपमा धनी र सम्पन्न देशमा रहेका नेपालीहरुबाट भने नेपालमा कमै रकम भित्रिने गरेको देखिन्छ । यसलाई गैरआवासीय नेपालीहरुले रेमिट्यान्सको परिभाषा भित्र नराखेर लगानीको रुपमा गएको व्याख्यापनि गर्ने गरेको देखिन्छ, तर तथ्याङ्कमा केही औलामा गन्न सक्ने बाहेक उल्लेख्य लगानी नेपालमा गैर आवासीय नेपालीबाट भएको देखिँदैन ।

तर, केही सम्पन्न देशमा मौलाएको भूमिगत कारोबारले भने नेपाली अर्थतन्त्रलाई चुनौति दिन सक्छ । सम्पन्न देशमा रहेका नेपालीबाट नेपालमा पैसा नगएको देखिएपनि सबैभन्दा बढी हुण्डीको कारोबार त्यही देशमा हुने गरेको भेटिन्छ ।

कसरी पुग्छ सम्पन्न देशको पैसा नेपालमा ?

कोरियामा एकै समूहबाट २६ अर्ब !

पछिल्ला दिनहरुमा दक्षिण कोरियामा रोजगारी कै क्रममा धेरै नेपाली पुगेका छन् । उनीहरुले गरेको आम्दानी नेपाल मै पठाउने गरेका छन् । तर तथ्याङ्कमा भने वार्षिक करिब ३ अर्बको मात्र रकम कोरियाबाट नेपाल भित्रिएको देखाईएको छ ।

करिब २ लाख भन्दा धेरै नेपाली रहेको कोरियाबाट नेपाल भित्रिने रकम बैधानिक स्रोत भन्दा बढी अवैधानिक स्रोतबाट आउने गरेको बताईन्छ । बेला बेलामा हुण्डीको चर्चापनि हुने गरेको छ । जुन रकम राष्ट्रिय आयमा गणना हुँदैन । केही समय अगाडि मात्रै दक्षिण कोरियामा १२ जना नेपाली हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेबाटपनि त्यहाबाट धेरै रकम हुण्डीको मार्फत नै नेपाल पुग्ने दाबी गर्न सकिन्छ ।

पक्राउ परेको ती १२ जना नेपालीले नै २६ अर्ब बराबरको हुण्डी गरेको बताईएको छ । जब कि बैधानिक स्रोतबाट ३ अर्बको मात्र रेमिट्यान्स नेपाल भित्रिएको छ ।

अष्ट्रेलियामा हुण्डीकै विज्ञापन !

केही समय अगाडि अष्ट्रेलियाबाटै एक अनलाईनमा समाचार आएको थियो हुण्डीको खुल्लम खुल्ला विज्ञापनको विषयमा । यसले अष्ट्रेलियामा पनि हुण्डी खुलेआम मौलाएको अनुमान गर्न सकिन्छ । अष्ट्रेलियामा धेरै नेपाली हुने भएको कारण नेपालमा मात्रै होईन नेपालबाटपनि हुण्डी मार्फत नै कारोबार हुने गरेको जानकारहरु बताउँछन् । यसरी अण्डरग्राउण्ड कारोबार नै दैनिक १५ करोड माथि हुने जानकारहरु बताउँछन् ।

अष्ट्रेलियाबाट नेपालमा हुण्डी गर्न गरिएको फेसबुक विज्ञापन

अमेरिकामा मौलायो साटासाट

धेरै नेपालीको आकर्षणको केन्द्र हो अमेरिका । अमेरिकामा विद्यार्थी तथा परिवारहरुपनि धेरै छन् । परिवार नै अमेरिकामा हुनेले त धेरै रकम नेपाल नपठाउँलान्, तर विद्यार्थी तथा कामको लागि गएकाहरुले भने नपठाउने कुरै भएन । तर, त्यही देशबाट नेपालमा भित्रिने रकम निकै न्यून छ । डलरको हिसाबमा धेरै भएपनि अमेरिमापनि भूमिगत रुपमा पैसाको कारोबार मौलाएको छ ।

अमेरिकामा हुने विद्यार्थीले नेपालबाट पैसा मगाउन परेमा नेपाल मै कसैलाई दिने र तिनको आफन्तले अमेरिकामा पैसा दिने गर्दछन् । अमेरिकाबाट पठाउन परेमापनि यस्तै गर्ने गरिएको छ । केही समय अगाडि मात्रै एक नेपालीले ३० हजार डलर यता दलाललाई दिएर नेपालमा पैसा बुझिलिए । संगठित हुण्डीको कारोबारी नभेटिएपनि यसरी साटासाट गर्ने यहाँ प्रसस्त भेटिन्छन् ।

विद्यार्थीहरुले गैर कानूनी रुपमा काम गर्ने र त्यो पैसा अमेरिकामा कसैलाई दिएर नेपालमा आफन्तलाई दिन लगाउने वा नेपालबाट मगाउने धन्दा अमेरिकामा डरलाग्दो गरी चलिरहेको छ । यसले नेपालमा विदेशी मुद्रा आर्जनलाई रोकिरहेको छ भने अर्थतन्त्रको तथ्य मापनमा पनि समस्या पैदा गरेको छ ।

अमेरिकामा १० हजार डलरभन्दा बढी रकम विदेशमा पठाउने हो भने संघीय सरकारमा रिपोर्टिङ गर्नु पर्ने कारणले पनि यसरी भूमिगत कारोबार मौलाएको देखिन्छ । त्यसैको प्रमाणहरु अमेरिकाबाट औपचारिक च्यानलबाट नेपाल भित्रिने रकममा निरन्तर गिरावट आईरहेको छ ।

अमेरिकी सरकारको तथ्याङ्क अनुसार नेपालमा रेमिट्यान्सको रुपमा जाने रकममा तीब्र गिरावट आइरहेको छ । सबैभन्दा धेरै सन् २००६ मा अमेरिकाबाट ७ अर्ब ९० करोडको रेमिट्यान्स भित्रिएको थियो ।

तर, २०१६ मा पुग्दा २ अर्बको मात्र रेमिट्यान्स नेपाल गएको तथ्याङ्क सरकारसँग छ । अमेरिकामा १० हजार डलरभन्दा कम रकम विना रिपोर्टिङ पठाउन सकिने भएकोले अमेरिका र नेपालको तथ्याङ्कमा केही फरक पर्न सक्छ ।

नेपालबाट कस्ले पठाउँछ विदेशमा रेमिट्यान्स ?

२०१६ मा नेपालमा करिब ६ खर्ब ६० अर्बको रेमिट्यान्स भित्रिएको थियो, तर सोही वर्ष २ खर्ब ९४ अर्ब २० करोड बराबरको रेमिट्यान्स रकम बाहिरिएको समेत तथ्याङ्क सार्वजनिक भएको छ । अमेरिकाको वासिंटन डिसीमा रहेको पिउ रिसर्च सेन्टरले विश्व बैंकसँगको सहकार्यमा गरेको अध्ययनमा नेपालमा जति रेमिट्यान्स आउँछ त्यसको आधा रकम विदेशमा रेमिट्यान्स कै रुपमा बाहिरिने देखाएको छ ।

तर, त्यो रकम लैजान्छ कस्ले ? यसको न त सरकारसँग स्पष्ट तथ्याङ्क छ न त बैधानिक प्रमाण नै । यो तथ्याङ्कले नेपालमापनि विदेशी कामदार प्रसस्तै रहेको देखिन्छ । २०१६ मा नेपालबाट बाहिरिएको रकममा भारतमा सबैभन्दा धेरै २ खर्ब ७४ अर्ब रकम गएको छ । अर्थात झण्डै सत प्रतिशत रकम भारतमा गएको छ, तर भारतीय कामदारको सरकारसँग कुनै तथ्याङ्क छैन । नेपालमा मात्र होईन भारतमापनि नेपाल रेमिट्यान्स पठाउने देशमा टप टेनमा पर्छ ।

तथ्याङ्कमा भारतको सूचीमा नेपाल ८ औं ठूलो रेमिट्यान्स पठाउने देशको रुपमा रहेको छ । तर, नेपालमा कति भारतीय कामदार छन्, त्यसको तथ्याङ्क सरकारसँगै छैन ।

योपछि चीनमा १३ अर्ब २० करोड, पाकिस्तानमा ३ अर्ब ४० करोड, भूटानमा ३ अर्ब र श्रीलङ्कका कामदारले २ अर्ब बराबरको रकम नेपालबाट लिएर गएका देखिन्छ ।

साल (सन् मा) रेमिट्यान्स अमेरिकी डलर (दश लाखमा)
1993 3
1994 9
1995 9
1996 18
1997 22
1998 24
1999 27
2000 17
2001 24
2002 34
2003 26
2004 64
2005 66
2006 79
2007 4
2008 5
2009 12
2010 32
2011 39
2012 50
2013 28
2014 9
2015 9
2016 20


पुष्प दुलाल