नेपालका छिमेकी चीन र भारतले बर्षमा कति भित्र्याउछन् एफडिआइ ?




सन् २०१७ मा विश्वभर कूल गार्हस्थ उत्पादन (जीडीपी) मा बृद्धि भएको बताईरहँदा प्रत्यक्ष वैदेशिक लगानीमा भने कमी आएको छ । संयुक्त राष्ट्रसंघीय निकाय कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्टले सार्वजनिक गरेको रिर्पोट अनुसार २०१७ मा प्रत्यक्ष वैदेशिक लगानीमा १६ प्रतिशतले कमी आएको छ ।

सन् २०१६ मा प्रत्यक्ष वैदेशिक लगानी १८१० अर्ब अमेरिकी डलर थियो भने २०१७ मा घटेर १५ सय २० अर्ब अमेरिकी डलर पुग्यो ।

सन् २०१७ मा अमेरिका सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सफल रह्यो । उसले २०१७ मा ३ सय ११ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको तथ्याकंले देखाएको छ ।

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने देशमा अग्र स्थानमा रहेपनि २०१७ मा अमेरिकामा प्रत्यक्ष वैदेशीक लगानीको मात्रामा २७ प्रतिशतले कमी आएको छ । अमेरिकामा २०१६ मा ४ सय ५७ अर्ब अमेरीकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

अमेरिकामा प्रत्यक्ष वैदेशिक लगानीको मात्रामा कमी देखिए पनि अमेरिकाले नेदरल्याण्डमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी गर्ने गर्छ । उसले सन् २०१७ मा नेदरल्याण्डमा ८ सय ४७ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी गरेको थियो । अमेरिकाले दक्षिण कोरियामा सबैभन्दा थोरै ३९ अर्ब अमेरीकी डलर लगानी गरेको थियो ।

यता भारत धेरै वैदेशिक लगानी भित्र्याउने देशको दशौँ स्थानमा परेको छ । भारतले सन् २०१७ मा ४५ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको छ ।

सार्वजनिक भएको तथ्यांक अनुसार अमेरिका, चीन र हङकङ धेरै वैदेशिक लगानी भित्र्याउने प्रमुख तीन देश हुन् । २०१७ को रिर्पोट अनुसार एसिया प्रत्यक्ष वैदेशिक लगानीको पहिलो आकर्षण बन्न थालेको छ । विश्व बजारमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी हुँदा पनि एसियामा भने २०१७ मा प्रत्यक्ष वैदेशिक लगानी २ प्रतिशतले बढेको छ ।

एसियामा २०१७ मा ४ सय ५९ अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।

धेरै प्रत्यक्ष वैदेशिक लागनी भित्र्याउने देशमा नेदरल्याण्ड, आयरल्याण्ड, अस्ट्रेलिया, ब्राजिल, सिगांपुर र फ्रान्स रहेका छन् । एसियाली मुलुकमा चीनले १ सय ४४ अर्ब अमेरीकी डलर, हङकङले ८५ अर्ब अमेरीकी डलर, सिगांपुरले ५८ अर्ब अमेरिकी डलर र भारतले ४५ अर्ब अमेरिकी डलर प्रत्यक्ष लगानी स्वरुप भित्र्याएका छन् ।

एसियाली देशमा युरोपियन युनियन र दक्षिण अमेरिकाको सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी रहेको रिर्पोटमा उल्लेख गरिएको छ । तथ्याकं अनुसार युरोपमा पनि सन् २०१७ मा प्रत्यक्ष वैदेशिक लगानीमा २७ प्रतिशतले कमी आएको थियो । यसका वावजुद पनि युनियनले एसिया र अफ्रिकामा भने प्रत्यक्ष वैदेशिक लगानीमा कुनै कमी देखाएन् ।

प्रत्यक्ष वैदेशिक लगानीमा सन् २००३ यताकै सबैभन्दा कम लगानी २०१७ मा भएको छ ।

तथ्याकं अनुसार सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी युरोपमा हुने गर्छ । युरोप पछि एसिया र दक्षिण अमेरिका प्रत्यक्ष वैदेशिक लगानीका आर्कषक क्षेत्र मानिन्छन् । सबैभन्दा कम प्रत्यक्ष वैदेशिक लगानी अफ्रिकन देशमा भएको देखिन्छ । सन् २०१६ मा युरोपमा ५ सय ३३ अर्ब अमेरिकी डलर लगानी हुँदा अफ्रिकामा भने ५९ अर्ब अमेरिकी डलर मात्रै प्रत्यक्ष वैदेशिक लगानी गएको देखिन्छ ।

कुल प्रत्यक्ष वैदेशिक लगानीको ६.५ प्रतिशत उत्पादनमुलक उद्योगमा लगानी हुने गर्छ । जुन सबैभन्दा धेरे हो । त्यसैगरि सबैभन्दा कम १.४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी उत्खनन उद्योगमा हुने गरेको तथ्याकंले देखाएको छ ।


क्लिकमान्डु