सत्ता सम्हालेको एक बर्षमा के-के गरे उपत्यका बाहिरका ४ महानगरले ?




काठमाडौं । मुलुक संघीय संरचनामा गएपछि २०७४ बैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचन मार्फत दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधि छनौट गर्ने अधिकार जनताले प्राप्त गरेका थिए ।

निर्वाचन अघि नै बनेको राज्य पुनसंरचना आयोगले स्थानीय तहको सीमा, क्षेत्रफल, काम, कर्तब्य र अधिकार तय गरेको थियो ।

स्थानीय तहको निर्वाचनपछि गठन भएको काठमाडौं र ललितपूर महानगरको बारेमा विभिन्न समाचार आउने गरेपनि उपत्यका बाहिरका महानगरका बारेमा भने खासै चर्चा हुने गरेको छैन ।

उपत्यका बाहिरका महानगरपालिकाले निर्वाचन सम्पन्न भएको करिब एक वर्ष पुग्नै लाग्दा के कस्ता काम गरे त ? जनप्रतिनिधिले जनताले प्रत्यक्ष राहत महसुस गर्न सक्ने गरि के कस्ता योजना लागु गरे र गर्दै छन् ? क्लिकमान्डुले जान्ने प्रयास गरेको छ ।

स्मार्ट सिटी बनाउँदै पोखरा लेखनाथ महागर
३३ वडा भएको पोखरा लेखनाथ महानगर पालिकाले एक वर्षको अवधिमा स्थानीय सरकार संञ्चाचलन ऐन २०७४ ले प्रदान गरेको अधिकार अन्र्तगत रहेर १७ वटा नियमावली जारी गरेको महानगरपालिकाका सहायक प्रमुख कार्यकारी अधिकृत यामलाल अधिकारीले जानकारी दिए ।

पोखरा लेखनाथले शिक्षा, स्वास्थ्य, आन्तरीक व्यवस्थापन र विकासका कार्यक्रमसँग सम्बन्धि नियमावली पास गरेको छ ।

पोखरा लेखनाथले अहिले साना ठूला गरी करिब ५ हजार योजना संञ्चलन गरिरहेको समेत उनले जानकारी दिए । उनका अनुसार यीमध्ये धेरै योजना अहिले कार्यान्वयवनको चरणमा छन् ।

पोखरा महानागर अहिले स्मार्ट सिटीको अवधारणा पनि तयार गर्दैछ । अधिकारीका अनुसार महानगरपालिकाले स्मार्ट सिटी निर्माणको लागि अध्ययन सुरु गरिसकेको छ ।

यसका साथै महानगरपालिकाले आफ्ना सबै काम अनलाईबाटै गर्ने तयारी पनि गरेको छ । महानगरले यही साउनबाट आफ्ना सबै सेवा अनलाईनबाटै प्रदान गर्ने उनले जानकारी दिए । महानगरले ट्रयाक खोलिएका बाटोको स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कामलाई तिव्रता दिएको छ ।

फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना पनि यही साउनबाट भत्काउन सुरु गरिने अधिकारीले जानकारी दिए । अदालतले फेवाताल वरिपरि रहेको मापदण्ड विपरितका संरचना हटाउने आदेश दिएपछि अहिले महानगर मापदण्ड विपरित निर्माण गरिएका संरचनाको सूचि तयार गर्दैछ ।

अधिकारीका अनुसार नक्सा पास गरेरै निर्माण गरिएका कतिपय संरचना समेत हटाउनुपर्ने देखिएको छ । त्यस्ता संरचनाको क्षतिपुर्ति कति तिर्ने भनेर मापदण्ड बनाउने तयारीमा महानगर लागेको छ ।

महानगरले फेवातालको जलकुम्भी सफा गर्नको लागि युरोपबाट मेसिन समेत गरिद गरेको छ । उक्त मेसिनले फेवाताल लगायतका अन्य तालको फोहोर सफा गर्ने गरिएको छ ।

४ अर्ब रुपैयाँ बजेट रहेको महानगरले बजेटको अधिकांश रकम खर्च गरेको बताएको छ । यसका देशकै प्रमुख पर्यटकीय गन्तब्य मानिने पोखरा महानगरले पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीको संख्या पनि थप गरेको छ ।

पर्यटकलाई आकस्मिक स्वाथ्य सेवा दिनको लागि महानगरका विभिन्न स्थानमा प्राथमिक स्वास्थ्य केन्द्र पनि स्थापना गरिएको छ । पोखरा महानगरपालिकाले पर्यटक व्यस्थापनको लागि पर्यटन नियामावली पनि तयार गर्दैछ । अधिकारीका अनुसार नियमावलीको पहिलो मस्यौदा तयार भईसकेको छ । स्थानीय तह गठन पछि आधारभुत सेवा घर दैलोमा पुगेकोमा स्थानीयवासी खुसी भएको समेत उनले दाबी गरे ।

हजार योजना बोक्दै वीरगञ्ज महानगरपालिका
३० वटा वडा रहेको वीरगञ्ज महानगरले असोज दुई गतेपछि मात्रै जनप्रतिनिधि पाएको थियो । विरगञ्ज महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल रेग्मीका अनुसार निर्वाचन लगत्तै दशैँ तिहार र छठ जस्ता पर्व परेका कारणले महानगरले पर्याप्त काम गर्न पाएन ।

त्यसको लगत्तै प्रदेशस्तरीय निर्वाचन भएकोले महानगरपालिकाले धेरै काम गर्न नपाएको उनले बताए । उनका अनुसार महानगरले आफ्नो पूर्ण क्षमतामा काम गर्न थालेको जम्मा चार महिना मात्रै पुगेको छ ।

बीरगञ्ज महानगरले पहिलोपटक शिक्षा नियमावली लागू गरेको छ । स्थानीय निकाय संञ्चालन ऐन २०७४ मा स्थानीय तहले आफ्ना सबै नियमावली स्थानीय राजपत्र मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । उक्त व्यस्था अनुसार अहिले बीरगञ्ज महानगर राजपत्र प्रकाशनको तयारीमा रहेको छ ।

वीरगञ्ज महानगरले जनप्रतिनिधि पाए पनि अझै पर्याप्त कर्मचारी भने नपाएको उनले जानकारी दिए । प्रदेश सरकारले तय गरेका कानूननसँग नबाझिने गरी कानून बनाउने महानगरको योजना छ । प्रदेश सरकारले अझै कानून तर्जुमा नगरिसकेकोले बीरगञ्जले पनि कानून बनाउन नसकेको रेग्मीले बताए ।

महानगरले अहिले सघन सहरी विकास योजना सञ्चालन गरिरहेको छ । बीरगञ्ज घण्टाघर नजिक सभाहल निर्माणको लागि डिपिआर तयार गर्ने काम भईरहेको छ । यसका साथै महानगरमा ढल र नाला निर्माण गर्ने कार्य पनि चलिरहेको रेग्मीले जानकारी दिए ।

वीरगन्जसँग अहिले करिब १ हजार योजना छन् । यीमध्ये सबै योजना कार्यान्वयन भने नभएको रेग्मी बताउँछन् । उनका अनुसार महानगरका जनप्रतिनिधि र कर्मचारीबिच अझै तालमेल मिल्न सकेको छैन ।

‘जनप्रतिनिधिहरु कानूनको ख्यालै नगरी काम गर्न भन्नुहुन्छ तर कर्मचारी कानूनभन्दा बाहिर गएर काम गर्न सक्दैनन्,’ उनले भने ।

कर्मचारी र जनप्रतिनिधि दुवैलाईसँगै राखेर प्रचलित कानूनको जानकारी गराउनुपर्ने आवश्यकता अहिले वीरगञ्ज महानगरले महसुस गरेको छ ।

३ अर्ब रुपैयाँ बजेट रहेको महानगरले बजेटको ५० प्रतिशत रकम पनि खर्च गर्न नसकेको रेग्मीले जानकारी दिए । उनी अझै धेरै जनप्रतिनिधिलाई प्रचलित कानूनको बारेमा जानकारी नभएको दावी गर्छन् ।

वडाका सबै सडक कालोपत्रे गर्दै भरतपुर महानगर
अदालतसम्म पुगेको भरतपुर महानगरको निर्वाचन परिणमले समग्र देशको ध्यान आर्कषित गरेको थियो । प्रचण्डपुत्री मेयर रहेको भरतपुर महानगरले अहिले ७ वटा नियमावली पास गरेको छ । सिटीहल, रंगशाला र रिङरोड निर्माणलाई महानगरले पहिलो प्राथमिकतामा राखेको छ ।

आगामी एक वर्षभित्र महानगरले आफ्ना सबै २९ वटा वडाको सडक कालोपत्रे गर्ने लक्ष्य लिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुबेदी प्रयासले जानकारी दिए ।

यसका साथै महानगरले शिक्षा, स्वास्थ र सहकारी जस्ता क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको समेत उनले बताए । ३ अर्ब ५० लाख रुपैयाँ बजेट रहेको महानगरसँग १५ सय भन्दा धेरै योजना छन् । महानगरले विकासका लागि करको दायरा समेत बढाउँदै महानगरभित्रका सबै व्यवसायलाई करको दायरामा ल्याएको सुबेदीले जानकारी दिए ।

यसका साथै महानगरले केन्द्र सरकारले स्विकृत गरेका पाठ्यक्रम अनुसार प्रावधिकि शिक्षाका लागि पाठ्यक्रम तर्जुमा पनि गर्दैछ ।

पहिलो वर्ष भएकाले वडास्तरका जनप्रतिनिधिले ठोस कार्ययोजना ल्याउन नसकेको उनले बताए । पहिलो वर्षको धेरै समय योजना तय गर्दैमा बितेको उनले सुनाए ।

सघन सहरी विकास गर्दै विराटनगर महानगर
विराटनगर महानगरपालिकाले एसियाली विकास बैँकसँगको सहकार्यमा गरिरहेको ढल तथा नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

यसका साथै विराटनगरले सघन सहरी विकास योजना पनि सञ्चालन गरिरहेको छ । सभागृह र बसपार्क निर्माणको कार्यमा पनि महानगरपालिका जुटेको छ । यसका साथै तारणी प्रसाद कोईराला संञ्चारग्राम निर्माणको कार्यमा पनि विराटनगर महानगर सक्रियताका साथ लागेको छ ।

भारतीय दुतावासको सहयोगमा महानगरले गुरुकुल नाटकघर निर्माण पनि गर्दै छ । १९ वटा वडा रहेको महानगरले सबै वडाका सडकको स्तरोन्नतीको कार्यलाई पनि प्राथमिकतामा राखेको महानगरको योजना महाशाखा प्रमुख भरत न्यौपानेले जानकारी दिए ।

अहिले महानगरसँग १ हजारवटा योजनाछन् । धेरेजसो योजना सडक, ढल खानेपानी र नालसँग सम्बन्धीत रहेको महानगरले जानकारी दिएको छ । महानगर स्वास्थ्य चौकी तथा विद्यालय भवन निर्माणमा पनि सक्रियाताका साथ लागेको छ ।


क्लिकमान्डु