आन्तरिक राजस्व विभाग भन्छः सेयर बेच्दा नोक्सानी भए कर तिर्नु पर्दैन, बढी तिरेको फिर्ता हुन्छ




काठमाडौं । आन्तरिक राजस्व विभागले सेयर बेच्दा नोक्सानी भए पुँजीगत लाभकर तिर्नु नपर्ने बताएको छ । सेयर लगानीकर्ताले नोक्सानीमा पनि कर लाग्ने ब्यवस्था ल्याइयो भनिरहेको बेलामा विभागको यस्तो भनाइ आएको हो ।

सेयर लगानीकर्ताले किनेकोभन्दा कम वा सोही मूल्यमा सेयर बेच्दा पुँजीगत लाभकर तिर्नु नपर्ने विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले बताए ।

‘घाटा खाएर सेयर बेच्दा पनि पुँजीगत लाभकर तिर्नुपर्छ भन्ने प्रकारको सन्देश प्रवाह भएको मैले पनि सुनेँ, त्यस्तो होइन, किनेको मूल्यभन्दा बढीमा बेच्दा जति फाइदा हुन्छ, त्यसमा पुँजीगत लाभकर लाग्ने हो,’ प्रवक्ता ढुंगेलले क्लिकमाण्डूसँग भने ।

यस्तै उनले सेयर कारोबारको बर्षभरीको विवरणको आधारमा फाइदा भए सो अनुसार कर तिर्दा हुने र नोक्सानी वा बराबरीमा कारोबार भएको भए कर तिर्नु नपर्ने पनि बताए ।

‘दोस्रो बजारबाट किनेको सेयरको हकमा खरिद मूल्य र विक्री मूल्यको आधारमा फाइदा भयो कि नोक्सानी भयो भन्ने थाहा भइहाल्छ, बोनस र हकप्रदको हकमा प्रतिशेयर १०० रुपैयाँभन्दा बढी जतिमा बेच्यो त्यसको आधारमा पुँजीगत लाभकर लाग्छ, र बर्षको अन्त्यमा सेयर किनबेच गर्ने ब्यक्तिले आय विवरण कर कार्यालयमा बुझाउनु पर्छ, त्यो विवरणमा बर्ष भरीमा सो ब्यक्तिले नाफा गरेको भए कर तिर्नुपर्यो, नोक्सान भएको भए बोनस र हकप्रदमा पहिला तिरेको कर अर्काे बर्ष एड्जस्टमेन्ट गर्न पाइन्छ, आयकर ऐनले अन्य ब्यवसायमा जे जस्तो ब्यवस्था गरेको छ, सेयर कारोबारको हकमा पनि त्यस्तै हो,’ ढुंगेलले भने ।

उनले घाटामा सेयर बेच्दा पनि कर तिर्नुपर्ने नियम ल्याइएको भन्ने आरोपको खण्डन गरे ।

‘कुनै पनि ब्यवसाय नोक्सानीमा छ भने त्यसमा कर लाग्दैन, अग्रिम रुपमा तिरेको कर बर्षको अन्त्यमा आय विवरण बुझाउँदा बढी गएको देखियो भने पनि अर्काे बर्ष हिसाब मिलान गर्न पाइन्छ, आयकर ऐनले यस्तो सुविधा ४ बर्षको लागि दिएको छ, सेयर लगानीकर्ताले बर्षभरीमा एउटा मात्रै कारोबार गर्ने ढंगले बुझ्नु भएन, बर्षभरी धेरैवटा कारोबार गर्दा ती कारोबारबाट नाफा वा नोक्सान के भयो भन्ने आधारमा कर तिर्नु पर्ने वा नपर्ने तय हुन्छ,’ ढुंगेलको भनाइ छ ।


क्लिकमान्डु