छुट्यो कलकत्तादेखि जोगवनीसम्मको रेल कन्टेनर, नेपालमा सामान ल्याउन छिटो र सस्तो




काठमाडौं । भारतबाट नेपाल आउने बस्तु जोगवनी नाकासम्म पनि कन्टेनरमा आउन थालेका छन् । नेपाल र भारतको संयुक्त प्रयासमा आज ( बैशाख १२ गते) देखि कन्टेनरमा सामान आउन थालेका हुन् ।

यसअघि कलकत्ताबाट आएका सामान बीरगन्ज सुख्खा बन्दरगाहसम्म मात्रै कन्टेनरमा आउथे । अन्य भन्सार नाकाहरुमा ट्रकबाट नै सामान ल्याउनु पथ्र्यो ।

यसरी ट्रकबाट सामान ढुवानी गर्दा समय र खर्च बढी लाग्ने गरेको नेपाली ब्यवसायीले गुनासो गर्दै आएका थिए । अबदेखि कलकत्ता आएका नेपाली समान रेल कन्टेनरबाटै जोगवनीसम्म आउन थालेका हुन् ।

पहिलो चरणमा पाइलटिङका रुपमा ट्रक कन्टेनरमा सामान ल्याउन लागिएको बाणिज्य मन्त्रालयका सहसचिब रविशंकर शैजुले जानकारी दिए ।

‘हामीले पाइलटिङका रुपमा पहिलो चरणमा ३ महिनाको लागि यो सेवा सुरु गरेका हौं, त्यसपछि नेपाल र भारत सरकारबीच थप सम्झौता भएर यसलाई नियमित गरिन्छ,’ शैजुले क्लिकमाण्डूसँग भने ।

कलकत्तादेखि जोगवनीसम्म रेल कन्टेनर ल्याउने विषयमा नेपालको बाणिज्य मन्त्रालयका सहसचिब शैजु र भारतको वित्त मन्त्रालयका सहसचिबले गत मे महिनामा सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौतामा पहिलो ३ महिना पाइलटिङका रुपमा सेवा संचालन गर्ने र त्यसपछि दुबै देशका सरकारले सम्झौता गरी नियमित सेवा सुरु गर्ने सहमति भएको शैजुले जानकारी दिए ।

नेपाल र भारतले गरेको सहमति अनुसार पाइलटिङको रुपमा सुरु भएको सेवा ३ महिनाको लागि भएपनि त्यसमा अरु ३ महिना थप्न सकिने ब्यवस्था छ ।

अहिले कलकत्ताबाट जोगवनीको लागि छुटेको रेल कन्टेनरमा इलोक्ट्रोनिक ट्रयाकिङ सिस्टम राखिएको छ । सो सिस्टमले सामान बोकेको कन्टेनर अहिले कहाँ पुग्यो, कति स्पीडमा हिडिरहेको छ, कहाँ रोकियो भन्ने जस्ता जानकारी समेत रियल टाइममा हेर्न सकिने शैजुले बताए ।

कलकत्ताबाट जागवनीसम्म कन्टेनरमा पहिलो पटक एटलास डे कार्गाेले सामान ल्याएको हो । आज कलकत्ताबाट छुटेको रेलमा ५८ कन्टेनर सामान ल्याएको एटलास डे कार्गाेका अजय गुप्ताले जानकारी दिए ।

‘आज कलकत्ताबाट छुटेको कन्टेनरमा मैले ५८ कन्टेनर सामान विराटनगरको लागि ल्याएको छु, पहिलो पटक आएका बस्तुहरुमा बढी पेप्सीकोलाले ल्याएको चिनी छ,’ गुप्ताले क्लिकमाण्डूसँग भने ।

कन्टेनरबाट सामान ल्याउँदा ढुवानी खर्च कम्तिमा पनि २० प्रतिशत कम हुने गुप्ताले बताए । यसअघि विराटनगरको लागि ल्याइएका सामान पनि बीरगन्ज भएर लैजानु पर्ने बाध्यता थियो ।


क्लिकमान्डु