पंखा, हिटर र पानी तान्ने पम्प चलाउन सिकाउँदै सरकार



काठमाडौं ।  तपाईले आफ्नो घर तथा आवासमा प्रयोग गर्नु भएको पंखा, बल्ब, पानी तान्ने पम्प, हिटरलगायतका विद्युतीय सामग्री प्रयोग गर्नुभएको छ ।

ती सामग्री कुन समयमा कसरी सञ्चालन गर्ने भन्ने बारेमा जानकारी लिनु भएको छ वा राख्नु भएको छ ? यदि छैन भने अब तपाईले ती र त्यस्ता विषयमा अध्ययन गर्न पाउनुहुने भएको छ ।

सरकारले ऊर्जा दक्षता कार्यक्रमलाई पाठ्यक्रममा नै समावेश गरेर अध्ययन अध्यापन गराउने भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पुल्चोक इन्जिनियरिङ क्याम्पसअन्तर्गतको इन्जिनियरिङ परिषद र व्यावसायिक शिक्षा तथा प्राविधिक शिक्षालयसँगको सहकार्यमा पाठ्यक्रममा नै ऊर्जा दक्षता कार्यक्रम समावेश गर्ने भएको हो ।

मन्त्रालयले ऊर्जा दक्षता कार्यक्रम सञ्चालनमा लागि आवश्यक तयारी गरेको छ ।
मन्त्रालयले जर्मन सहयोग नियोगको सहयोेगमा सो कार्यक्रम अगाडि बढाउन लागेको हो ।

विद्युतीय उपकरणमार्फत कम विद्युतबाट उत्पादन तथा अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने गरी उपभोगको दायरा फराकिलो बनाउन ऊर्जा दक्षता कार्यक्रमलाई पाठ्यक्रममा नै समावेश गर्न लागिएको हो ।

विद्युत् उत्पादन तथा विस्तार गरेर मात्रै नहुने र त्यसमा प्रयोगको विशेष सिप र ज्ञान समेत जरुरी पर्ने भएकाले अध्ययन अध्यापनको विषय नै बनाुपर्ने निष्कर्षमा सरकार पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणले देशव्यापी रुपमा विद्युत् चोरी तथा चुहावट नियन्त्रणको कार्यक्रम अगाडि बढाइरहेको सन्दर्भमा पछिल्ला दिनमा कम विद्युत् खपत गर्ने उपकरणको विषयमा समेत सचेतना जगाउन थालेको छ ।

ऊर्जा दक्षता कार्यक्रम सामान्य रुपमा सञ्चालन गर्दा मात्रै प्राधिकरणले विद्युत् मागलाई १ हजार २५० मेगावाटमा सिमित गर्न सकेको छ ।

व्यवहारिक रुपमा नै अध्ययन तथा अध्यापन गराउन थालिएपछि त्यसमा थप सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

विश्वभर विद्युत उत्पादनसँगै प्रभावकारी खपत तथा उपभोगको विस्तारमा सरकारी तथा गैरसरकारी निकायले विशेष जोड दिएको छ ।

पछिल्ला दिनमा चीन, भारत, अमेरिका, युरोपका विभिन्न मुलुकमा समेत ऊर्जा दक्षता कार्यक्रम सञ्चालन गरिएको छ ।

बल्ब, पानी तान्ने मोटर, फ्रिज, हिटर, पंखा लगायत विद्युतीय उपकरण प्रयोगको ज्ञान तथा सिपका बारेमा अध्ययन गराइन्छ ।

पुराना उपकरणको सट्टामा नयाँ कम विद्युत् खपत गर्ने ऊर्जा दक्षता कार्यक्रमलाई नै अध्ययनको विषय बनाउन लागिएको हो ।

विद्युत प्रयोग गर्न चाहने वा गरिरहेका व्यक्तिगत आवास, उद्योग प्रतिष्ठानले समेत विद्युत् प्रयोगका सम्बन्धमा सामान्य जानकारी समेत नराख्दा दुर्घटना पर्ने, विजुलीको बढी बिल उठ्ने तथा अन्य प्रभाव पनि पर्ने भएकाले शैक्षिक ज्ञान दिन लागिएको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले ऊर्जा दक्षता कार्यक्रम एउटा व्यवहारिक सिकाई भएकाले यसबाट महत्वपूर्ण कला वा जीवनशैलीका बारेमा समेत जानकारी पाइने बताएका छन् ।

विद्युत्को उपभोग बढाउने र कम ऊर्जा प्रयोगबाट पनि धेरै र महत्वपूर्ण काम गर्ने, अध्यारोमा उज्यालो बनाउन सकिने भएकाले ऊर्जा दक्षता कार्यक्रमबाट दीर्घकालीन रुपमा फाइदा पुग्न सक्क्छ ।

प्राधिकरणले ऊर्जा दक्षता कार्यक्रमका रुपमा एलइइडी ल्याउने योजना बनाएको थियो । तर विवादमा फसेपछि सो निर्णयबाट फिर्ता भएर उसले उपभोक्तालाई नै गुणस्तरीय एलइइडी बल्ब प्रयो गर्न आग्रह गर्दै अआएको छ ।

त्यस्तै अत्याधुनिक एलइडी बल्ब, मोटर तथा सिँचाइमा प्रयोग हुने विद्युतीय उपकरण खरिद गर्ने प्रक्रिया समेत सुरु गरेको छ ।

दिगो ऊर्जा उपयोगको वातावरण बनाएर ऊर्जा प्रयोगको मात्रा बढाउने लक्ष्यका साथ त्यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु