घरजग्गामा कर्जा दिदा भारतीय सरकारी बैंकको १४ खर्ब डुब्यो



काठमाडौ । अनुत्पादक क्षेत्रमा लगानी गर्दा बैंकको हालत के हुन्छ भनेर हेर्न टाढा गइरहनु पर्दैन । भारतको सरकारी बैंकलाई हेरे पुग्छ ।
भारतको एक रेटिङ एजेन्सी आइसीआरएका अनुसार सरकारी बैंकको १ लाख ४४ हजार करोड रकम डुबेको छ ।

यो पछिल्लो १० वर्ष यताकै ठूलो रकम हो । सन् २०१८ को मार्चसम्म मात्रै सो परिमाणको रकम डुबेको हो । त्यसमा ८३ प्रतिशत बढी पैसा सरकारी बैंकको रहेको छ ।

ठूलो परिमामा पैसा डुबेपछि भारतका सरकारी बैंकले ऋण दिन सक्ने अवस्था नभएको भन्दै बीबीसीले जनाएको छ ।

भारतीय आर्थिक मामिलाका जानकार आशुतोष सिन्हालाई उदृत गर्दै बिबिसिले लेखेको छ- सरकारी बैंक तथा वित्तीय संस्थाले ऋण दिन सक्ने अवस्था नभएपछि त्यसले आर्थिक अवस्थामा नै समस्या पार्न सक्छ ।

अनुत्पादक क्षेत्रमा बढी ऋण लगानी भएपछि समस्या आएको पनि सिन्हाले जनाएका छन् । तर डुबेको भनिएको रकम फिर्ता आउनेमा भने सरकारी अधिकारी अझै पनि विश्वस्त छन् ।

कुनै भारतीय नागरिक सरकारी बैंकमा पैसा लिन गए भने त्यसले सबैभन्दा बढी समस्या भोग्नुपर्नेछ । पैसा नै नभएपछि बैंकले विविभन्न बाहना बनाउन सक्छन् र भन्नेछन्– तपाईंले केही समय प्रतिक्षा गर्नुपर्ने हुनसक्छ ।

सिन्हाकाअनुसार तपाईले बैंकमा १ लाख रुपैयाँ जम्मा गर्नु भएको छ त्यो त बैंकमा रहेको छैन । किनकी उसले अर्को क्षेत्रमा लगानी गरेको हुन्छ ।

पछिल्लो समय भारतमा घर जग्गाको कारोबारमा बढी ऋण लगानी भएका कारण बैंक समस्या परेका हुन् ।

बैंकको यस्तो अवस्था पछि आम नागरिकका लागि समस्या थपिने छ । लोककल्याणका लागि अगाडि सारिएका योजना समेत प्रभावित हुनेछन् । किसानलाई सस्तो व्याजदरमा दिइएको ऋणको समेत व्याजदर बढ्नेछ ।

मध्यम खालका उद्योगी तथा व्यवसायीमा समेत असर पर्ने देखिएको छ । भारतको कूल अर्थतन्त्रको ४५ प्रतिशत हिस्सा मध्यम खालका उद्योगको रहेको छ ।

रोजगारीको अवसर समेत साना तथा मझौला उद्योगमा नै बढी प्राप्त हुने गरेको छ । बैंकमा देखिएको समस्या समाधानका लागि सरकारले भारतको केन्द्रीय बैंकलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको भएपनि त्यो कामयावी हुन सकेको छैन ।

अनुत्पादक क्षेत्रमा गएको रकमका कारण बैंक नै समस्यामा परेपछि त्यसलाई रिकभर गर्ने उपायको खोजीमा केन्द्रीय बैक लागेपनि उपाय फेला नपरेको सिन्हाको दाबी छ ।


पुष्प दुलाल