११ महिनामा १० खर्ब बढी व्यापार घाटा, २६ सँग नाफाको व्यापार १२६ सँग घाटाको



काठमाडौं । आर्थिक वर्ष २०७४/ ७५ को ११ महिनामा नेपालले १० खर्बको घाटा बेहोर्र्नु परेको छ ।

यो अवधिमा नेपालले ११ खर्ब ६ अर्ब ६४ करोड ७० लाख बराबरको आयात गरेको भन्सार विभागको विवरणले देखाएको छ । विभागको विवरण अनुसार सो अवधिमा नेपालले ७४ अर्ब ३२ करोड २ लाख बराबरको निर्यात गरेको छ ।

नेपालले अहिलेसम्म १ सय ५२ देशहरुसँग प्रत्यक्ष रुपमा कारोबार गर्दै आएको छ ।

कुन देशसँग नाफाको कारोबार ?

अहिलेसम्मको विवरण हेर्दा हाम्रो देशले २६ वटा देशहरुबाट मात्र नाफा कमाउन सफल भएको छ ।

विगत लामो समयदेखी कुबेत, सोलोभेनिया, युगान्डा, निकारागुआ, लेबनान, क्रोएसिया, अफ्गानिस्थान, आइसल्याण्ड, ब्रुनेई, दारुस्सलाम, यमन, बोस्निया एण्ड हर्जेगोविना, माल्दिभ्स र बोलिभियाबाट आयात तथा निर्यात गर्दै आएको नेपालले नाफा कमाउन सफल भएको हो ।

नेपालले बाहामास, अर्मेनिया, जिम्बाबे, न्यू क्यालेडोनिया, जाम्बिया, पानामा, अजरबैजान, जिबुती, उरुग्वे र ताजाकिस्तान जस्ता राष्ट्रहरुमा विभिन्न सामाग्रीहरु निर्यात गर्दै आएको छ । यी राष्ट्रहरुबाटपनि नेपालले नाफा कमाउँदै आएको छ ।

कति छ घाटाको संख्या ?

नेपालले १ सय २६ वटा देशबाट प्रत्यक्ष घाटा बेहोर्दै आएको छ । निर्यात तथा आयातमा नेपालले भारतबाट यो ११ महिनामा ६ खर्ब ८९ अर्ब ८५ करोड घाटा खाएको छ ।

भारतबाट ७ खर्ब ३२ अर्ब ३१ करोड बराबरको सामानहरु नेपाल भित्रिने गरेको छ । यस्तै नेपालले ४२ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ बराबरको सामाग्री भारत निर्यात गरेको छ ।

दोस्रोमा चीनसँग नेपालले १ खर्ब ४० अर्ब १३ करोड रुपैयाँ बराबरको घाटा बेहोरेको छ । नेपालले यो आर्थिक वर्षको ८ महिनामा १ खर्ब ४३ अर्ब १३ करोड बराबरको सामान चीनबाट आयात गरेको छ । नेपालले सो अवधिमा २ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ बराबरको सामाग्री चीन निर्यात गरेको छ ।

तेस्रोमा नेपालले भियतनामबाट नेपालले १२ अर्ब १९ करोड ६८ लाख रुपैयाँ बराबरको सामाग्री आयात गरेको छ । यो ८ महिनाको अवधिमा नेपालले भियतनाममा ५८ करोड ३२ लाख बराबरको सामाग्री निर्यात गरेको छ ।

भियतनामसँग नेपालले ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको घाटा बेहोरेको छ ।
नेपालले थाइल्याण्डसँग ११ अर्ब ८२ करोड रुपैयाँ बराबरको घाटा बेहोरेको छ । इन्डोनेशियासँग नेपालले ११ अर्ब ५१ करोड बराबरको घाटा बेहोरेको छ ।

अर्जेन्टिनासँग नेपालले ९ अर्ब ६६ करोड बराबरको घाटा बेहोरेको छ । दुबईसँग नेपालले ८ अर्ब ६७ करोड बराबरको घाटा बेहोर्नु परेको छ । कोरियाँसँग नेपालले ९ अर्ब २८ करोड बराबरको घाटा बेहोेरेको छ ।

मलेसियाबाट नेपालले यो आर्थिक वर्षको ८ महिनामा ८ अर्ब ६७ करोड रुपैयाँ बराबरको घाटा खाएको छ ।

यस्तै, अमेरिकाबाट ४९ करोड १३ लाख रुपैयाँ, साउदी अरबबाट ९ अर्ब ८ करोड ४७ लाख रुपैयाँ, जर्मनबाट ४ अर्ब ५८ करोड रुपैयाँ, जापानबाट ६ अर्ब ५२ करोड रुपैयाँ, फ्रान्सबाट ५ अर्ब ६२ करोड रुपैयाँ, पाकिस्तानबाट ५ अर्ब ९८ करोड रुपैयाँ, क्यानडाबाट ४ अर्ब ९३ करोड रुपैयाँ, ब्राजिलबाट ४ अर्ब ९२ करोड रुपैयाँ, अस्ट्रेलियाबाट ३ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोरेको भन्सार विभागको विवरणले देखाएको छ ।

यस्तै, साउथ अफ्रिकाबाट ४ अर्ब ७५ करोड रुपैयाँ, बंगलादेशबाट ३ अर्ब ६० करोड रुपैयाँ, स्वीजरल्याण्डबाट ४ अर्ब १७ करोड रुपैयाँ, युक्रेनबाट ४ अर्ब २७ करोड रुपैयाँ, म्यानमारबाट ३ अर्ब ८८ करोड रुपैयाँ, सिंगापुरबाट ३ अर्ब २८ करोड रुपैयाँ, रसियाबाट २ अर्ब ७२ करोड रुपैयाँ, इजिप्टबाट २ अर्ब ८८ करोड रुपैयाँ र ताइवानबाट २ अर्ब ७५ करोड रुपैयाँ बराबरको नेपालले घाटा व्यवहोर्नु परेको हो ।


क्लिकमान्डु