राष्ट्र बैंकको नीतिले आधा दर्जन ठूला बैंक दबाबमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरुको निक्षेप र कर्जाको अन्तर (स्प्रेड दर) लाई २०७६ साल असार मसान्तसम्ममा ४.५ प्रतिशतसम्म कायम गर्नुपर्ने घोषणा गर्यो ।
राष्ट्र बैंकले अहिले स्प्रेडदर ५ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । चैत मसान्तको वाणिज्य बैंकहरुले अपरिस्कृत वित्तीय विवरण अनुसार ८ वटा वाणिज्य बैंकको स्प्रेडदर ५ साढे ४ प्रतिशतभन्दा बढी छ । जसमा ३ वटा वाणिज्य बैंकको स्प्रेडदर सबैभन्दा बढी छ ।
चैत मसान्तसम्मको विवरण अनुसार स्प्रेडदर ५ प्रतिशतभन्दा बढी हुने बैंकहरुमा सरकारी लगानीको कृषि विकास बैंकको सबैभन्दा बढी छ । कृषि विकास बैंकको स्प्रेडदर ५.६१ प्रतिशत छ ।
यस्तै विदेशी लगानीको नेपाली एसबिआई बैंकको ५.२४ र अर्को विदेशी लगानीको स्टाण्डर्ट चाटर्ड बैंकको ५.२३ प्रतिशत स्प्रेडदर रहेको छ ।
साढे ४ देखि ५ प्रतिशतभन्दा तल स्प्रेडदर हुने बैंकमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, एनआईसी र एभरेष्ट बैंक छन् ।
चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणमा सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले गरेको थियो । दोस्रोमा नेपाल इन्भेष्टमेन्ट,तेस्रोमा नबिल थियो ।
चौथोमा नेपाल बैंक थियो भने एभरेष्ट तथा पाँचौमा कृषि विकास बैंक थियो । यस आधारमा हेर्दा नेपाल बढी नाफा कमाउने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक बाहेक अरुको स्प्रेडदर साढे ४ प्रतिशतभन्दा बढी छ ।
यस आधारमा हेर्दा बढी नाफा कमाउने ठूला बैंकलाई राष्ट्र बैंकको नीतिले थप दवाव पर्ने छ ।
स्प्रेडदर ५ प्रतिशतभन्दा बढी रहेको स्टाण्डर्ट चाटर्ड बैंकका संस्थागत मामला प्रमुख दिवाकर पौडेल निक्षेपको बढ्दो ब्याजदरले स्प्रेडदर कायम राख्न चुनौती भएको बताउँछन् ।
‘चैतमा हाम्रो स्प्रेडदर ५ प्रतिशतभन्दा बढी थियो, यसलाई ५ प्रतिशतभन्दा तल ल्याउने प्रयास गरेका छौ, नियामकले भनेपछि अर्कोवर्षसम्म साढे ४ प्रतिशतसम्म ल्याउनुपर्ने हुन्छ,’ पौडेलले भने ।
अपरिस्कृत वित्तीय विवरण हेर्दा बढी नाफा कमाउने बैंकले नै बढी स्प्रेड लिएको देखिन्छ । ती बैंक पुराना र ठूला बैंक हुन् ।
चैत मसान्तसम्मको विवरण हेर्दा सबैभन्दा कम स्प्रेड सिभिल बैंकको २.४१ प्रतिशत थियो । सिभिल बैैंकले नाफापनि चैत मसान्तको रिपोर्टको आधारमा सबैभन्दा कम कमाएको थियो ।
नाफाको आधारमा नवौं स्थानमा रहेपनि ग्लोबल आइएमई बैंकले भने कम स्प्रेडमा काम गरेको देखिन्छ । ग्लोबलले चैत मसान्तसम्ममा १ अर्ब ४४ करोड नाफा कमाउँदा स्प्रेड २.९८ प्रतिशत राखेको छ ।
बैंकहरुले दिने निक्षेपको औसत ब्याजदर र कर्जाको औसत ब्याजदर फरकलाई स्प्रेड भनिन्छ । बैंकले निक्षेपमा कम ब्याजदर दिने र कर्जामा बढी ब्याजदर लिने नीति लिएपछि राष्ट्र बैंकले स्प्रेडदर तोकेको थियो ।
राष्ट्र बैंकले स्प्रेडदर तोक्दा खुल्ला बजार अर्थनीति विपरित भएको आवाज बैंकरहरुले उठाएका थिए । तर, स्प्रेडदर भने लागु भयो । बेला बेलामा बैंकहरुले तोकिएकोभन्दा बढी स्प्रेड लिएपनि कारवाही भने हुने गरेको छैन ।
खासगरी पुराना र स्थापित बैंकले नै नियम उलघंन गर्दा राष्ट्र बैंकले केहीपनि कारवाही गर्दैन ।
‘सरकारी, ठूला तथा विदेशी लगानीका बैंकलाई धेरै नै छुट हुन्छ, तोकिएको स्प्रेडमा काम नगर्दापनि हुन्छ, हामीलाई सानो गल्तीमा पनि कारवाही गरिन्छ,’ कम स्प्रेड लिएका एक बैंकका सिइओले भने ।
कुन बैंकको स्प्रेड दर कति ?
Agricultural Development | 5.61% |
Nepal SBI | 5.24% |
Standard Chartered | 5.23% |
Nepal Bank | 4.99% |
Rastriya Banijya | 4.95% |
Nabil | 4.89% |
NIC | 4.77% |
Everest | 4.75% |
Prabhu Bank | 4.41% |
Prime | 4.28% |
Nepal Investment | 4.28% |
Janata | 4.25% |
Machapuchre | 4.23% |
Sanima | 4.05% |
Sunrise | 4.05% |
BoK | 4.04% |
Himalayan | 4.00% |
Citizens | 3.74% |
Siddhartha | 3.68% |
Century | 3.63% |
Laxmi | 3.61% |
Nepal Bangladesh | 3.59% |
Kumari | 3.20% |
Mega | 3.20% |
NMB | 3.16% |
Nepal Credit & Commerce | 3.14% |
Global IME | 2.98% |
CIVIL | 2.41% |