पुँजी बजारले कस्तो मौद्रिक नीति खोज्दैछ ?




काठमाडौं । दुई तिहाई बहुमतसहित बाम गठबन्धन सरकार बनेदेखि ओरालो लाग्न थालेको पुँजी बजार घट्ने क्रम रोकिने वा अब बढ्ने चरणमा पुगेको छैन ।

यसबीचमा सरकारले आगामी आर्थिक बर्षको लागि बजेट ल्याइसकेको छ । बजेटपछि पुँजी बजार बढ्ने गरेको भएपनि यसपटकको बजेटले यस्तो प्रभाव पारेन । बजार घटिरहेकै छ ।

अहिले नेपाल राष्ट्र बैंक आगामी आर्थिक बर्षको लागि मौद्रिक नीति तयारीको अन्तिम चरणमा छ । बजेटले अपेक्षा अनुसारको उभार बजारमा ल्याउन नसकेको भन्दै पुँजी बजारसँग सम्बन्धित संस्था र लगानीकर्ताहरु मौद्रिक नीति पर्खेर बसेका छन् ।

नेपाली पुँजी बजार अहिले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिको प्रतिक्षामा छ । ओरालो लागिरहेको पुँजी बजारलाई मौद्रिक नीतिले कसरी सहयोग गर्न सक्छ ? इन्भेष्टर फोरमका उपाध्यक्ष छोटेलाल रौनियार विशेष गरेर ३ वटा काम मात्रै गर्न सकिए पनि बजारले ठूलो राहतको महसुस गर्ने बताउँछन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिन पाउने सीमा पछिल्लो १८० दिनको कारोबारको औसत मूल्यका ५० प्रतिशत मात्रै छ । यो सीमालाई कम्तिमा पनि ७० प्रतिशत पुर्याउनु पर्ने रौनियारको भनाइ छ ।

यस्तै सेयर धितो कर्जाको रिस्क वेटेज १५० प्रतिशत छ । यसलाई घटाएर कम्तिमा पनि शतप्रतिशत गर्नुपर्ने रौनियारले बताए ।

यस्तै उनले बैंकलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने आवश्यकता औल्याए ।

‘बाणिज्य बैंकका शाखा करिब २५ सय छन्, देशका कुना कन्दरासम्म बैंक पुगेका छन्, नेपाली सेयर बजार काठमाडौंको पनि रिङरोडभित्र खुम्चिएको छ, यसको दायरा फराकिलो पार्न बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खुल्ला गर्नुपर्छ,’ रौनियारले क्लिकमाण्डूसँग भने ।

यस्तै समयमै बार्षिक साधारणसभा नगर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई त्यस्तो गर्ने सुविधा रोकेर समयमै साधारणसभा गर्ने र बोनस सेयर चाँढै लिस्टिङ हुने ब्यवस्था मिलाउनु पर्ने पनि उनको भनाइ छ ।

ठूला लगानीकर्ता भने यसबारेमा खुलेर बोल्न चाहदैनन् ।

‘आफूलाई लागेको कुरा भन्यो भने पनि तिमी सरकारलाई सिकाउदै हिड्ने भन्दै उल्टो रुपमा बुझ्ने प्रबृत्ति छ, सबै जान्ने सुन्नेहरु छन्, समस्या के हो भन्ने बुझेका छन्, राम्रै नीति ल्याउलान् नि,’ उनले आक्रोस पोख्दै भने ।

उनको नाम उल्लेख नगर्ने शर्तमा ती ठूला लगानीकर्ताले बैंकिङ क्षेत्रको तरलता अभावको समस्या समाधानको उपाय खोज्नुपर्ने बताए ।

‘नेपाली पुँजी बजारको सिधा सम्बन्ध बैंकिङ क्षेत्रको तरलता उपलब्धतासँग छ, तरलता बढी भएको बेलामा सेयर बजार बढ्ने र कम भएको बेलामा घट्ने गरेको छ, बैंकिङ क्षेत्रले तरलता अभाव भयो भनेर कराउन लागेको लामो समय भइसकेको छ, निश्चित अनुपातको तरलता बजारमा प्रवाह भइराख्ने प्रकारको प्रणाली विकास गर्ने मौद्रिक नीति आयो भने पुँजी बजारदेखि उद्योग र बाणिज्य क्षेत्रलाई पनि राम्रो हुन्छ,’ उनले भने ।

नविल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत सबीर बादे श्रेष्ठ पुँजी बजारको दायरा नै फराकिलो बनाउनु पर्ने र यसमा उपकरण थप गर्नुपर्ने बताउँछन् ।

उनले नेपाली पुँजी बजारमा विदेशी फण्डहरु ल्याउन बाटो खुल्ला गर्नेदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको पनि मर्जर स्वस्थ्य हुनुपर्ने प्रकारको नीतिगत ब्यवस्था गर्नुपर्ने बताए ।


क्लिकमान्डु