चीनबाट फर्केपछि नेपाली टोलीको निष्कर्षः केरुङ-काठमाडौं रेलमार्गमा चिनियाँ नै विश्वस्त छैनन्




काठमाडौं । चीनको केरुङदेखि काठमाडौंसम्म रेल संचालन गर्न सकिने विषयमा चिनिया पक्ष नै अनविज्ञ रहेको नेपाली टोलीले निष्कर्ष निकालेको छ । चीनको एक साता लामो भ्रमणपछि फर्केको नेपाली प्रतिनिधिमण्डलले यस्तो निष्कर्ष निकालेको हो ।

केरुङ–काठमाडौं रेलमार्गको आवश्यक छलफल गर्न भन्दै नेपाली टोली चीन गएको थियो । सो रुटमा रेलमार्ग बनाउने विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच चीनको सियानमा उच्चस्तरीय छलफल तथा भेटवार्ता भएको थियो ।

नेपाली टोली र चिनियाँ टोलीका प्रतिनिधिबीच केरुङ–काठमाडौं रेलमार्ग बनाउने विषयमा छलफल भएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

‘विश्वको जटिल भौगोलिक खण्ड पर्ने भएकाले हाम्रो लागि यो एक प्रयोगशाला हो, सो स्थानको भौगोलिक अवस्थाको राम्रोसँग अध्ययन नगरी अहिले नै रेलमार्ग बनाउन सकिन्छ भन्न सकिने अवस्था रहदैन,’ चिनियाँ टोलीको भनाइ उधृत गर्दै उपाध्यायले क्लिकमाण्डूसँग भने ।

चिनिया पक्षले नेपाली प्रतिनिधिमण्डललाई यस्तो प्रतिक्रिया दिएपनि सो क्षेत्रको अध्ययन भने गर्ने प्रतिबद्धता जनाएको छ ।

चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि विभिन्न चरणमा अध्ययन गर्नेछ । सोही अध्ययन प्रतिवेदनका आधारमा रेलमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने छ ।

पछिल्लो समय चीनले केरुङ नाकाबाट नेपालसँगको व्यापारिक सम्बन्ध विस्तार गर्न खोजिरहेको छ । जसका करण केरुङ–काठमाडौं रेलमार्गलाई चीन सरकारले विषेश प्राथमिकताको सुचीमा राखेको छ । नेपाल सरकारले पनि केरुङबाट काठमाडौंसम्म रेल ल्याउने बताइसकेको छ ।

सो अध्ययनबाट सकारात्मक नतिजा प्राप्त आए मात्र रेलमार्ग बनाउने प्रक्रियाको थालनी हुनेछ । हाल भइरहेका छलफलका आधारमा केरुङ–काठमाडौं रेलमार्ग विश्वको महँगो आयोजना मध्ये एक हुने देखिएको नेपाली र चिनियाँ पक्षको निष्कर्ष छ । आयोजना बनाउन अधिक खर्च लाग्ने भएकाले नेपाल सरकारको पूर्ण लगानीमा बनाउन सम्भव छैन । त्यसका लागि चीन सरकार वा वैदेशिक सहायताको खाँचो पर्ने रेल विभागको भनाइ छ ।

‘चिनियाँ प्रतिनिधिले केरुङ–काठमाडौं रेलमार्गको अध्ययन गर्ने विषयमा सहमति जनाएको छ, सोही सहमति अनुसार चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि नेपाल आउदैछ,,’ प्रवक्ता उपाध्यायले क्लिकमाण्डूसँग भने । सो टोली नेपालमा २ साता बस्ने कार्यक्रम तय भएको छ ।

रेलमार्गको अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च चीन सरकारले व्यहोर्ने छ । चिनियाँ प्रतिनिधिले केरुङ–काठमाडौं रेलमार्गलाई विश्वको जलिट भौगोलिक खण्ड मध्ये एक भएको छलफलको क्रममा जानकारी दिएको उनले बताए ।

हालका सभामुख एवम् तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले २०७४ सालको भदौ अन्तिम साता गरेको चीन भ्रमणका क्रममा नेपालमा रेलमार्ग विस्तारबारे सघन पहल गरिएको थियो । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र विदेशमन्त्री वाङ यीलगायतका नेतासँग रेलमार्ग निर्माणका बारेमा महराको छलफल भएको थियो ।

सो छलफललगत्तै चिनियाँ रेल प्रशासनका उच्च टोलीले केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनपछि नेपालमा रेलमार्ग निर्माण गर्न सकिने प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो ।

यस्तै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यही वैशाखको पहिलो साता गरेको चीन भ्रमणका क्रममा समेत रेलमार्ग निर्माण तथा विस्तारका बारेमा महत्वपूर्ण छलफल भएको थियो ।

सो प्रक्रियालाई मूर्त रुप दिन वैशाख १५ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको ७ सदस्यीय नेपाली टोली चीन गएको थियो । सो टोलीले एक साता चीनमा रेलमार्ग सम्बन्धी छलफल तथा अवलोकन भ्रमण गरेको थियो ।


क्लिकमान्डु