चामलको बोराले बन्छ १० दिनमै ३ लाख लागतमा भुकम्प प्रतिरोधी घर




काठमाडौं । बालुवाले बनाएको घर पानीले बगाउछ भन्ने उखान तपाई हामी सबैले सुनेका छौँ । तर, यही उखानलाई गलत साबित गरेर देखाएको छ अपरेसन होप फाउण्डेसनले ।

फाउण्डसनले भुकम्प पछिको अवस्थालाई मध्यनजर गर्दै चामलका रित्ता बोरामा बालुवा/माटो भरेर घर बनाउने नयाँ अबधारणा सबैमाझ ल्याएको छ । यो प्रविधि घर बनाउनका लागि कम खर्चिलो, सरल र दिगो रहेको फाउन्डेसनकी प्रतिनिधि सृजना श्रेष्ठले बताइन् ।

यो प्रविधिबाट घर बनाउदा एउटा घर बनाउन २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म लगानी लाग्नेछ । ३ लाख रुपैयाँको लगानीमा २ सय वर्गफिटमा २ कोठाको एक तले घर बनाउन सकिने फाउन्डेसनको भनाइ छ ।

७ जना जति मानिसको सहयोगमा चामलको बोरा विधिबाट एक तले घर निर्माण गर्न ७ देखि १० दिन लाग्ने फाउण्डेसले जानकारी दिएको छ ।

यो विधिबाट घर बनाउदा चामलको रित्ता बोरामा बालुवा/माटो भरिन्छ । बालुवा/माटोले भरिएको बोराले घरको भित्ता बनाउने काम गरिन्छ । यसलाई दह्रो बनाउका लागि प्रत्येक बोराका तहमा काँडेतारले बाधिन्छ ।

भित्तालाई पक्की बनाउनका लागि बोराहरुलाई केही फलामे तारले बारिन्छ र त्यसमा बाहिरबाट प्लास्टर गरिन्छ । घरको छानामा भने जस्तापाता प्रयोग हुन्छ ।

 

पहाडी भेग तथा ग्रामीण स्थानमा बालुवा, इट्टा, सिमेन्ट लगायतका सामाग्रीहरु पुराउन समस्या हुने र ढुवानी अर्च पनि बढी लाग्ने भएकै कारण यो विधिबाट घर बनाउनका लागि गाउघरमै पाइने माटोको पनि प्रयोग गर्न सकिने श्रेष्ठले बताइन् ।

चामलको बोरामा बालुवा/माटोको प्रयोग गरेर घर बनाइएका हुनाले गर्मीमा चिसो र जाडोमा न्यानो हुने फाउण्डेनको दाबी छ ।

यो विधिबाट घर बनाउन शहरी विकास तथा भवन विभागले डियूडिबिसी ईबी ८.१ द्धारा स्वीकृति दिएको श्रेष्ठले बताइन् ।

अपरेसन होम फाउन्डेसन सन् २००१ सालमा सिंगापूरमा परोपकारी संस्थाको रुपमा व्यापारी रबर्ट कीले दर्ता गरेका हुन् । हालसम्म फाउण्डेसनले नेपालमा १ सय १४ वटा घर निर्माण गरिसकेको छ ।

यो फाउण्डेसनको सुरुवात कम्बोडियाबाट भएको हो । यसले गरिब बालबालिकाहरु, ग्रामीण जवानहरु र गरिब गाउँलेहरुलाई सहायता गर्न समुदायका लागि विभिन्न कार्याक्रमहरु सञ्चालन गर्दै आएको छ ।


क्लिकमान्डु