गाडी बेचेको र होटलमा तिरेको बिल सोझै कर कार्यालयलमा रेकर्ड हुने




काठमाडौं । गाडी विक्रेता र होटलहरुले काट्ने विलको विवरण अबदेखि कर कार्यालयहरुमा रेकर्ड हुने भएको छ । आन्तरिक राजस्व विभागले ‘रियल टाइम’ विल रेकर्डको प्रणाली विकास गरेर जेठ १५ गते देखि गाडी विक्रेता र होटलहरुलाई यस्तो प्रणालीमा अनिवार्य आवद्ध गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा ठूला करदाता कार्यालय अन्तरगतका गाडी विक्रेता र होटलहरुमा यस्तो ब्यवस्था लागू गरिने विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले जानकारी दिए । यस्तो ब्यवस्था कम्प्युटरकृत विल जारी गर्ने करदाताहरुको हकमा लागू हुनेछ ।

‘विद्युतीय विजक सम्बन्धी निर्देशिका २०७४ ले गरेको ब्यवस्था अनुसार पहिलो चरणमा ठूला करदाता कार्यालयमा दर्ता भएका अटोमोवाइलको कारोबार गर्ने र होटलहरुमा यस्तो ब्यवस्था अनिवार्य गर्न लागेका हौं, मंसिरदेखि सुरु भएको यस्तो ब्यवस्थामा यसअघि नै ६ वटा करदाता आवद्ध भइसकेका छन्,’ प्रवक्ता ढुंगेलले क्लिकमाण्डूसँग भने ।

यसको लागि विभागले चैत १५ गतेसम्म सफ्टवयर निर्माता र वितरक कम्पनीलाई विभागबाट सो सफ्टवयर सुचिकृत र नविकरण गर्ने समय तोकेको थियो । विभागले स्वीकृति दिएका सफ्टवयर जडान गर्नको लागि करदाताहरुलाई जेठ १५ गतेसम्मको समय दिइएको हो ।

नयाँ सफ्टवयरलाई भने विभागले जुन समयमा पनि आवश्यक जाँच पड्तालपछि स्वीकृति दिने गरेको छ ।

‘करदाताले विलै जारी गरेन भन्ने गुनासो थियो, रियल टाइम विलिङ रेकर्ड प्रणाली लागू भएपछि विल जारी नगरे पनि अटोमेटिक रुपमा विलको रेकर्ड हुने भएकोले यो समस्या समाधान हुन्छ,’ उनले भने ।

करदाताहरुले विल विजक जारी नगर्ने र कर छली गर्ने भन्ने गुनासो कम गर्न विभागले ‘रियल टाइम विलिङ रेकर्ड’ राख्ने प्रणाली सुरु गरेको हो । यो प्रणालीको प्रयोगपछि करदाताले कम्प्युटरकृत विल विजक जारी गर्ने वित्तिकै विभागको डेटा सेन्टरमा यसका सबै तथ्यांक रेकर्ड हुनेछन् ।

धेरै करदाताको विवरण सुरक्षित राख्न अहिलेको प्रणालीले नसक्ने भन्दै विभागले नयाँ सफ्टवयर र हार्डवयर खरिदको प्रक्रिया पनि अगाडि बढाएको छ ।

‘अहिले विभागको आफ्नै सुचना प्रविधि शाखाले निर्माण गरेको सफ्टवयर प्रयोग गरेर करदातालाई सुविधा दिइरहेका छौं, अब रियल टाइम विलिङ रेकर्ड राख्नको लागि अहिलेको सफ्टवयर र हार्डवयरले नधान्ने देखिएकोले क्षमता बृद्धिको लागि प्रक्रिया पनि अगाडि बढाएका हौं,’ प्रवक्ता ढुंगेलले भने ।

विभागले पहिलो चरणमा ठूला करदाता कार्यालयमा दर्ता भएका अटोमोबाइल्स र होटललाई यो प्रणालीमा आवद्ध गर्ने निर्णय गरेको भएपनि यसलाई ब्यापक बनाएर सबै क्षेत्रमा लागू गर्ने तयारी गरिएको विभागको भनाइ छ ।

‘अरु कुन कुन क्षेत्रका करदातालाई यसमा आवद्ध गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौं, हाम्रो सफ्टवयर र हार्डवयरको क्षमता बृद्धि र नयाँ क्षेत्रका करदातामा पनि यस्तो ब्यवस्था लागू गर्ने कार्य समानान्तर रुपमा अगाडि बढ्छ,’ विभागका उपमहानिर्देशक समेत रहेका ढुंगेलले भने ।

रियल टाइम बिलिङ रेकर्ड प्रणालीको पूर्ण कार्यान्वयनपछि करदाताले क्रेतालाई विल विजक जारी नगरेपनि कर विवरणमा कुनै फरक नपर्ने उनको भनाइ छ ।

‘करदाताले विलै जारी गरेन भन्ने गुनासो थियो, रियल टाइम विलिङ रेकर्ड प्रणाली लागू भएपछि विल जारी नगरे पनि अटोमेटिक रुपमा विलको रेकर्ड हुने भएकोले यो समस्या समाधान हुन्छ,’ उनले भने ।


क्लिकमान्डु