सुन ब्यापारीले बेच्ने ९५ प्रतिशत सुन अबैध !




काठमाडौं । अहिले बजार साढे ३३ किलो सुन प्रकरणले तात्तिएको छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारीहरु समेत मुछिएको अनुसन्धानले देखाएपछि प्रहरीका शंकास्पद उच्च अधिकारीहरु धमाधम पक्राउ परिरहेका छन् ।

यही बेला अर्काे एउटा तथ्य पनि उजागर भएको छ । सुन ब्यापारीहरुले किनेकोमध्ये ५ प्रतिशत मात्रै बैध सुन किनेको महालेखा परीक्षकको कार्यालयले नयाँ तथ्य सार्बजनिक गरेको छ ।

अहिले नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै बैधानिक रुपमा सुन किनेर नेपाल ल्याउन पाउँछन् । तर, सुन ब्यापारीहरुले बर्सेनि ठूलो परिमाणमा सुन किन्ने गरेको र त्यसमा बैंक तथा वित्तीय संस्थाबाट किनेको सुनको परिमाण ज्यादै कम हुने गरेको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.२ का सुन व्यवसाय गर्ने ५ करदाताले रु.१ अर्ब ३९ करोड २७ लाखको सुन खरिद गरेकोमा रु.२१ करोड ९६ लाख अर्थात १५.७६ प्रतिशत बैंकिङ प्रणालीबाट खरिद गरेका छन् । त्यस्तै ठूला करदाता कार्यालय अन्तर्गतका २ करदाताले आयवर्ष २०७१/७२ र २०७२/७३ मा खरिद गरेको रु.१ अर्ब २९ करोड ४३ लाखको सुनमध्ये रु.६ करोड ६५ लाखको मात्र बैङ्कमार्फत खरिद गरेका छन् । बैंकिङ प्रणालीमार्फत ५.१४ प्रतिशत मात्र खरिद भएको देखिन्छ,’ महालेखाको ५५ औं बार्षिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

अहिले नेपालमा सुन तथा चाँदीको नियमन गर्ने जिम्मेवारी कुनै पनि निकायलाई तोकिएको छैन । यस्तो अबस्थामा व्यक्तिले खरिद गरेको सुनको प्राप्तिको स्रोत सम्बन्धमा नियमन नहुँदा भन्सार राजस्व समेत प्राप्त नभएको महालेखाको भनाइ छ ।

राजस्व प्रशासन गर्ने कर परीक्षणमा सुन खरिद सम्बन्धमा कुनै ब्यहोरा उल्लेख नगरेको महालेखाको भनाइ छ । कर प्रशासनको यही कमजोरीका कारण सुन तस्करी मौलाएको महालेखाको आरोप छ ।

‘आन्तरिक राजस्व कार्यालयबाट कर परीक्षण हुँदा खरिद सम्बन्धमा कुनै व्यहोरा उल्लेख भएको छैन, यस प्रकारको बिक्रीबाट सुनको बिक्री वितरणले सुन तस्करीको घटना वृद्धि भएको र गरगहनाको बिक्री वितरणमा ज्यालाजर्ती आय नदेखाएको स्थितिले खरिदको वैधता र राजस्वमा परेको प्रभाव सम्बन्धमा सबै करदाताको कारोबारउ पर छानबिन गर्नुपर्दछ,’ महालेखाले भनेको छ ।

साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्द निरौला पक्राउ परेका छन् । निरौला गत २९ चैतमा अवकाश पाएका प्रहरी अधिकृत हुन् ।

यस्तै मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल पनि सोही प्रकरणमा पक्राउ परिसकेका छन् । खनालसँगै, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो । सुन बोक्ने भरिया भनिएका सनम शाक्यलाई टर्चर दिएर हत्या गरेको आरोप उनीहरुमाथि छ ।

साढे ३३ किलो सुन प्रकरणमै संलग्न भनिएका इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी नायब उपरीक्ष (डीएसपी) सञ्जय राउत फरार छन् ।

यस्तै सुन गायब प्रकरणमा हत्या गरिएका भनिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डीएसपी प्रजित केसी पनि पक्राउ परेका छन् ।

नेपालमा हुने सुन तस्करीको मुख्य योजनाकारका मानिदै आएका गोरे भनिने चुडामणि उप्रेतीलाई हालसम्म प्रहरी पक्राउ गर्न सकेको छैन । उनी विदेशमा लुकेर बसेको आशंकामा प्रहरीले अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी गरेको छ । इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले उप्रेतीको खोजी गर्नेछन् ।


क्लिकमान्डु