बैशाख लागेसँगै घट्यो घरजग्गा कारोबार, व्यवसायीहरु नयाँ बिकल्पको खोजीमा




काठमाडौं । बैशाख महिनामा सरकारले घरजग्गाको कारोबारबाट १ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गर्यो । जबकि चैत महिनामा यस्तो राजस्व संकलन २ अर्ब २३ करोड रुपैयाँ थियो ।

चैत महिनाको तुलनामा बैशाख महिनामा घरजग्गा रजिष्ट्रेशनबाट उठेको राजस्व करिब २० प्रतिशतले घटेको हो ।

बैशाख मसान्तसम्ममा देशभरबाट १७ अर्ब ८८ करोड रुपैयाँ राजस्व उठेको छ ।

बैशाख महिनामा काठमाडौं उपत्यकाका मालपोत कार्यालयले ९ करोड राजस्व उठाएका छन् । चैत महिनामा ११ करोड रुपैयाँ काठमाडौंका मालपोत कार्यालयबाट उठेको थियो ।

बैशाख महिनामा काठमाडौं उपत्यकामा सबै मालपोत कार्यालयले उठाएको राजस्व घटेको छ ।

काठमाडौं उपत्यका बाहिर पनि मालपोतबाट उठ्ने राजस्व घटेको देखिएको छ । सरकारले नयाँ कित्ताकाट रोकेपछि घरजग्गा व्यवसायमा नयाँ प्लटिङ भएको छैन । सर्बोच्च अदालतले पनि सरकारको निर्णय सदर गरेपछि जग्गा प्लटिङ गर्ने व्यवसायीहरु पलायन हुने तयारीमा छन् ।

‘प्लटिङ भएको जग्गाको मूल्य घटेको छैन, नयाँ प्लटिङ गर्न पाइएको छैन, बिकल्प खोज्नुपर्ने अवस्था आएको छ,’ एक घरजग्गा व्यवसायीले क्लिकमाण्डूसँग भने ।

कित्ताकाट रोकिएपछि काठमाडौंमा घरजग्गाको कारोबार कम हुँदै गइरहेको छ । भूमि सूधार तथा व्यवस्थापन विभागका अनुसार कित्ता काट रोकिएकै कारण पछिल्लो समय जग्गा कारोबार घटेको हो ।

विभागका प्रवक्ता राम दत्त भट्ट पछिल्लो समय कित्ताकाट रोकिएको र एउटा जग्गा एक वर्षमा एक पटक मात्र टुक्रयाउन पाइने भएकोले जग्गा कारोबारमा कमी आएको बताउछन् ।

‘कित्ताकाट रोकिएको छ, अझ एक वर्षमा एक पटक मात्र जग्गा बाँडफाँड गर्न पाइने व्यवस्था लागू भएदेखि जग्गाको कारोबार पनि कम भएको हुन सक्छ,’ उनले भने ।

यस्तै जग्गा कारोबार गर्दै आएका एनबी गुरुङका अनुसार पछिल्लो समय जग्गा कम भएको र सबै प्लटिङमा परिवर्तन भएका कारण विक्री कम भइरहेको छ ।

‘जग्गा छन् तर कम, त्यसैले पनि कारोबार थोरै भएको हो, सानो टुक्रा जग्गाको मूल्य बढेको बढै छ, धेरै जग्गा भाको ठाउँमा जग्गा कारोबार ठिकै छ,’ गुरुङले भने ।

उनका अनुसार हाल चोभारको खोकनामा गोरेटोमा १२ देखि १३ लाख रुपैयाँ प्रतिआना, बाटो नभएको जग्गा प्रतिआना ८÷९ लाख रुपैयाँ, प्लटिङमा २० लाख रुपैयाँ आना र प्लटिङ बाहिर १९ लाख रुपैयाँ आनामा जग्गा किनबेच भइरहेको छ ।

काठमाडौं उपत्यका बाहेक बाहिरका जिल्लामा पनि घरजग्गा कारोबारको अवस्था राम्रो छैन । कतिपय नगरपालिकाले नै कित्ताकाट रोक्ने निर्णय गरेका छन् । प्रदेश राजधानीको कारण केही महिना घरजग्गा कारोबार बढेपनि अहिले सबैतिर बजार सुस्ताएको अवस्था छ ।

काठमाडौं उपत्यका बाहिर बढी घरजग्गाको कारोबार हुने मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा कारोबार चैत महिनाको तुलनामा बैशाख महिनामा घटेको देख्न सकिन्छ ।

बैशाख लागेपछि देशभर नै घरजग्गाको कारोबारमा सुस्तता आएको हो । सरकारले घरजग्गामा थप नयाँ नीति लिने अनुमान यो क्षेत्रका कारोबारीको छ । अहिले वास्तविक रुपमा चाहिनेले मात्र किनबेच गरेपनि लगानीको लागि घरजग्गा किन्नेहरु घटेका अनुमान व्यवसायीको छ ।


क्लिकमान्डु