माथिल्लो मस्र्याङ्दी बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गर्दै बुटवल पावर, के होला सेयर मुल्य ?



काठमाडौँ । भारतीय कम्पनी जीएमआरले लामो समय अलपत्र पारेर छाडेको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना विगत एक महिना पहिले मात्रै बुटवल पावर कम्पनीले जिम्मा लियो ।

सेयर स्वामित्वको हिसाबले १९ प्रतिशत हिस्सा मात्रै लिएको बुटवल पावरले सो आयोजना लगायत अन्य केही आयोजना निर्माणका लागि चिनियाँ लगानीकर्तासँग साझेदारी गर्ने गरी तयारी गर्यो ।

बुटवल पावर र चिनियाँ लगानीकर्तासहितको ज्वाइन्ट भेन्चर कम्पनीका रुपमा सीआईजी इन्टरनेशनल नेपाल स्थापनापनि गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली आज चीन भ्रमणमा निस्किएको छ । यही भ्रमणको क्रममा चिनियाँ लगानीकर्तासँग साझेदारी गर्ने गरी तयारी भएको बुझिएको छ ।

भ्रमण दलमा रुप ज्योति, उत्तरकुमार श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठपनि सहभागी छन् । रुप ज्योति बुटवल पावर कम्पनीका अध्यक्ष हुन् भने श्रेष्ठ सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । प्रदीप कम्पनीका निर्देशक हुन् ।

भ्रमणको क्रममा करिब १ हजार मेगावाट क्षमताको आयोजना निर्माणका लागि सम्झौता गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीको उपस्थितिमा चिनियाँ कम्पनी र बुटवल पावर कम्पनीबीच सम्झौताको तयारी गरिएको बताइएको छ ।

बुटवल पावरले केही समय पहिलो सो आयोजना चिनियाँ लगानीकर्ताको समेत सहयोगमा भारतीय कम्पनी जीएमआरसँग खरिद गरेको थियो ।

माथिल्लो मस्र्याङ्दी लगायत २ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हिमताल हाइड्रोपावर कम्पनी प्रालिले सबै शेयर बुटवल पावर र चिनियाँ साझेदारलाई बिक्री गरेको छ । हिमतालमा अधिकांश सेयर भारतीय कम्पनी जीएमआरको रहेको थियो ।

बुटवल पावर कम्पनी, चिनियाँ कम्पनी एससीआईसी इन्टरनेसनल लिमिटेड, जिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाईईसीको शेयर लगानी रहने सो आयोजनाको सम्झौता गर्ने तयारी गरिएको छ ।

कूल ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी बनाउन जीएमआर र विश्व बैंक समूह अन्तर्गको अन्तर्राष्ट्रिय वित्त नियोगबीच आयोजना विकास सम्झौता पनि भएको थियो । तर, माथिल्लो कर्णालीमा नै वित्तीय व्यवस्थापन गर्न नसकेको जीएमआरलाई माथिल्लो मस्र्याङ्दी ‘भालूको कम्पट’ जस्तै भएको थियो ।

यस्तै, मस्र्याङ्दी नदीमा नै निर्माण हुने २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी आयोजनापनि चिनियाँ कम्पनीले निर्माण गर्नेछ । सो आयोजनाको समेत सम्झौता गर्ने तयारी छ ।

सो कम्पनीले करिब ९०० मेगावाट क्षमताका दुई महत्वपूर्ण आयोजना निर्माण गर्ने बताएको छ । बुटवल पावरका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले चिनियाँ कम्पनीसँग सम्झौताको तयारी भएको बताएका छन् ।

तीन चिनियाँ र बीपीसीको साझेदारीमा नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि एसीआईजी इन्टरनेसनल कम्पनी स्थापना गरिएकोे उनको भनाई छ ।

बुटवल पावरले थप सार्वजनिक निष्कासन(एफपिओ) जारी गर्ने बेलामा चिनियाँ कम्पनीसँग गर्ने सम्झौताको विषय उल्लेख गरेको थियो । तर,एफपिओ बिक्री भएन । अन्डरराइट गर्ने कम्पनीले किन्नुपर्यो । ५०१ मा एफपिओ बुटवल पावरले जारी गरेपनि अहिले ४४२ रुपैयाँमा दोस्रो बजारमा कारोबार भएको छ ।


क्लिकमान्डु