निमित्त कार्यकारी निर्देशक भट्टराई भन्छन्ः आयल निगम सुधार हुँदैछ




भरतपुर, चितवन । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक शुसील भट्टराईले आयल निगम सुधारको दिशामा रहेको बताएका छन् । कसैले आयल निगमलाई परम्परागत तरिकाले चलाउन चाहिरहेका भन्दै उनले कसैले तर्साए वा धम्क्याए पनि अब आयल निगम नयाँ ढंगले सञ्चालन हुने बताए ।

चितवन पेट्रोलियम डिलर्स एशोसियशनको १८ वार्षिक सााधारणलाई शनिबार भरतपुरमा संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आयल निगम सरकारको नियम/बिनियममा बाँधिएर चल्नु पर्दछ, तसर्थः कुनै व्यक्तिले चाहँदैमा चाँडै परिवर्तन गर्न सकिदैन, तर केही समय लागेपनि अब नयाँ ढंगले काम हुन्छ- उनले भने ।

निगमलाई व्यवस्थित ढंगले सञ्चालन गर्दै १५/१५ दिनमा नाफा नोक्सान सार्वजनिक गरिंदै आएको निमित्त कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धी हुँदा बिरोध हुने गरेका प्रशंग कोट्याउँदै निमित्त कार्यकारी निर्देशक भट्टराईले २०७१ साल असोजबाट स्वचालित मूल्य प्रणाली लागू भएपछि अहिलेसम्म १८ पटक मूल्य घटाएको दृष्टान्त पनि सुनाए ।

इण्डियन आयल कर्पोरेशनबाट सही परिमाणमा पेट्रोलियम पदार्थ ल्याउने र सही परिमाणमा डिलरसम्म पुर्याउने सवालमा चुहावट कम गर्न लकिङ प्रणाली लागु गरिएको बताउँदै उनले लकिङ प्रणालीलाई कोही कसैले असफल बनाउन नसक्ने बताए ।

नेपालमा बिक्री वितरण हुँदै आएको पेट्रोलियम पदार्थ शुद्ध रहेको जिकीर गर्दै उहाँले अब नेपाल आयल निगमको प्रतिबद्धता, परिमाणमा सुनिश्चितता भन्ने अभियानका साथ काम थालिएको बताए । अहिले नेपाल आयल निगमले अनेक खालका बाधाव्यवधान झेलेर भएपनि पेट्रोलियम पदार्थको आपूर्तिमा भने कुनै समस्या आउन नदिएको उनको भनाइ छ ।

पेट्रोलियम व्यवसायीका माग
यसैगरी सोही कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष लिलेन्द्र प्रधानले व्यवसायीहरुले लागत अनुसारको प्रतिफल पाउने वाताबरण निर्माण गर्न नेपाल आयल निगमले सोच्नु पर्ने बताए । सबै व्यवसायी खराब छैनन् भन्दै उनले व्यवसायीका राम्रा पक्षको सम्बन्धित निकायले उजागर गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा एशोसियशनका महासचिव विश्व अर्याल, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष प्रेम न्यौपाने, चितवन पेट्रोलियम डिलर्स एशोसियशनका संस्थापक अध्यक्ष रबीन्द्र पिया, वरिष्ठ सल्लाहकार हरिशरण पाठक, उपाध्यक्ष सरिता सेढाई लगायतकाले व्यवसायीहरुले हाल पाउँदै आएको कमिशनमा ५ प्रतिशतसम्म बृद्धी गर्नु आवश्यक रहेको बताए ।


क्लिकमान्डु