अब एचडी क्वालीटीमा प्रभु टिभी हेर्न पाइने, कति पर्छ मूल्य ?



काठमाडौं । अत्याधुनिक प्रविधिमा आधारित प्रभु टेलिभिजन सञ्चालनमा आउने भएको छ । काठमाडौं, चितवन र पोखरामा अहिले परिक्षण प्रसारण भइरहेको र आगामी २/३ हप्तामै व्यावसायिकरुपमा सञ्चालनमा आउने प्रभु टिभीका महाप्रबन्धक शंकर कालिकोटेले जानकारी दिए ।

‘अहिले हामी धमाधम परिक्षण प्रसारण गरिरहेका छौं,’ महाप्रबन्धक कालिकोटेले क्लिकमाण्डूसँग भने, ‘आगामी २/३ हप्ताभित्रै व्यावसायिकरुमा सेवा सुरु गर्छौं ।’

बैंकिङ, रेमिट्यान्स, इन्स्योरेन्सलगायतका सेवा क्षेत्रमा स्थापित व्यावसायिक घराना प्रभु समूहको लगानीमा प्रभु टिभी सञ्चालनमा आउन लागेको हो ।

केबल, एन्टेना तथा छाता बिना नै डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) प्रविधिमा आधारित प्रभु टिभी संचालनमा हुने छ ।

डाइरेक्क टु होम (डीटीएच) प्रविधिको डिस होम सञ्चालन गरिरहेको प्रभु समूहले नेपालमै पहिलोपटक डीटीटी भित्र्याएको हो । यो टिभीमा अहिलेसम्म नेपालमा नभएको क्वालिटी हुने कालिकोटेले जानकारी दिए ।

पहिलो चरणमा काठमाडौं, पोखरा र चितवनमा सेवा शुरु गर्ने र त्यसपछि धरान र इटहरी, बिराटनगर, बीरगञ्ज, नेपालगञ्जमा शुरु गर्ने अनि देशभर नै सेवा विस्तार गर्दै जाने योजना रहेको उनले सुनाए ।

प्रतिस्पर्धी मूल्यमै गुणस्तरीय सेवा

प्रभु टिभी अन्य टिभीहरुभन्दा महंगो नहुने प्रभु टिभीका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए ।

‘हामी प्रतिस्पर्धी मूल्यमै उच्च क्वालिटीको सेवा दिन्छौं,’ भट्टचनले भने ।

प्रभु टिभीको सेवा लिनका लागि शुरुवातमा एन्टेना, सेटटप बक्स खरिदलगायतका लागि करिब २२ सय रुपैयाँ शुल्क लाग्ने र मासिकरुपमा ४ सय रुपैयाँमा नबढ्ने गरि सेवा शुल्क तोकिने छ ।

टिभी हेर्दा सफा दृष्य आउने र उत्कृष्ट ध्वनी आउने उनको दाबी छ । यो टिभी सञ्चालन गर्नका लागि तार तथा छाता आवश्यक पर्दैन ।

फ्रिक्वेन्सीमार्फत च्यानलहरु प्रसारण हुनेछन् । जसकारण यो टेलिभिजन जडान गरेपछि वर्षातका कारण सिग्नल नआउने, तार छिन्ने लगायतका अवरोधहरु नहुने कम्पनीले जनाएको छ ।

राउटर जत्रो एन्टेना भएकाले घर तथा कोठा सर्दा समेत यसलाई सजिलैसँग लैजान सकिन्ने छ ।

६० वटा च्यानल अधिकांस एचडी

प्रभु टिभी सर्भिस प्रोभाइडर हो । यसले करिब ६० वटा च्यानलको सेवा उपभोक्तासम्म पुर्याउँछ । जसमध्ये ३५÷४० वटा च्यानलहरु एचडी हुनेछन् ।

२०७३ मंसिरमा महाकाली डिजिटल नेटवर्क प्रालिको लाइसेन्स किनेर प्रभु समूहले प्रभु टेलिभिजनको सेवा नाममा संचालन गर्न लागेको हो ।

यसरी हुन्छ सञ्चालन

डिटिवी प्रणालीमा कम्पनीले सामान्य एन्टेनाको माध्यमबाट टेरिस्टोलियल सेवा संचालन गर्नेछ । यस्तो एन्टेनामा सेट टप बक्स जोडिएको हुन्छ । र, यस्तो प्रशारण भूसतही गर्नेछ । यसको लागि कम्पनीले तोकिएको स्थानमा रिपिटर टावर राख्नेछ । र, सोहि रिपिटर टावरबाट भूसतही सिग्नल एन्टेनामा पठाईन्छ ।

सो एन्टेनामा रहेको सेट टप बक्समार्फत सेवाग्राहीले टिभी हेर्न सक्नेछन् । यसका कन्टेन्टहरु भने सबै डिजिटल प्रविधिमा हुनेछन् ।

यो टिभी साढे ५ सयदेखि साढे ६ सय मेगाहर्जमा प्रशारण हुनेछ । संचार मन्त्रालयबाट अनुमति लिएको १८ महिनामा सेवा शुरु गरिसक्नुपर्ने प्रावधान छ । बैशाख अन्तिममा यो टिभीले लाइसेन्स पाएको १८ महिना पूरा हुनेछ ।

टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होम तथा केबल सेवा प्रदायक कम्पनी सिम टिभीमा पनि प्रभु समूहको लगानी रहेको छ ।


पुष्प दुलाल