चन्द्रागिरिमा प्रधानमन्त्री ओलीको एक दिनः के के गरे के के भने ?



चन्द्रागिरि । आइतबार चन्द्रागिरिको माहोल कवितामय बन्यो । बिहान ८ बजेदेखि नै देशभरका कवि, साहित्यकार तथा पत्रकारहरुको चन्द्रागिरिमा भरिभराउ थियो ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको “हिमवत खण्ड कला साहित्य सम्मिलन”मा भाग लिन त्यहाँ पुगेका स्वदेशी तथा विदेशी साहित्यकारहरु चन्द्रागिरिबाट आफ्ना रचना सुनाउन आतुर थिए ।

नेपाल सहित अन्य १३ देशका कवि उपस्थित साहित्य सम्मिलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिले झन् रौनक थप्यो । बिहान साँढे १० बजे चन्द्रागिरि पुगेका प्रधानमन्त्री ओलीको उपस्थितीमा चन्द्रागिरिबाट समृद्धिको स्वर काठमाडौंलाई सुनाउने तयारीमा आयोजक थिए ।

प्रधानमन्त्रीको उपस्थितिले साहित्यिक कार्यक्रममा राजनीतिक रङ्ग थप्छ कि भन्ने आशंकापनि थियो । तर, प्रधानमन्त्रीको धैर्यता र कविता मोहले कार्यक्रममा उपस्थित सबैलाई माथ ख्वायो । देशका प्रधानमन्त्रीले आफ्नो व्यस्त दैनिकका वावजुदपनि राजधानीबाट करिब १४ किलोमिटरको दुरीमा रहेको चन्द्रागिरिमा दुई दर्जन बेसी कविता सुन्न भ्याए ।

७ हजार ५ सय फिट उचाईँमा रहेको चन्द्रागिरिमा परेको पानीले त्यहाँको तापक्रम ओरालो लागेको थियो । दुई ट्युमलेट तातो पानीको भरमा ओलीले चन्द्रागिरिको चिसोलाई बाईबाई भन्दै आफुलाई तताए । देशभरका कविका उन्मादी कविताले ओलीको तातोपानीमा झन् आगो बाले ।

ओलीको तातोपानी सकिंदा उनका सुरक्षा गार्डहरु हतारिंदै तातो पानी भर्न दौडिन्थे । श्रीमती राधिका शाक्य सहित चन्द्रागिरि पुगेका ओलीपनि युवावयमा कविता मोहमा थिए भन्ने कुरापनि उनीकी श्रीमतीले सुनाईन् ।

प्रधानमन्त्रीले कुनै समय विउँझेर देखिएको सपना मात्रै सपना हो भनेका थिए । आफ्नै वाणीलाई चरितार्थ गर्न उनी आजभोलि राती कमै निदाउने गरेको पनि उनकी श्रीमतीले सुनाईन् ।

उपत्यका प्रत्येक पाँच तारे होटेल र सार्वजनिक समारोहबाट ओलीले यसअघि नै समृद्धिको नारा लगाईसकेका थिए । उपत्यकाका प्रायः सबै सावर्जनिक स्थलबाट उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा उद्घोष गरिसकेका थिए । तर, उनको उद्घोष सबै नेपालीले सुन्न पाएका थिएनन् । उनको समृद्धिको नारा सबै नेपालीको कानमा अझै परेको थिएन । उपत्यकाको क्रंक्रिट जंगलमा उनको मसिनो, खिरिलो आवाज कतै बिलाएको थियो । मार्सी चामलको भातलेपनि बढाउने नसकेको स्वर उनी चन्द्रागिरि डाँडोबाट सबैलाई सुनाउन चाहान्थे ।

अब उनलाई चन्द्रागिरिबाट आफ्नो समृद्धिको नारा सारा उपत्यकावासी र नेपालीलाई सुनाउनु थियो । आयोजकले प्रधानमन्त्रीको बोल्ने पालो अन्तिममा राखेका थिए । प्रधानमन्त्रीलाई पनि हतारो थिएन । देशका ठूला मुद्दामा उनका मन्त्री र कार्यकर्ताले बहस गरिरहेका थिए । गोबिन्द केसीको अनसनमा उनका मन्त्री र कार्यकर्ताले बोलिरहेका थिए ।

सडकका खाल्टाखुल्टी उनले बनाएका थिएनन्, तसर्थ उनलाई हतारो थिएन । प्रधानमन्त्री पद त उनकै थियो, तर जिम्मेवारी भने उनले अझै बोकेका थिएनन् । उनी त दुई तिहाई सहितको सरकारको हनिमुन मनाउन एक्लै–एक्लै चन्द्रागिरि पुगेका थिए ।

उनलाई समृद्ध नेपालको उद्घोष फेरी एकपटक दोहोर्याउनु थियो चन्द्रागिरिबाट ।
७ वटा प्रदेशबाट १४ जना नेपाली कविले आफ्ना कवितामार्फत देशमा समृद्धिको लहर चलाउन सक्ने आशय व्यक्त गर्दा मञ्चको मध्यभागमा बसेका ओली मुस्कुराउँथे ।

र आफनो समृद्धि सपना साकार हुनेमा विश्वस्त देखिन्थे ।
बादलले ढाकेको आकाशबाट तारन्तार वर्षिरहेको मेघलाई चुनौति दिदैँ कविता वाचनमा उत्रिएकी कवि लक्ष्मी थापाले “समृद्धिको उज्यालो घामले निथ्रुक्क भिज्नेछौ…” भनिरहँदा हलमा नअटाएका दर्शक भने पानीमा निथ्रुक्क भिजेका थिए ।

दिनभर समृद्धिका स्वप्नील कविता सुनेपछि समृद्धिको नारा उद्घोष गर्न मञ्चमा उत्रिएका प्रधानमन्त्री ओलीले कविता सुनेर आफु चार्ज भएको बताए । देश विदेशका कविका कविता सुनेर मोहित भएका प्रधानमन्त्रीले लञ्च ब्रेकमा आफ्नो युवावयका दिनहरु सम्झिदै आफुलेपनि कविता लेख्ने चाह व्यक्त गरे । प्रधानमन्त्रीको चाह पूरा नहुने कुरै भएन ।

आयोजकले सेतो पन्ना र चन्द्रागिरि हिल्स लिमिटेडका मालिक चन्द्र ढकालको कलम लिएर प्रधानमन्त्रीपनि आँशु कवि भए । प्रधानमन्त्रीले सात मिनेट लगाएर दुई शब्द मात्रै मेटेर कविता लेखे ।

प्रधानमन्त्रीको कविताको चर्चा साहित्यिक वृत्तमा मात्रै भएन, गैर साहित्यिक वृत्तमा पनि सो कविताको चर्चा भयो । राजा महेन्द्रपछि आफैं कविता लेख्न सक्ने कार्यकारी प्रमुख ओली मात्रै भएको चर्चापनि चन्द्रागिरिमा चलेको थियो । चन्द्रागिरिको उचाईँले मोहित भएका प्रधानमन्त्री ओली पनि सत्ताको अपरिमित उचाईँमा समृद्धिको उडान भर्दै छन् ।

देशको कार्यकारी प्रमुख व्यक्ति साहित्यिक कार्यक्रममा लामो समय बसे । आफैले कविता समेत लेखेर सुनाएपछि साहित्यिक बृत्तका मानिस र आयोजक खुशी भए । तर, केही कवि भने प्रधानमन्त्री स्वयम्ले कविता लेख्न थालेपछि आफ्ना कविता ओझेलमा पर्ने हुन् कि ? भनेर चिन्तितपनि भएका थिए ।

दिनभर कविता सुन्न बसेर आफुले समय बर्बाद नगरेको समेत ओलीले प्रष्ट पारे । “दिनभर कविता सुनेर मैले आफुलाई चार्ज गरेको छु ।” प्रधानमन्त्री ओलीले आफु दिनभर कार्यक्रममा बस्नुको कारण खुलाए । कविताको शक्तिले आफुलाई समृद्धिको नारा लगाउन ठूलो स्वर प्रदान गरेकोतर्फ उनको संकेत थियो ।

नेपाल एकीकरणका संयोजक पृथ्वीनारायण शाहले चन्द्रागिरिबाटै काठमाडौँ खाल्डो देखेर जुँगामा ताउ लगाउँदै काठमाडौंमा राज गर्ने रहर गरेको इतिहास स्मरण गर्दै ओलीले पृथ्विीनारायण शाह र उनका भारद्धारको अभिनय गर्दैै भने–
“मेरा पेटका कुरा कसरी बुझिलिया ?” (पृथ्वीनारायण शाहले आफ्ना भारद्धारलाई सोधेको)
“जुँगामा जसै ताउ लगाया मनका कुरा बुझिलिया ।”(पृथ्वीनारायणका भारद्धारले दिएको जवाफ)

ओलीले मञ्चबाट पृथ्वीनारायण शाहको अभिनय गर्दै जुँगा नभएको आफ्नो ओठमाथि ताउ लगाउने शैलीमा औँला घुमाउँदा कार्यक्रमस्थल हाँसाले गुञ्जायमान भयो ।

ओली यति मै रोकिएनन् नेपालबाट दार्जिलिङ गएका अगमसिँह गिरीले यात्रामा लेखेको कवितापनि सुनाए–
“चित्लाङ, मार्कु, भीमफेदी, कुलेखानी गाउँमा
नमस्ते छ भन्दिनु है, बास बसेका ठाउँमा ।”

ओलीको अगम कविता सुनेपछि दाजिलिङबाट आएका कवि मात्रै होइनन् नेपाली कवि पनि ओलीको स्मरण शक्ति र कविता मोह देखेर दंग परे ।
दार्जिलिङबाट ओली नेपाल फर्किए र महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात रचना “कुन मन्दिरमा जान्छौ यात्री…” कवितका केही हरफ सुनाए । ओलीका अनुसार देवकोटाले यात्री कविता चित्लाङमा बिरामी बोकेर गईरहेका मानिसलाई देखेर लेखेका थिए । ओलीले देवकोटाको यात्री कविता बाचनमा केही त्रुटि गरेपछि कार्यक्रममा सहभागीले कोरसमा कविता वाचन गरेरे ओलीलाई साथ दिए ।

कवितापछि ओली इतिहास र पौराणिकतातर्फ फर्किए । लुम्बिनीमा अशोक स्तम्भ बनाएका अशोकाले पनि चन्द्रागिरीको बाटो हुँदै तिब्बत यात्रा गरेकादेखि महादेवले आफ्नी श्रीमती सतिदेवीको लास बोकेर भौँतारिंदा चन्द्रागिरीमा ललाट अर्थात निधार खसेको प्रसङ्ग समेत ओलीले सुनाए ।

आफ्नो भाषण सुनेर मन्त्रमुग्ध भएका कविलाई ओलीले पौराणिकताको चरमबिन्दू महाभारतकालीन युगमा समेत पुर्याए । महाभारतमा ३५ सय वर्ष यदुवशं नाश हुँदा बचेका केही परिवार चित्लाङमा बस्न आएको पौराणिक रहस्य ओलीले उपस्थित दर्शक श्रोतालाई सुनाए । चित्लाङमा रहेका गोपाल थरका मानिस तिनै यदुवंशका सन्तती रहेको समेत उनले बताए ।

रणबहादुर शाह निर्वासनबाट फर्किदा चन्द्रागिरीको बाटो फर्किएकाले चन्द्रागिरि ऐतिहासिक महत्वको स्थल रहेको ओलीको ठहर थियो ।

ओलीको भाषण सुनेर हाँस्न पाईएन भने उनको भाषण व्यर्थ हुन्छ । आफ्नो भाषण सुन्नेहरु हाँसेनन् भने ओली आफ्नै वाककलामाथि पनि शंका गर्दा हुन् ।

कार्यक्रममा अन्तमा ओलीले कविता नसुन्ने मानिसलाई भैँसीको दर्जा दिए । “कविता नसुन्ने मानिस त भैँसी जस्तै हो, भैंसीको आगाडि जति गीत गाउनुहोस् भैँसीले घाँस मात्रै चपाउँछ ।” प्रधानमन्त्रीको उपमा प्रयोगको शैलीले उपस्थित कवि मोहित भए । ओलीको वाककलाको पनि प्रसंसा भयो ।

साँझको ६ बजिसकेको थियो । प्रधानमन्त्री ओली दिनभर कविता सुनेर समृद्ध नेपाल र सुखि नेपालीको नाराका लागि चार्जपनि भइसकेका थिए । आफ्नो सम्बोधनको अन्त्यमा उनले चन्द्रागिरिले मानिसमा शक्तिशाली हुने महत्वकांक्षा दिने बताए । तर, उनले आफुमा यस्तो महत्वकांक्षा उत्पन्न भयो कि भएन भनेर बताउन भूले ।

 


क्लिकमान्डु