२६ बाणिज्य बैंकको भित्री कथाः ‘ऋण दिने पैसा नभएका’ बैंकहरुले कसरी बढाए नाफा ?




काठमाडौं । यो बर्ष कसैले ऋण माग्न आए दिने पैसा छैन भनेर बैंकहरु तर्किरहेका छन् । बैंकहरुले सर्बसाधारणले निक्षेपको रुपमा राखेको पैसा ऋण लगानी गरेर नाफा कमाउने हो । ऋण दिने पैसा नभएपछि बैंकहरुको नाफा कम हुनुपर्ने स्वभाविक अनुमान गर्न सकिन्छ ।

तर, बैंकहरुले चालु आर्थिक बर्षको ९ महिना (चैत मसान्त) सम्मको कारोबारको आधारमा प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणले उनीहरुको नाफा बढेको देखाउँछ ।

बैंकहरुले अघिल्ला बर्षहरुमा दिएको ऋण ऋणीले नतिरेको र यो समयमा तिर्यो भने पनि उनीहरुको नाफा बढेको देखिन्छ । किनभने तालिका अनुसार ऋणीले ऋण तिरेन भने बैंकहरुले त्यस्तो ऋणमा सम्भावित कर्जा नोक्सानी ब्यवस्था (प्रोभिजनिङ) गरेका हुन्छन् । त्यस्तो ऋण तिरिएपछि प्रोभिजनिङ गरिएको रकम नाफामा देखाउन (राइटब्याक) पाइन्छ ।

चैत मसान्तसम्मको बैंकहरुको अपरिस्कृत वित्तीय विवरणले राइटब्याकका कारण केही बैंकहरुको नाफा बढेको देखाए पनि बहुसंख्यकको हकमा यो कुरा लागू भएको छैन ।

बैंकहरुले दिएको ऋण ऋणीले तिर्न सकेन भने उसले राखेको धितो बैंकले जफत गर्छ । ऋण लिन यसरी राखिने अधिकांश धितो घर जग्गा नै हुने गरेको छ । यसरी बैंकले जफत गरेको सम्पत्तिलाई गैर बैंकिङ सम्पत्ति (एनविए) भनिन्छ । केही बैंकले एनविए विक्री गरेर नाफा बढाएका भएपनि अधिकांशकको हकमा यो कुरा पनि लागू भएको छैन ।

त्यसो भए कसरी बढाए त बैंकहरुले नाफा ? यो प्रश्न स्वभाविक रुपमा उठ्छ । यो प्रश्नको जवाफ खोज्न बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणका सबै सुचक राम्ररी अध्ययन गर्नुपर्ने हुन्छ ।

यो बर्ष बैंकहरुले नाफा बढाउन सजिलो बाटो खोजेका छन् । त्यो सजिलो बाटो भनेकै कसैले निक्षेप राख्न आयो भने कम ब्याज दिने र बैंकले दिएको ऋणमा बढी ब्याज लिने हो । बैंकले निक्षेपमा दिने ब्याज र ऋण दिदा लिने ब्याज अन्तर (स्प्रेड) बढाएरै नाफा बढाएका उनीहरुकै वित्तीय विवरणले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले यस्तो ब्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन हुदैन भनेको छ । तर, केही बैंकले यस्तो अन्तर ५ प्रतिशतभन्दा बढी लिइरहेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसविआइ र कृषि विकास बैंकले ५ प्रतिशतभन्दा बढी ब्याज अन्तर लिइरहेका छन् ।

चैत मसान्तमा राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्प्रेड ४.९५ प्रतिशत भएको वित्तीय विवरण सार्बजनिक गर्यो । गत पुसमा सार्बजनिक गरिएको वित्तीय विवरणमा उसको स्प्रेड ४.१२ प्रतिशत थियो ।

नेपाल बंगलादेश (एनबी) बैंकले पनि स्प्रेड बढाएको छ । गत पुसमा ३.४६ प्रतिशत रहेको एनबीको स्प्रेड चैत मसान्तमा ३.५९ प्रतिशत छ । गत पुस मसान्तमा ४.१० रहेको प्रभु बैंकको स्प्रेड चैत मसान्तमा बढेर ४.४१ प्रतिशत पुगेको छ ।

चैत मसान्तमा कुमारी बैंकको स्प्रेड ३.२० प्रतिशत छ । पुस मसान्तमा कुमारीको स्प्रेड २.८० प्रतिशत थियो । नविल बैंकले गत पुसको ४.०६ प्रतिशतको स्प्रेड बढाएर चैत मसान्तमा ४.२६ प्रतिशत पुर्याएको छ ।

माछापुच्छ्रे बैंकले गत पुसमा २.९९ प्रतिशत रहेको स्प्रेड चैत मसान्तमा बढाएर ४.२३ पुर्याएको छ । बैंक अफ काठमाडौंको गत पुसमा ३.८४ रहेको स्प्रेड चैत मसान्तमा बढेर ४. ०४ प्रतिशत पुगेको छ ।

गत पुसमा ३.८५ प्रतिशत रहेको जनता बैंकको स्प्रेड चैत मसान्तमा बढेर ४.२५ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले गत पुसमा ४.०५ प्रतिशत रहेको स्प्रेड बढाएर चैत मसान्तमा ४.२८ पुर्याएको छ ।

लक्ष्मी बैंकको स्प्रेड गत पुस मसान्तमा ३.४९ प्रतिशत थियो भने चैत मसान्तमा बढेर ३.६१ प्रतिशत पुगेको छ । गत पुस मसान्तमा ४.५१ प्रतिशत रहेको हिमालयनको स्प्रेड बढेर चैत मसान्तमा ४.५५ प्रतिशत पुगेको छ ।

सेन्चुरी कमर्सियल बैंकको गत पुस मसान्तमा ३.७३ प्रतिशत रहेको स्प्रेड गत चैत मसान्तमा बढेर ४.१३ प्रतिशत पुगेको छ । गत पुसमा ४.७८ प्रतिशत रहेको स्प्रेड नेपाल एसविआइले बढाएर चैत मसान्तमा ५.२४ प्रतिशत पुर्याएको छ ।

गत पुस मसान्तमा ३.४९ प्रतिशत रहेको आफ्नो स्प्रेड बढाएर प्राइम कमर्शियल बैंकले चैत मसान्तमा ४.२८ प्रतिशत पुर्याएको छ । गत पुसमा ४.९८ रहेको नेपाल बैंकको स्प्रेड गत चैतमा बढेर ४.९९ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलको गत पुस मसान्तमा ३.२३ प्रतिशत रहेको स्प्रेड बढेर चैत मसान्तमा ३.७४ प्रतिशत पुगेको छ । गत पुसमा ४.२७ रहेको एनआइसी एशिया बैंकको स्प्रेड बढेर गत चैत मसान्तमा ४.७७ प्रतिशत पुगेको छ ।

यसबीचमा केही बैंकले आफ्नो स्प्रेड घटाएका पनि छन् ।

गत पुस मसान्तमा ३.८० प्रतिशत रहेको सिद्धार्थ बैंकको स्प्रेड गत चैत मसान्तमा घटेर ३.६८ प्रतिशत भएको छ । गत पुस मसान्तमा ४.९६ प्रतिशत रहेको एभरेष्ट बैंकको स्प्रेड पनि चैत मसान्तमा घटेर ४.७५ प्रतिशत भएको छ ।

गत पुस मसान्तमा ४.१८ प्रतिशत रहेको सानिमा बैंकको स्प्रेड घटेर गत चैतमा ४.०५ प्रतिशत भएको छ भने ग्लोबल आइएमबीको गत पुस मसान्तमा ४.१२ प्रतिशत रहेको स्प्रेड घटेर चैत मसान्तमा २.८९ प्रतिशत भएको छ ।

गत पुस मसान्तमा ३.०२ प्रतिशत रहेको सिभिल बैंको स्प्रेड घटेर गत चैत मसान्तमा २.४१ प्रतिशत भएको छ । गत पुस मसान्तमा ५.८३ प्रतिशत रहेको कृषि विकास बैंकको स्प्रेड घटेर चैत मसान्तमा ५.६१ प्रतिशत भएको छ । कृषि विकास बैंकको यो स्प्रेड अझै पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी हो ।

एनएमबी बैंकले पनि स्प्रेड घटाएको छ । गत पुसमा ३.७० प्रतिशत रहेको एनएमबीको स्प्रेड घटेर गत चैतमा ३.१६ प्रतिशत भएको छ । गत पुस मसान्तमा ६.६० प्रतिशत रहेको स्टयण्डर्ड चार्टर्डको स्प्रेड घटेर गत चैतमा ५.२३ प्रतिशत भएको छ । राष्ट्र बैंकले तोकेको सीमा अनुसार ५ प्रतिशतभन्दा बढी स्प्रेड हुनुहुदैन ।


क्लिकमान्डु