इन्धन चुहावट अन्त्य गर्दै आयल निगम, धमाधम लकिङ प्रविधि जडान




काठमाडौं । नेपाल आयल निगमले ट्याङ्करबाट पेट्रोलियम पदार्थ नेपाल भित्र्याउँदा हुने चोरी रोक्न लकिङ प्रविधि धमाधम जडान गरिरहेको छ ।

असार मसान्तसम्म सबै सीमा छेउका पेट्रोलियम पदार्थ सप्लायर केन्द्रमा ताल्चा लगाउन थालिएको आपूर्ति एभिएसन विभागका रामप्रसाद पाठकले जानकारी दिए ।

असार २८ गते भोलि सबैभन्दा ठूलो सप्लायर पोइन्ट भारत बरुनीमा ताल्चा लगाइने कार्यक्रम रहेको छ । बरुनीबाट लक लगाएर नेपाल भित्रिएपछि त्यसलाई विराटनगरको डिपोमा आएपछि ३० गते विधिगत रुपमा कार्यक्रम गरेर खोलिने पाठकले बताए । यस्तै, कार्यक्रम ३१ गते जनकपुरमा पनि गरिने बताइएको छ ।

‘भारतीय डिपोमा जाने ट्याङ्करमा इन्धन लोड गरेपछि त्यही ताल्चा मार्ने काम हुन्छ, त्यो ताल्चाको एउटा साँचो इन्धन लोड लिने भारतीय डिपोसँग हुन्छ, अर्को साँचो नेपालीको जुन डिपोमा इन्धन खन्याउने हो, त्यो डिपोसँग हुन्छ, यसले गर्दा बाटोमा चोरी गर्न सकिदैन,’ पाठकले भने ।

अब अलाहबाद र मुग्लेसिरमा लकिङ प्रविधि जडान गर्न बाँकी रहेकोले त्यसलाई पनि यही असार मसान्त भित्र पूरा गरिने पाठकको भनाई छ ।

‘सुरुमा हामी सबैभन्दा ठूलो सप्लायर्स बरुनीमा लकिङ गर्दैछौँ, त्यसपछि अरुमा पनि गर्ने प्रकृया हुँदैछ, अलाहाबाद र मुग्लेसिरमा ८÷१० वटा मात्र ट्याङकर भएकाले त्यसको लागि धेरै समय लाग्दैन,’ पाठकले भने ।

निगमका अनुसार हालसम्म अमलेखगञ्ज, पोखरा, नेपालगञ्ज, चारआली, बीरगञ्ज, काठमाडौं, धनगढी लगायतका सबै डिपोमा लकिङ प्रविधि सुरु भई सकेको छ ।

लकिङ प्रविधि जडान भएपछि पेट्रोलियम पदार्थ ट्याङ्करमा राखेर ल्याउँदा हुने चुहावटका घटनाहरुको अन्त्य हुने पाठकको भनाई छ ।

ट्याङकरमा लकिङ प्रविधि जडान हुनु अघि ट्याङ्कर चालकहरुले टेम्प्रेचर लसको नाममा अबैधरुपमा २० हजार लिटरको ट्याङ्करबाट लगभग ४० देखि १ सय लिटरसम्म पेट्रोलियम पदार्थ चोरी गरी बिक्री गर्ने गरेका थिए तथ्य सार्बजनिक भएका थिए ।

अब लकिङ प्रविधि जडानका कारण ट्याङ्कर चालकले ताल्चा खोल्न सक्ने छैनन् । जसले गर्दा इन्धन चुहावट अन्त्य भएको निगमको दाबी छ ।

निगमले बैज्ञानिक आधारमा ०.७५ लिटर प्रतिकिलोलिटरमा टेम्प्रेचर लस ड्युटी टु ट्रान्जिट शीर्षकमा नोक्सानीको दर तोकेको छ । अन्य मुलुकमा पनि यस्तै मापदण्ड कार्यान्वयनमा छ । अर्थात २० हजार लिटरको ट्याङ्करमा भएको इन्धन एक डिग्री तापक्रम कम हुँदा टेम्प्रेचर लस ड्युटी टु ट्रान्जिट अन्तर्गत डिजेल र मट्टितेलमा १५ लिटरसम्म बैज्ञानिक रुपमा नोक्सानी हुन्छ । पेट्रोलमा भने २१ लिटरसम्म नोक्सानी हुन्छ ।

निगमले यो मापदण्ड बनाएर चालकले ढुवानी गर्दा हुने नोक्सानी मिनाहा गर्दै आएको छ । मापदण्डभन्दा बढी नोक्सानीलाई अबैध मानिएको छ ।


क्लिकमान्डु