तिम्रो हिसाब मिलेन सरकार, फिर्ता गर सेयरमा करको नयाँ ब्यवस्था




काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक बर्षमा ३ कित्ता सेयर हुनेलाई एक कित्ता हकप्रद किन्न पाउने गरी हकप्रद सेयर निस्कासन गर्यो । सो बर्ष उसको अधिकतम सेयर मूल्य प्रतिकित्ता १८०० रुपैयाँ पुगेको थियो ।

अर्थात एउटा लगानीकर्ताले प्रतिकित्ता १८०० रुपैयाँका दरले ५४०० लगानी गरेर ३ कित्ता किनेपछि उसले थप १ कित्ता हकप्रद पाउने भयो । एक कित्ता हकप्रद सेयर किन्नको लागि पनि उसले थप १०० रुपैयाँ लगानी गर्नु परिहाल्यो । अर्थात उसले ५५०० लगानी गरेर ४ कित्ता पायो । अब हकप्रदको मूल्य पनि एउटै मानेर हिसाब गर्ने हो भने लगानीकर्ताको सो बैंकको सेयरमा प्रतिकित्ता १३५० रुपैयाँ लगानी भयो ।

एभरेष्टले गत बर्षको नाफाबाट ३३ प्रतिशत बोनस सेयर दियो । अर्थात ३ कित्ता सेयर हुनेले १ कित्ता बोनस सेयर पायो । अर्थात त्यही ५५०० रुपैयाँ लगानी गरेको सो लगानीकर्तासँग अहिले एभरेष्ट बैंकको ५ कित्ता सेयर (५४०० मा किनेका ३ कित्ता, १०० रुपैयाँमा किनेको एक कित्ता हकप्रद र ३३ प्रतिशत बोनस सेयरका दरले पाएको थप एक कित्ता) छ ।

यो तथ्यांकबाट के देखिन्छ भने एभरेष्ट बैंकको प्रतिकित्ता १८०० रुपैयाँमा किनेको सेयरको मूल्य सो लगानीकर्तालाई आजको मितिमा हिसाब गर्दा खुद लागत प्रतिकित्ता ११०० रुपैयाँ पर्यो ।

जेठ २० गते आइतबार एभरेष्ट बैंकको सेयर प्रतिकित्ता ७२६ रुपैयाँमा कारोबार बन्द भयो । प्रतिकित्ता १८०० रुपैयाँमा ३ कित्ता सेयर किनेको लगानीकर्तालाई हिजोको मितिमा प्रतिकित्ता ३७४ रुपैयाँ खुद नोक्सानी छ ।

त्यो लगानीकर्ताले हिजोको दिनमा एभरेष्ट बैंकको ५ कित्ता नै सेयर बेचेको भए ३६३० रुपैयाँ पाउँथ्यो । जबकि उसको लगानी ५५०० रुपैयाँ भएको थियो । हिजो बेच्दा उसलाई १८७० रुपैयाँ नोक्सानी भएको थियो ।

तर, अहिले सरकारले विचित्रको हिसाब निकालेको छ । आइतबारै सार्बजनिक भएको आन्तरिक राजस्व विभागको गोप्य पत्र अनुसार पनि सो बैंकको ३ कित्ता सेयर किन्नेकै हिसाब गरेर हेरौं ।

हामीले माथि नै भनिसक्यौं कि सेयर किन्ने सो ब्यक्तिले ५५०० रुपैयाँ लगानी गरेर ५ कित्ता सेयर पाएको छ । तर आन्तरिक राजस्व विभाग त्यो ५ कित्तामध्ये तिमीले किन्न पाएको हकप्रदको लागत १०० रुपैयाँ हो र, सित्तैमा पाएको भएपनि १ कित्ता बोनस सेयरको लागत पनि १०० रुपैयाँ नै मानिदिउँला भन्छ । र, उसले थप के पनि भन्छ भने बोनस र हकप्रदमा प्रतिकित्ता १०० रुपैयाँ लागत मानी सोभन्दा बढीको नाफामा पुँजीगत लाभकर तिर ।

हिजोको दिनमा तपाइसँग भएको एभरेष्ट बैंकको त्यो ५ कित्तामध्ये सुरुमा किनेको ३ कित्ता सेयर प्रतिकित्ता १८०० रुपैयाँभन्दा कममा बेच्दासम्म हामीलाई मतलव भएन, बढीमा बेच्यौं भने जति बढी हुन्छ, त्यसको ७.५ प्रतिशत पुँजीगत लाभकर तिर भन्ने आन्तरिक राजस्वको भनाइ छ । हिजोको दिनमा तपाइले १८०० मा किनेको एभरेष्टको सेयर ७२६ रुपैयाँमा बेचेको भए त्यसमा राजस्वको कुनै सरोकार रहने भएन ।

अब तपाइसँग हकप्रदमा किनेको एक कित्ता र बोनसमा पाएको १ कित्ता सेयर छ । राजस्वले यसको लागि बेग्लै ब्यवहार गर्ने हो । त्यो ब्यवहार के हो भने हिजो तपाइले बोनस र हकप्रद सेयर ७२६ मा बेच्नुभयो भने त्यसको लागत १०० रुपैयाँ मानेर तपाईलाई प्रतिकित्ता ६२६ रुपैयाँ पुँजीगत लाभ भयो । त्यो लाभको ७.५ प्रतिशतका दरले २ कित्ताको ९३ रुपैयाँ ९० पैसा पुँजीगत लाभकर तिर भन्ने आन्तरिक राजस्वको भनाइ हो ।

सरकारले अहिले ल्याएको करको ब्यवस्था किन गलत छ भने माथिको उदाहरणमा तपाइले किनेको ३ कित्ता सेयरमा हकप्रद र बोनस सेयर प्राप्त भएपछि आजको मूल्यमा बेच्दा पनि तपाइलाई १८७० रुपैयाँ नोक्सानी छ । तर सरकार तिमीलाई लाभ भयो भन्दै ९३.९० रुपैयाँ कर मागिरहेको छ ।

एभरेष्ट बैंकको यो उदाहरण प्रतिनिधिमुलक मात्रै हो । यस्तै अबस्था सुचिकृत कम्पनीहरुको सेयरमा हुन्छ ।

कसैले नाफा कमाउँछ भने राज्यले त्यसमा कर लगाउनु पर्छ । तर नोक्सानी भएकै अबस्थामा पनि कर तिर भन्ने कानुनी राज्यको अबधारणा होइन । यो त तानाशाही अधिनायकबादी चरित्र हो । कानुनी राज्यको अवधारणा विपरितको यो हरकत राज्यले तत्काल बन्द गर्नुपर्छ ।


क्लिकमान्डु