चाइनिज रेलः पाकिस्तानमा धमाधम काम, नेपालमा हल्ला मात्रै !



काठमाडौं । चीनबाट नेपालमा रेल ल्याउन कुरा हल्लामै सीमित छ । नेपालमा विगत एक दशकदेखि रेलमार्गको चर्चा भएपनि अहिलेसम्म ठोस प्रक्रिया अघि बढ्न सकेको छैन ।

तर, चीनले पाकिस्तानमा सन् २०२० सम्म पेशावरदेखि-कराँचीसम्मको रेललाइन निर्माण सक्न लागेको छ । चिनियाँ सहयोगमा निर्माण भइरहेको पहिलो चरणको उक्त परियोजनामा प्रतिघण्टा १६० किलोमिटरको गतिमा दौडने रेल निर्माण भइरहेको छ ।

रेलमार्ग अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने क्रममा रहेको छ । यस्तै दोस्रो चरणमा चिनियाँ सहयोगमा नै मुल्तन हैदरवाद रेलमार्ग निर्माण हुने छ । यस्तै तेस्रो चरणमा हैदरवाद र कराची खण्डको रेलमार्ग समेत निर्माण हुने छ ।

चाइना पािकस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत सो रेलमार्गको काम भइरहेको छ । पाकिस्तानमा सञ्चलन भइरहेको रेलमार्गको स्तारोन्नति गर्ने र नयाँ लाइन निर्माण गर्ने योजना रहेको छ ।

त्यसमा हाल सञ्चालनमा नै रहेको कराँची पेशावर रेललाइनको मुख्य खण्डको काम सम्पन्न हुने छ । एक लाइन मात्रै रहेको रेलमार्गलाई दोहोरो लाइन बनाउने कार्य हाल जारी रहेको छ ।

पाकिस्तानी सञ्चार माध्यमहरुकाअनुसार हाल रेलमार्गको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ । सो रेलमार्गको विस्तार पछि पाकिस्तानको सार्वजनिक यातायाताको करिब ७० प्रतिशत आवागमनलाई लाई सम्बोधन गर्न सकिने दावी गरिएको छ ।

सो रेलमार्ग ४ हजार ६९३ मिटरको उचाईमा रहेको कुन्जेरव पास भएर जाने छ । पाकिस्तानको उच्च उचाईमा रहेको क्षेत्रमा समेत रेल कुदाउने सपना चिनियाँ सहयोगमा पूरा हुन लागेको छ ।

चीन पाकिस्तान इकोनोमिक करिडोरको यो नै महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ । यो रेलमार्ग चीनले नै निर्माण गरिरहेको कराँची र गुदरको बन्दरगाहलाई समेत जोड्नेछ ।

पाकिस्तानको अर्थतन्त्रलाई माथि उकास्ने भन्दै चीनले दुई विशाल बन्दरगाह समेत बनाइरहेको छ ।

ती बन्दरगाह सन् २०३० सम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने चीन र पाकिस्तानको संयुक्त योजना रहेको छ ।

रेलमार्ग विस्तारका लागि ५ बिलियन सन् २०१९ सम्म खर्च गर्ने चीनको योजना रहेको छ ।

चीन पाकिस्तान इकोनोमिक करिडोरको महत्वपूर्ण परियोजनाको नाम दिइएको कराँची पेशावर रेलमार्ग कूल १ हजार ६८७ किलोमिटर लामो रहेको छ । सो रेलमार्गको लागत ३६५ बिलियन रहेको छ ।

पहिलो चरणमा उक्त परिमाणका खर्च गर्ने र क्रमशः खर्चको मात्रा बढाउँदै लैजाने योजना समेत रहेको छ । पहिलो चरणको काम गत वर्ष नै सकिइसकेको छ । हाल सोही रेलमार्गको दोस्रो र तेस्रो चरणको काम जारी रहेको छ ।

दोस्रो चरणको रेलमार्गमा ८.२ बिलियन खर्च हुने छ । सबै रेलमार्गको काम सन् २०२१ भित्र सकिनेछन् । पाकिस्तानमा रेलमार्गबाट वार्षिक ४८० मिलियन आम्दानी हुने छ ।

चिनियाँ रेल इन्जिनियर र पाकिस्तानी प्राविधिकले संयुक्त रुपमा काम गरिरहेका छन् । उनीहरुले एउटा मार्ग मध्यम गतिको र अर्को हाइ स्पीड रेलमार्ग निर्माण गरिरहेका छन् ।

यस्तै चीको सहयोगमा निर्माण भइरहेको कोटरी-अत्तोक दोस्रो रेलमार्गलाई चिनियाँहरुले सुन्तला रंगको नाम दिएका छन् । सो मार्ग १ हजार २५४ किलोमिटर लामो हुनेछ । कोटरी र सिन्ध प्रान्तलाई जोड्ने छ । सो रेलमार्गलाई ज्याकोवावाद र सिन्ध प्रान्तलाई जोड्ने गरी इन्टरसेक्सन समेत गरिनेछ ।

यस्तै तेस्रो चरणमा रोहरी-चमन रेलमार्ग रहेको छ । सो मार्ग ५६० किलोमिटर लामो रहेको छ ।

क्वोटा जोडनका लागि यो रेलमार्ग महत्वपूर्ण मानिएको छ । यस्तै लाहोरमा मेट्रो रेल्वे लाइन निर्माणका लागि समेत चीन पाकिस्तान इकोनोमिक करिडोर अन्तगर्त काम भइरहेको छ । यो मार्ग यसै वर्ष सम्पन्न हुने लक्ष्य प्रक्षेपण गरिएको छ ।

कूल २७.१ किलोमिटर लामो मेट्रो रेलको लागत बारे चीन र पाकिस्तानले सार्वजनिक रुपमा केही बताएका छैनन् । २ लाख ५० हजार यात्रु दैनिक सो मेट्रोले बोक्नेछ भने त्यो बढेर ५ लाख पुग्ने अनुमान गरिएको छ ।

यस्तै तेस्रो चरणमा खुन्जेरव रेलमार्ग रहेको छ । कूल ६८२ किलोमिटर लामो उक्त रेलमार्गले चीन र पाकिस्तानलाई जोड्नेछ । यो रेलमार्ग हाल सञ्चालनमा रहेको काराकोलम राजमार्गको समानान्तर रुपमा निर्माण हुनेछ । यो रेलमार्ग सन् २०३० मा सम्पन्न हुनेछ । सो रेलमार्गको लागत १२ बिलियन रहेको छ ।

चिनियाँ राष्ट्रपति सि जिन पिङले सन् २०१५ मा पाकिस्तान भ्रमण गरेपछि सुरु भएका यी परियोजनाको काम अगाडि बढीरहेको बेला नेपालमा भने विगत १० वर्षदेखि रेलमार्गको हल्ला मात्रै गरिएको छ ।

चिनियाँ सरकार ऋण दिएर रेलमार्ग बनाउन चाहने, नेपाल अनुदानमा रेलमार्ग निर्माण गर्ने माग गर्ने जस्ता विषयले प्रभावकारी रुपमा काम अगाडि बढ्न नसकेको रेलमार्गका जानकारहरुको भनाइ छ ।

सरकारले साँच्चै रेलमार्ग निर्माण गर्ने सोच राखेको हो भने एकमुष्ठ रुमपा रेलमार्ग कुन स्रोतबाट कुन ढाँचामा निर्माण गर्ने भन्ने विषय प्रष्ट पार्नुपर्ने देखिन्छ । अन्यथा रेलमार्गको सपना नेपालका लागि सपनामा नै सिमित हुने वाला छ । पाकिस्तानमा धमाधम रेलमार्ग निर्माण भइरहेको नेपालमा मात्रै हल्ला हुने प्रवृत्तिले काम गर्नेवाला छैन ।

लगानीको ढाँचा तय नगरिकन रेलमार्गको हल्लाले काम गर्दैन । पाकिस्तानमा भइरहेको कामबाट नेपालले केही सिक्ने हो कि ?


पुष्प दुलाल